• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

विषादीयुक्त तरकारी नाकामा : किसान खुसी, उपभोक्ता मारमा

विकास अधिकारी

विकास अधिकारी

काठमाडौं । नेपाल सरकारले नेपालीको स्वास्थ्यमा खेलबाड नहोस् भनेर भारतबाट आयात गरिएको विषादीयुक्त तरकारीका गाडी नै नाकामा रोकेको छ ।
 
उक्त गाडीहरु रोकिएसँगै नेपाली तरकारी कृषक खुसी भएका छन् । उनीहरु फेरि ऊर्जासहित काम गर्न थालेका छन् । 

तरकारीको राम्रो मूल्य नपाएर वाक्क भएर बसेका किसान भारतको विषादीयुक्त तरकारी नाकामा रोकिएपछि खुसी भएर फेरि तरकारी खेतीमा मेहनत गर्न थालेका छन् । 

गोदावरीमा तरकारी खेती गरिरहेका सुन्दर कार्की भन्छन्, 'नेपालीले तरकारीमा विषादी हाले पनि भारतको दाँजोमा नहालेकाले नेपालमा उत्पादित तरकारी उपभोग गर्दा समस्या हुँदैन ।'

भाउ बढ्यो, उपभोक्ता मारमा
 
नाकामा तरकारीका गाडी रोकिएपछि नेपाली किसान राम्रो भाउ आयो भनेर खुसी भएका छन् । अलि सम्पन्न र हुनेखाने परिवार विषादीरहित नेपाली तरकारी खान पाइयो भनेर खुसी भएको देखिन्छ । 

तर यता दिउँसो काम गरेर छाक टार्नुपर्ने बाध्यता भएका कम आयआर्जन भएका मानिस भने दुःखी भएका छन् । 

गरिब परिवारका मानिसलाई स्वास्थ्यभन्दा पनि भोक टार्ने कुरा मुख्य बनिदिन्छ । उनीहरु दिनभर बढी कमाउने र कम खर्च गर्ने योजनामा हुन्छन् । यस्तो अवस्थामा उनीहरुले स्वास्थ्यबद्र्धकभन्दा सस्तो तरकारीलाई मुख्य प्राथमिकता दिन्छन् ।

दिनमा काम गरेको रुपैयाँले छाक टार्नै गाह्रो भएको काठमाडौंको चाबहिलमा बसेर मजदुरी गर्ने प्रेम धिताल बताउँछन् । 

कम आयआर्जन भएका मानिसलाई त पीडा छँदै छ । काठमाडौंबाहिरबाट आएर पढ्न बसेका विद्यार्थीहरुलाई पनि यसले असर गरेको छ । 
 
काठमाडौंमा एउटा कोठा भाडामा लिएर स्नातक पढ्दै आएका विवेक शर्मा भन्छन्, 'घरबाट अड्कलेर आएको पैसाले सबैकुरा पुुर्याउनुपथ्र्यो । अब तरकारीको मूल्य बढ्सँगै हामी जस्ता विद्यार्थी वर्गलाई गाह्रो परेको छ ।'

समग्रमा हेर्दा तरकारीका गाडी नाकामा रोकिनु केही वर्गलाई फाइदा भएको छ भने केहीलाई घाटा । तर, मानव जीवनको सबैभन्दा महत्वपूर्ण सम्पत्ति मानिएको स्वास्थ्य जस्तो संवेदनशील विषयमा भने फाइदा नै पुगेको छ । थोरै बढी पैसा तिरेर स्वास्थ्यबद्र्धक तरकारी खाएमा स्वास्थ्यसम्बन्धी जटिल रोगको सिकार हुनु पर्दैन ।

तर मौकाको फाइदा उठाउँदै नेपालमा उत्पादित तरकारीको मूल्य अस्वभाविक रुपमा बढाउन सक्नेतर्फ ध्यान दिँदै राज्यले उचित कदम चाल्नु आवश्यक छ ।
 

प्रतिकृया दिनुहोस