• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

जितेर पनि प्रतियाेगिताबाट बाहिरियाे पाकिस्तान

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा लिग चरणको अन्तिम खेलमा पाकिस्तान विजयी भएको छ । शुक्रबार राति भएको लिग चरणको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको ३ सय १६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४४ ओभर १ बलमा अलआउट हुँदै २ सय २१ रनमा समेटियो । बंगलादेशका लागि शकिब अल हसनले ६४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यो सँगै शकिब एकै विश्वकपमा ६ सय रन बनाउने तेस्रो खेलाडी बने । उनले जारी विश्वकपमा ११ विकेट समेत लिएका छन् ।

बंगलादेशलाई पराजित गरे पनि पाकिस्तान विश्वकप प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तान बाहिरिएसँगै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । 

यसअघि लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो । पाकिस्तानका इमाम उल हकले १ सय रन बनाए । यस्तै बाबर आजमले ९६, इमाद वासिमले ४३, मोहमद हाफिज २७ तथा फखर जमानले १३ रन बनाए । 

बंगलादेशका मुस्ताफिजुर रहमानले ५ र मोहमद सैफुदीनले ३ विकेट लिए । बंगलादेशलाई पराजित गरे पनि पाकिस्तान विश्कप प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तान बाहिरिएसँगै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । 

जितसँगै पाकिस्तान लिग चरणमा पाँचौ स्थानमा रह्यो । पाकिस्तानले ९ खेलबाट ११ अंक जोड्यो । ११ अंक जोडे पनि न्युजिल्यान्ड नेट रन रेटका आधारमा सेमिफाइनलमा पुग्यो । बंगलादेश ९ खेलबाट ७ अंक जोड्दै सातौं स्थानमा रह्यो ।

पाकिस्तानलाई सेमिफाइनल पुग्न बंगलादेशमाथि ३ सय ८ रनको जित आवश्यक थियो । तर, पाकिस्तानले झिनो अन्तरले जित निकालेसँगै न्युजिल्यान्डले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

यो सँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको छ । साविक विजेता अस्ट्रेलिया सहित भारत, इंग्ल्यान्ड र न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाएका छन् ।

प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै छन् । नेपाली समयअनुसार दिउँसो सवा ३ बजे हुने पहिलो खेलमा भारत र श्रीलंका खेल्ने छन् ।

त्यसैगरी साँझ सवा ६ बजे हुने खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका आमनेसामने हुने छन् ।

यसैबिच पाकिस्तानी अलराउण्डर शोएब मलिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३७ वर्षीय क्रिकेटर मलिकले पाकिस्तानको समूह चरणको अन्तिम खेलसँगै सन्यास लिएका हुन् ।

खेलपछि मलिक मैदानमा पुग्दा पाकिस्तानी खेलाडीले उनलाई ‘गार्ड अफ अनर’ दिएका थिए ।

२० वर्षे एकदिवसीय क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गर्दै मलिकले आफूूलाई साथ दिने सबैलाई धन्यवाद दिएका थिए ।

मलिकले १९९९ को अक्टुबरमा वेस्टइण्डिजविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । पाकिस्तानका लागि २८७  एकदिवसीय क्रिकेटमा ९ शतक, ४४ अर्धशतकका साथ ७ हजार ५ सय ३४ रन बनाए । यसैगरी उनले  १५८ विकेट पनि लिएका छन् ।

यसैगरी ३५ टेस्ट म्याचमा ३ शतक र ८ अर्धशतकका साथ १८९८ रन बनाउँदा टी –२० सात अर्धशतक सहित २ हजार २ सय ६३ रन बनाएका छन् । पाकिस्तानका लागि उनले १११ टी–२० खेलेका छन् ।


 

 

प्रतिकृया दिनुहोस