• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सावित्री हत्याकाण्ड : २२ लाख रुपैयाँ प्रकरणमा ज्वाइँ सोनाम पनि शंकास्पद !

राजेश भण्डारी

राजेश भण्डारी

भक्तपुर । भक्तपुरको चाँगुनारायणमा भएको सावित्री भट्टराई हत्याकाण्डमा अहिलेसम्म नसुल्झिएको गुत्थी हो– २२ लाख रुपैयाँ ।

चाँगुनारायणको बाँसबारीमा भएको हत्याकाण्डकाबारे महानगरीय प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ, प्रमाण जुटाइरहेको छ । तर, ६० बर्षिया सावित्री हत्याकाण्डसँग २२ लाख रुपैयाँको के साइनो छ भन्ने अझै रहस्यकै गर्भमा छ । 

असार १५ मा हत्या हुनासाथ घटनास्थलमा पुगेका छिमेकी र आफन्तले हत्याराहरुले २२ लाख रुपैयाँ लुटेर भागेको बताएका थिए । छिमेकी र आफन्तलाई के थाहा थियो भने, –‘सावित्रीले छोरीको लागि जग्गा बैना गरेकी थिइन् ।’

आमाको हत्या भएको केही मिनेटमा घरमा पुगेकी कान्छी छोरी (अभियुक्त) ईश्वरीले ‘घरमा २२ लाख रुपैयाँ थियो’ भनेको सुनेपछि आफन्त र छिमेकीहरुले हत्याराले २२ लाख रुपैयाँकै लागि हत्या गरेको ठहरमा पुगे । तर, छोरी ईश्वरी पक्राउ परेपछि घटनाले दुर्दान्त मोड लियो । 

त्यहाँ (घटनास्थल) २२ लाख थियो कि थिएन भन्नेमा प्रहरीको अनुसन्धान घुमिरहेको छ । छोरी ईश्वरीले आफ्ना प्रेमी मोहम्मद नौसादलाई प्रयोग गरेर हत्या गरेको दावी प्रहरीले सार्वजनिक रुपमै गरिसकेको छ । तर, ‘२२ लाखको पोको’ कहाँ गयो भन्नेबारे अझै खुल्न सकेको छैन् । 

सोनाम शंकाको घेरामा

सावित्रीको हत्या हुनु डेढ महिनाअघि देखि नै २२ लाख रुपैयाँ दराजको मााथिल्लो भागमा राखिएको हत्या लगत्तै ईश्वरीले छिमेकी र आफन्तहरुसँग बताएकी थिइन् । प्रहरीले यो कुरा ‘नोट’ गरेको छ । ईश्वरीकी पति सोनाम थापाले पनि २२ लाख रुपैयाँ भएको दाबी गर्दै आएका छन् । 

प्रहरीले ‘२२ लाख रुपैयाँ’ प्रकरणमा चाहिँ शंकाको घेरामा राखेको स्रोतले बतायो । शंकाको मुख्य कारण हो– सोनामले पहिले नै २२ लाख रुपैयाँ भएको बताएनन् । ईश्वरीले २२ लाख छ भनेपछि मात्र २२ लाख रुपैयाँबारे सोनाम बोल्न थालेको तथ्यलाई प्रहरीले गम्भीरतासाथ लिएको बुझिन्छ ।

‘हत्याका मतियार अभियुक्त ईश्वरीले २२ लाख रुपैयाँ थियो भनेपछि मात्र सोनामले श्रीमतीको स्वरमा स्वर मिलाउन थालेका हुन्’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले सनराइज खबरलाई बताए, ‘डेढ महिनादेखि नै घरमा पैसा थियो भनिएको छ, त्यति लामो समयसम्म घरमा कसैले पनि पैसा राख्दैनन्, २२ लाखको विषय अलि शंकास्पद नै छ ।’ 

शंकाको अर्काे कारण के हो भने हत्याको केही दिन पहिले सोनमले छिमेकी तारा ढकालसँग तीन लाख रुपैयाँ सापटी लिएका थिए । उनै तारासँग सावित्रीले पनि दुई लाख रुपैयाँ सापटी लिएकी थिइन् । २२ लाख रुपैयाँ हुँदाहुँदै सोनम र सावित्रीले किन ऋण लिए ? प्रहरीले यो रहस्यको गुत्थी सुल्झाउन प्रयास गरिरहेको छ ।

हत्या भएको असार १५ मा प्रहरीले खानतलासी गर्दा दराजको भित्री घर्रामा एक लाख पचास हजार रुपैयाँ मात्र फेला परेको थियो । दराजको साँचो सावित्रीको कम्मरमा बाँधिएको थियो । 

नौसादले अस्विकारेपछि..

सावित्री हत्याकाण्डमा ज्वाइँ सोनाम पीडित भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । अर्थात्, उनी हत्याकाण्डमा संलग्न छैनन्, निर्दोष छन् भन्ने प्रहरीको अहिलेसम्मको अनुसन्धानको निष्कर्ष रहेको एक प्रहरी अधिकृतले बताए ।

तर, २२ लाख रुपैयाँ प्रकरणमा भने उनलाई प्रहरीले शंकाको घेरामा राखेको बुझिन्छ ।

सावित्री हत्याका मुख्य अभियुक्त सप्तरीका मोहम्मद नौसादले घटनास्थलबाट २२ लाख रुपैयाँ लुटेको अस्वीकार गरेका छन् । घटना भएको साँझ धादिङको गजुरीबाट पक्राउ परेका नौसादको साथबाट प्रहरीले ६ सय रुपैयाँ मात्र फेला पारेको थियो । 

मकवानपुरको हेटौंडाबाट पक्राउ परेका अन्य दुई अभियुक्तको साथमा पनि सामान्य पकेट खर्च मात्र फेला परेको प्रहरीले जनाएको छ । अर्थात्, उनीहरुले रकम लुटेको अहिलेसम्म तथ्यले पुष्टि गरेको छैन ।

नौसादको समूह सावित्रीको हत्यापछि सिधै भागेको हुनाले नौसादको कोठामा समेत रकम फेला नपरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । 

ज्वाइँ सोनाम थापा र अभियुक्त ईश्वरीले २२ लाख रुपैयाँको स्रोत खुलाउन सकेका छैनन् । ‘जाहेरवालाले २२ लाख रुपैयाँको स्रोत देखाउन सकेका छैनन्’ अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, ‘२२ लाख रुपैयाँको विषय चाहिँ एकदमै कन्ट्रोभर्सियल भएर गएको छ ।’ सोनामले विभिन्न मिडियामा दिएको अन्तर्वार्ता र त्यसमा २२ लाख रुपैयाँका बारेमा भनिएका कुरालाई प्रहरीले सुक्ष्म रुपमा केलाइरहेको बुझिन्छ ।

हत्यापछि भारत  हिँडेका अभियुक्तहरुको साथमा किन केही हजार रुपैयाँ समेत फेला परेन भन्नेबारे प्रहरी आफैं चकित परेको छ । 

हत्याबारे अनुसन्धान गरिहेका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) रेवतीरमण पोखरेलले घटनाको थप अनुसन्धान भइरहेको र प्रमाण जुटाउन प्रहरी लागेको बताए । रेवतीरमणले भने, ‘फरेन्सिक जाँच गर्ने देखि सुरुमा आएका कुरा र पछि खुलेका कुराहरुलाई तथ्यका रुपमा अदालतमा पेस गर्ने गरी अनुसन्धान भइरहेको छ ।’ 

अदालतले अभियुक्तहरुलाई आइतबार दोस्रोपटक १० दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको छ । 
 

प्रतिकृया दिनुहोस