भारतीय तस्करको सहयोगमा चितवनमा गाँजा खेती फैलँदै
चितवन । जिल्लाको पहाडी क्षेत्रमा गाँजाखेती हुने गरेकाे छ । राप्ती नगरपालिका वडा नं ११, १२ र १३ ( साविक लोथर र कोराक गाविस) मा गाँजा खेती हुने गरेकाे हाे । स्थानीयले गरेकाे गाँजा फसलका ग्राहक भारतीय तस्करहरु हुने गरेका छन् । भारतीय तस्करहरुले किन्ने भएकाले स्थानीयवासीले गाँजाखेती गरेका हुन् ।
राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार भारतीय तस्करले गाँजा रोप्न, काटेर सुकाउन र बोकेर उनीहरुसम्म पुराउन छुट्टाछुट्टै व्यक्तिलाई पैसा दिने गरेका छन् । स्थानीयवासीलाई उद्धृत गर्दै बरालले भनिन् “गाउँगाउँमा कहिलेकाहीँ तस्कर– तस्करबीच आपसमा गोली हानाहान हुने गरेको सुनेको छु ।”
भारतीय तस्करहरुले क्षेत्र विभाजन गरेर स्थानीयवासीलाई परिचालन गर्ने गरेको बरालले बताइन् ।
चेपाङ समुदायको बाहुल्य रहेको यहाँ ठूलो क्षेत्रफलमा गाँजा खेती हुने गरेको छ । बरालका अनुसार गाँजा खेतीबाट पैसा पाउने भएपछि सर्वसाधारणले स्थानीय सरकारको भन्दा तस्करका कुरा बढी सुन्ने गरेको पाइएको छ । उनीहरुलाई गाँजाखेती गर्न छुटाउनका लागि गरीबी निवारण मन्त्रालय र जिल्ला सहकारी सङ्घसँग नगरपालिकाले मिलेर तरकारी, बाख्रा, मौरी र कुखुरापालन गर्न सहयोग गरेको छ । सोही ठाउँमा तरकारी सङ्कलन केन्द्र समेत सञ्चालन गर्न लागिएको उनले बताइन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले समय समयमा प्रहरी पठाएर गाँजा नष्ट गर्ने गरेको दावी गरे । हालैमात्र प्रहरीले लोथरमा करीब १८ क्विन्टल गाँजा नष्ट गरेको उनले बताए ।
गाँजाखेती गर्नेहरुले कुन्यू लगाएर राखेको अवस्थामा नष्ट गरिएको बताउँदै राठौरले चितवन, मकवानपुर र धादिङका पहाडी क्षेत्रमा भारतीय तस्करले स्थानीय परिचालन गरी गाँजाखेती गर्दै आएको जानकारी दिए ।
भारतीय तस्करले सोझासाझा चेपाङलाई परिचालन गर्ने गरेको राप्ती नगरपालिका–१३ का वडाध्यक्ष सूर्य चेपाङ्ले दावी गरे । सम्बन्धित जग्गा धनी चेपाङलाई गाँजा लगाउने, गोडमेल गर्ने र थन्क्याउनेसम्मको कामका लागि एकमुष्ट वा छुट्टाछुट्टै जिम्मा दिएर रकम दिने गरेको उनले बताए । गाँजा तयार भएपछि चेपाङलाई नै भरिया बनाएर मनहरि, लोथर बजार झार्ने गरेको पाइएको छ । ती गाँजा कतिपय नेपाली बजार र केही भारतीय बजारमा पुग्ने गरेको स्थानीयवासीको भनाइ छ ।
- रासस
लोकप्रिय
सम्बन्धित खवर
-
तिलगङ्गा क्षेत्रका बासिन्दा पशुपति क्षेत्र विकास कोषविरुद्ध धर्नामा बस्ने
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
७–८ वर्षदेखि पोल र ट्रान्सफर्मर मात्रै, घरमा अझै पुगेन बिजुली
-
सरकारसँग आक्रोशित कीर्तिपुरवासी : बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्न माग


प्रतिकृया दिनुहोस