जमिनदारकी छाेरी र शान्ता चाैधरीले यसरी सम्झे बाल्यकाल (भिडियाेसहित)
काठमाडाैं । शान्ता चौधरीको बाल्यकाल जमिनदारको घरमा काम गरेर बित्यो । अर्थात् उनी कमलरी थिइन् । शान्ताले एउटा कृति नै लेखेकी छिन्- कमलरीदेखि सभासद्सम्म ।
१८ वर्ष कमलरी जीवन बिताइन् शान्ताले । त्यो अवधिमा धेरै जमिनदारको घरमा बसिन् उनी । कमलरी जीवनबाट मुक्त भएपछि कमलरी मुक्तिका लागि अभियान चलाइन् ।
आज शान्ता सांसद् छिन्, देशकै चर्चित नेतृ छिन् । त्यसबेला आफूलाई कमलरी राख्ने जमिनदार र तिनका परिवारलाई शान्ताले कस्तो ठान्छिन् ? उनीहरूसँग भेट हुन्छ कि हुँदैन ? अहिले उनीहरूसँग सम्बन्ध कस्तो छ ?
यो प्रश्नको जवाफ शान्ता आफैँले दिएकी छिन्- सनराइज खबर टेलिभिजन च्यानलमा उनले चलाउने कार्यक्रम ‘शान्ताका मनका कुरा’मा ।
यसपटक शान्ताले आफ्नो कार्यक्रममा अतिथि बनाएर ल्याएकी छिन्- सानी दिदीलाई । कार्यक्रममा शान्ता भन्छिन्- ‘उहाँ मेरी दिदी, सधैँ सानी दिदी भनेर बोलाउँछु ।’
शान्ता यो पनि थप्छिन्- ‘उहाँले मलाई तँ भन्नुहुन्थ्यो सानैदेखि । अहिले पनि तँ नै भन्नुहुन्छ । यो कार्यक्रममा पनि तँ भन्नु है दिदी !’
कार्यक्रममा सानी दिदी भन्छिन्- ‘तँ मेरी बहिनी होस्, सानैदेखि तँ भने । आज तँ सांसद् छेस्, देशले नै मानेको नेतृ छेस् । तैपनि तँ भन्छु । किनभने तँसँग मेरो र मेरो परिवारको आत्मीयता छ ।’
सानी दिदी अर्थात् शारदा शर्मा । उनैको परिवारमा कमलरी बसेकी थिइन् शान्ता ।
त्यसपछि दिदीबहिनी अर्थात् शान्ता चौधरी र शारदा शर्माबीच कुराकानी अगाडि बढ्छ ।
शान्ताले विगतका जमिनदार परिवारलाई कस्तो ठान्छिन् अनि ती जमिनदार परिवारले आजकी चर्चित नेतृ शान्तालाई कस्तो ठान्छन् ? यो प्रश्नको जवाफ कुराकानीले दिन्छ ।
कुराकानी क्रममा शान्ता र शारदाले बाल्यकालको सम्झना गर्छन्, बाल्यकालीन चञ्चलता, बदमासी, काँक्रा चोरेर खाएको, पैसा चोरेको अनि लुकेर फिल्म हेर्न गएको कुराकानी गर्दागर्दै दुवै जना भावनामा डुब्छन् । आमाले कराएको कुरा, जुम्रा टिपेका कुरा, नाचमा रुची भएको र हिरोइन बन्ने रहर भएको कुरा गर्छन् ।
शान्ता र शारदा बाल्यकालीन सम्झनामा यसरी डुब्छन् कि आँशु थाम्न सक्दैनन् ।
जमिनदारहरूसँगको सम्बन्ध
जमिनदारहरू फरकफरक पृष्ठभूमि र सोचका हुन्छन् । कतिपय जमिनदारले शान्तालाई माया नै गरे, तर केही जमिनदारले चाहिँ असाध्यै दुःख पनि दिए ।
जसको घरमा जुठा भाँडा माझेर शान्ता हुर्किइन्, ती परिवारसँग अहिले पनि सम्बन्ध राम्रो छ । बिहे, ब्रतबन्ध र चाडपर्वमा उनीहरूले शान्तालाइ निम्ता दिन्छन् । शान्ता पनि आफ्नो परिवार झैँ मानेर निम्ता मान्न जान्छिन् ।
कार्यक्रममा शान्ताले जमिनदार परिवारले देखाउने गरेको सद्भावले अतीतका दुःख भुल्ने गरेको बताएकी छिन् ।
शान्ताका बाबु : बड्का दादु
शान्ताको बुबालाई गाउँमा ‘बड्का दादु’ भन्छन् । थारु भाषामा ‘बड्का दादु’को अर्थ हाे ठूलो दाइ ।
शारदाका हजुरबाले बड्का दादुलाई छोरा भन्थे । कारण हो- जग्गा दिएकाले । शारदाका हजुरबाबाट बड्का दादुले मोहियानी हकबापत आठ कठ्ठा जमिन पाएका थिए । तर, त्यो युगमा मोहियानीबापत जमिनदारले सितिमिति जग्गा दिँदैनथे । हजुरबाले चाहिँ छोराजस्तै बनाएर ‘अंश’ भन्दै आठ कठ्ठा दिएका थिए ।
जुम्रा टिप्न शान्ता एक नम्बर
शान्ता र शारदाले आजका कुरा त गरेका छन् नै । बाल्यकालका कुरा पनि बडाे रमाइलो पाराले गरेका छन् ।
उनीहरूको कुराकानी क्रममा थाहा हुन्छ- बाल्यकालमा शान्ता दुईटा काममा सधैं प्रथम हुन्थिन् । एउटा हो जुम्रा टिप्ने, अर्काे नाच्ने ।
बाल्यकालमा उनीहरू कसले धेरै जुम्रा टिप्ने भनी खेल्थे, त्यसमा सधैं शान्ताले जित्थिन् ।
अनि, शान्ता नाच्नमा पनि अब्बल थिइन् ।
जुम्रा र नाचको चर्चा गरेर उनीहरू मज्जासँग हास्छन् ।
सुरो शान्ता
एक दिन शारदाले आरु खाँदै गर्दा झुक्किएर आरुको गेडा नै निलिछन् । त्यो कुरा उनले तत्काल शान्तालाई सुनाइन् । शान्ताले ‘आरुको गेडा म पनि निल्न सक्छु’ भन्दै निलेर देखाइछन् ।
शारदाका अनुसार शान्ता सानैदेखि सुरो स्वभावकी थिइन् । साथीहरू जम्मा भएको बेलामा के खेल खेल्नेदेखि के काम कसरी गर्ने योजना सबै शान्ताले बनाउँथिन् ।
शान्ता सानैदेखि नेता बन्ने स्वभावकी थिइन् त ? यो प्रश्नको पनि जवाफ पाइन्छ दुई जनाको कुराकानी हेर्दा ।
हिरोइन बन्ने रहर्
शान्ता सानैदेखि राम्रो नाच्थिन् । अरुले 'हिरोनी जस्तै नाच्छे' भनिदिँदा मख्ख पर्थिन् । ‘बाल्यकालमा फिल्म हेर्दाहेर्दै फिल्मको पर्दामा नाच्ने हिरोइन बन्छु भन्न थालेकी थिइन्’- शारदा यसो भन्छिन् अनि दुवैजना हास्न थाल्छन् ।
फिल्म हेर्नकै लागि धेरै पटक आमाको पैसा चोरेको सम्झँदै उनीहरू रमाइलो मान्छन् । कार्यक्रममा शान्ता भन्छिन्- ‘सम्भव भएसम्म हामी फिल्म हेर्ने पैसा आफै कमाउँथ्यौं । गाईवस्तु हेर्न जाँदा टिपेको सालको पात बेचेर होस् या खेतको काम सघाएर, फिल्म हेर्ने पैसा जुटाउँथ्यौं । पुगेन भने चाहिँ आमाको चोर्थ्याैं ।
शान्ता र शारदाको रोचक कुराकानी हेर्नुहाेस् भिडियाेमा :


प्रतिकृया दिनुहोस