‘चौकीदार बनाइदिन्छु’ भन्दै असुली, नख्खु जेलमा उजुरीकाे चाङ !
काठमाडौं । नेपालमा ठगी नहुने कुनै ठाउँ छैन । ठगी तथा अन्य कुनै अपराध गरेपछि त्यसकाे सजाय काट्ने ठाउँ हाे जेल अर्थात् कारागार ।
तर जेलमा समेत ठगी हुन्छ । कतिसम्म भने जेलभित्र बस्नेलाई जेल बाहिर बस्नेले पनि चुर्लम्म डुबाउने गरी ठग्छन् । यसाे भन्दा जाेकसैलाई अचम्म लाग्न सक्छ । तर यथार्थ यही हाे ।
नेपालका जेलभित्र लुटपाट गर्न, ठग्न र अत्याचार गर्न ‘लाइसेन्स’ दिइएको हुन्छ । त्यसरी ‘लाइसेन्स’ पाउने पद हो चौकीदार ।
चौकीदारलाई जेलभित्रको राजा भनिन्छ । उसलाई जे गर्न पनि छुट दिइएको हुन्छ । चौकीदारले जेलभित्र बसेर ठूलो रकम कमाउँछन् । बुद्ध गुरुङले पनि ठूलो रकम कमाए । तर, दुःखको कुरा, कैद भुक्तान गरेर उनी रिहा भए ।
जानकारहरू भन्छन्– अरू कैदीबन्दी रिहा हुँदा खुसी हुन्छन् । तर चौकीदार चाहिँ रिहा हुँदा दुखी हुन्छन् । चौकीदार बनेकाहरू रिहा हुन चाहँदैनन् । रिहा भए पनि जेलबाहिर बसेर जेलभित्र धन्दा चलाउन खोज्छन् ।
बुद्धको कथा
लमजुङका बुद्ध गुरुङ ११ वर्ष जेल बसेर तीन महिनाअघि नख्खु कारागारबाट रिहा भएका हुन् । तर, रिहा भएपछि पनि उनलाई जेल नै प्यारो लागिरहेको छ ।
जेलबाट छुटेको तीन महिना पनि पूरा हुन नपाउँदै दैनिक कारागार धाउन थालेपछि नख्खु कारागार प्रशासनले उनीमाथि निगरानी बढाएको छ ।
बुद्ध २०६५ सालमा लागुऔषध मुद्दामा जेल परेका थिए । ११ वर्षे जेल जीवनमा वीरगन्ज, डिल्लीबजार हुँदै नख्खु कारागार आइपुगे । नख्खु कारागारमा तीन वटा ब्लक छन्, जसमध्ये एउटा ब्कललाई डिआरसी भनिन्छ, त्यही डिआरसीमा बस्न थाले । नख्खुमा बुद्धले ‘आउटडोर’ सुविधा पाए ।
जेलभित्र हालिमुहाली गर्ने कैदीहरू बहाना बनाएर सादा पोसाकका सुरक्षाकर्मीसहित बाहिर निस्कन पाउने सुविधालाई जेलको भाषामा ‘आउटडोर’ भनिन्छ ।
बुद्ध नख्खु सरुवा भएको केही समयपछि नयाँ भवन बन्यो । उनी ‘आउटडोर’बाट २८ फागुन २०७३ मा नयाँ भवनको चौकीदार बने । आउटडोर हुँदै उनले राम्रै कमाइसकेका थिए । चौकीदार बनेपछि उनले कमाउ धन्दा चलाउन थाले ।
कोठामा पार्केटिङ
पैसा र शक्ति भएपछि मानिसले जेलभित्र पनि उदेकलाग्दा काम गर्छ । चौकीदार बनेपछि उनले कैदीबन्दीसँग एउटा विशेष कामका लागि चन्दा उठाउन थाले । त्यो काम थियो– आफू बस्ने कोठामा पार्केटिङ गर्ने ।
उनले नयाँ ब्लकको कफी सप, किराना र कपडा पसलमा एकलौटी कब्जा जमाएर कैदीबन्दीलाई महंगो मूल्यमा सामान बेचेर ठूलो रकम कमाए ।
‘त्यतिबेला एकपटक नुहाएको समेत तीन सय रुपैयाँ तिर्नुपथ्र्यो’, नख्खु कारागारमा जेल जीवन बिताइरहेका एक कैदीले भने, ‘बुद्ध रिहा भएपछि नुहाएको पैसा तिर्नुपरेको छैन ।’
नख्खु कारागारमा कुल एक हजार तीन सय ८२ कैदी छन् । त्यसमध्ये नयाँ ब्लकमा मात्र चार सय ९६ जना कैदीबन्दी छन् ।
बुद्ध २०७५ चैतमा कैद भुक्तान गरिसकेपछि रिहा भए । उनी जेलबासी रहेनन् । उनले ठूलो कमाई गुमाए । तर, उनले नयाँ उपाय निकाले, बाहिर बसेर भित्रका कैदीबन्दीलाई ठग्ने ।
उनी दिनहुँ जेलमा कैदीबन्दी भेट्न जान थाले । कसैलाई चौकीदार त कसैलाई नाइके बनाइदिन्छु भन्दै लाखौं रुपैयाँ असुल्न थाले । त्यसपछि मात्र कारागार प्रशासनले उनको दैनिक जेल आगमनको अर्थ बुझ्यो । हाल जेल प्रशासनले उनलाई कारागार प्रवेशमा निषेध गरेको छ ।
ठगीको शृंखला
नख्खुमा जेल जीवन बिताइरहेका विशाल गुरुङलाई ‘आउटडोर निकालिदिन्छु’ भनेर बुद्धले चार लाख ७० हजार रुपैयाँ असुल गरेको भनी कारागार कार्यालयमा उजुरी परेको छ ।
कैदी मनोज चौरसियालाई नख्खुका तीनमध्ये एउटा भवनको चौकीदार बनाइदिन्छु भन्दै बुद्धले १६ लाख रुपैयाँ लिएको उजुरी परेको छ ।
त्यस्तै जसवन्त राईसँग पनि उनले सात लाख रुपैयाँ असुलेको गुनासो जेल प्रशासनसम्म पुगेको छ ।
बुद्धले नख्खु कारागारमा चलखेल गरेर पैसा असुल गरिरहेको गुनासो आफूले सुनेको बताउँछन्, नख्खु कारागारका जेलर (उपसचिव) वेदप्रसाद अर्याल ।
‘कैदीहरूले त्यस्तो गुनासो गरेको मैले सुनेको छु’ जेलर वेदप्रसादले भने, ‘कसैले भनेका भरमा चौकीदार अथवा नाइके पद पाइने होइन, कारागार नियमावली अनुसार आन्तरिक प्रशासनका प्रमुख र नाइकेहरू नियुक्त हुन्छन् ।’
अनौठो राजनीतिक नियुक्ति
२०७३ फागुनदेखि लगातार नख्खुको चौकीदार भएका बुद्ध २०७५ मा नयाँ कारागार नियमावली आएपछि समस्यामा परेका थिए । नयाँ कारागार नियमावली अनुसार एक वर्षभन्दा बढी समय कसैले पनि चौकीदार बन्न पाउँदैन ।
त्यसपछि उनी शिक्षक नाइके भए । आफ्नो अनुकूलको व्यक्तिलाई चौकीदार बनाएर उनले आन्तरिक प्रशासनको आर्थिक कारोबार सम्हालेका थिए ।
सरकारले राजनीतिक नियुक्ति र सुविधा बाँडेको शैलीमा बुद्धले पद बाँडे । सुविधा र आम्दानी हुने ठाउँ पनि बाँडे ।
२०७५ चैतमा छुट्नुअघि नै बुद्धले नख्खुको नयाँ ब्लकका सबै विभाग बन्दीहरूबीच बाँडेर गएका थिए । कैदीबन्दीहरूका अनुसार उनले कफी सप, क्यान्टिन र अन्य पसलहरूबाट राम्रै रकम असुलेर नख्खु छाडेका थिए ।
चैतमा जेल छाड्दा कारागारको लेखाबाट कैदीहरूका लागि महिनाभर पुग्ने दाल, चामलबापतको पैसा समेत लिएर गएको कारागारका एक कर्मचारीले सनराइजखबरलाई जानकारी दिए ।
जेलबाट छुटेको एक सातामा उनले निशान गाडी निकाले । उक्त गाडी दिदीको नाममा राखेको बुद्ध निकट एक कैदीले बताए । उनले भने, ‘जेलभित्र हुँदा पनि दिदी विष्णु गुरुङको नाममा रहेको मेगा बैंकको खातामा पैसा हाल्न लगाउँथे ।’
बुद्ध जेलमुक्त भएपछि अहिले सन्तोष गुरुङ नयाँ भवनको चौकीदार छन् ।
नख्खु कारागारमा चलखेल गरेको र पैसा असुलेकोबारे प्रतिक्रिया लिन खोज्दा बुद्धले बोल्न मानेनन् । उनको मोबाइल रिसिभ गर्दैै एक महिलाले भनिन्, ‘म बुद्धकी साथी हुँ । के कुरा हो मलाई नै भन्नुस्, उसलाई सुनाइदिन्छु ।’
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस