• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

रेशम खेतीमा रमाएका महेश

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

दाङ । असारको प्रचण्ड गर्मी । दाङको गढवा यसै पनि गर्मी हुने ठाउँ । वरपर गाउँका खेतबारी पनि खाली र उजाड नै छन् तर, केही पर पुगेपछि भने हरियाली भेटिन्छ रेशम खेतीको । गढवा गाउँपालिका वडा नं ४ हडैया गाउँ अहिले रेशम खेतीका कारण चिनिन थालेको छ । 

गाउँको करीव ६० विघा जमीनमा फैलिएको छ यो खेती । यसले हरियाली त छरेकै छ, गाउँको शोभा पनि बढाइदिएको छ ।  

केही वर्ष अघिदेखि हडैया गाउँमा व्यक्तिगत तथा सामूहिक रुपमा रेशम खेती गर्ने अभियान नै थालिएको छ । यस अभियानका अगुवा मानिन्छन् धादिङका किसान महेशदत्त अधिकारी । उनी धादिङको गल्छी गाउँपालिका वडा नं ४ भल्टारका बासिन्दा हुन् । उनले नै यहाँ रेशम खेती शुरु गरेका हुन् । उनकै प्रयासमा हडैया गाउँ अहिले रेशम खेतीबाट हरियाली भएपछि अरु किसानलाई पनि प्रेरणा मिलेको हो ।

शुरुमा खाली रहेको १० विघा जमीन भाडामा लिएर रेशम खेती थालेका अधिकारी अहिले पनि यसैमा रमाइराखेका छन् । राम्रो आम्दानी गर्न सकिने देखेर ३३ वर्षीय अधिकारीले तीन वर्ष अघि रेशम खेती थालेका हुन् । 

बुबाले धादिङमा ३६ वर्षदेखि यही खेती गरिरहनु भएको र बुबाकै प्रेरणाबाट यस खेतीमा लागेको उनी  बताउछन् । आगामी दिन रेशम खेतीलाई अझै विस्तार गर्ने योजना उनको छ । 
अधिकारी भन्छन् – “दाङमा यसको सम्भावना राम्रो देख्छु ।  जमीन पनि पर्याप्त भएकाले यहाँ आएर खेती गरेको हुँ ।” 

यहाँ आएर रेशम खेती गर्नुपर्यो भन्दा गाउँलेहरुले शुरुमा विश्वास नै नगरेको उनी स्मरण गर्छन् । “जब मैले बाँझो खेतबारीमा रेशमका बिरुवा रोपेर ढकमक्क पारें, सबैमा विश्वास पलायो,”उनले भने ।

डेढ वर्षमा बाँझो बारी हरियो भयो । त्यसपछि रेशम कीराका लार्भा ल्याएर उनले पाल्न शुरु गरे । अधिकारी  भन्छन् – “सबै गाउँले छक्क परे । किम्बुका पात टिप्दै रेशम कीराका लार्भाहरुलाई खुवाउँदै, हुर्काउँदै कोकुन उत्पादन गर्न थालें । यो प्रक्रियाले उनीहरुमा चाख पनि बढायो ।” 

कोकुन उत्पादन भएर त्यसबाट गाउँमै धागो उत्पादन हुन थालेपछि किसानहरु यस खेतीप्रति आकर्षित भएको अधिकारीले बताए । अधिकारीले अहिले कोकुनबाट धागो निकाल्ने  काममा गाउँका १५ जनालाई रोजगारी पनि दिएका छन् । उनले गरेको खेती देखेर हडैया गाउँ र त्यस आसपास अन्य गाउँका किसानहरु पनि यस खेतीतर्फ आकर्षित भएका छन् । 

अहिले यहाँ विभिन्न छ वटा समूह र केही किसानले व्यक्तिगत रुपमा ५० विघा जमीनमा रेशम खेती गरिरहेका  छन् । 

दाङमा तयार भएको कोकुनबाट धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बनाउने काम भने उनले धादिङबाट गर्दैआएका छन् । उनका उद्योगहरु धादिङ र काठमाडाँैमा रहेका छन् । अब केही समयपछि दाङबाटै प्रशोधन गर्ने र कपडा बनाउन थाल्ने उनको योजना छ । 

सबै खर्च कटाएर वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म बचत गर्ने बताउने अधिकारी आफ्नो कमाइप्रति सन्तुष्ट छन् । एक वर्षमा चारदेखि पाँच पटकसम्म कोकुन उत्पादन गर्ने सकिने हुँदा आम्दानी पनि राम्रैसँग लिन सकिने उनको अनुभव छ । 

आफूले गरेको खेती देखेर अहिले गाउँका धेरै किसान उत्साहित भएर यसको खेतीमा लागेका र त्यसबाट आफूलाई सन्तुष्टि मिलेको उनको भनाइ छ । यहाँका किसानहरुले उत्पादन गरेको कोकुन उहाँ आफैंले किन्ने र त्यही धागो प्रशोधन गरेर बेच्ने गर्छन् ।  उनका अनुसार रेशम कीराले उत्पादन गर्ने कोकुन प्रतिकेजी रु पाचँ सय पर्छ । रेशमलाई सेतो सुनका रुपमा पनि लिने गरिन्छ । यसको खेती पनि अन्य खेतीको तुलनामा महङ्गो छ । 

“मेहनतका साथ यसमा लागे छिट्टै राम्रो आम्दानी लिन सकिने भए पनि केही समस्या छन्” उनी भन्छन् – “यहाँ सिँचाइको अभाव छ । त्यस्तै, कीरा पाल्ने घर पर्याप्त छैनन् ।”

यहाँ उत्पादन हुने कोकुनलाई यहीँ प्रशोधन गर्ने योजनामा रहनुभएका उहाँ कपडा बुन्ने तान भइदिए यहीँ कपडा नै तयार गर्न सकिने बताउछन् । रेशम खेती हेर्ने विज्ञ उपलब्ध नहुँदा पनि समस्या पर्ने गरेको छ ।  

प्रविधिको अभावमा यहाँ उत्पादन गरेको कोकुनबाट धागो निकालेर धादिङमा लगी उनले कपडा बुन्ने गरेका छन् । उत्पादित धागोमध्ये २० प्रतिशतबाट कपडा बनाएर बेच्ने गरेको र अरु सबै धागो अमेरिका, जापान, लगायतका देशहरुमा नेपालका व्यापारीमार्फत बिक्री गर्ने गरेको उनी बताउछन् ।  

गत वर्ष उनले दाङमा उत्पादित धागोबाट बनाइएका साडी काठमाडौँको भृकुटीमण्डपमा लागेको प्रर्दशनीमा लगेर पनि बिक्री गरेका थिए ।
अहिले गढवा गाउँपालिका वडा नं ४ हडैया गाउँमा मात्र ५० बिघा, गोबरडिहामा १० बिघा गरी जम्मा ६० बिघा  जमीनमा सामूहिक र व्यक्तिगत रुपमा रेशम खेती गरिएको छ ।

सोही ठाउँका २९ वर्षीय रामलक्ष्मण शाहले पनि यसपटक आफ्नो दुई बिघा जमीनमा यसको खेती थालेका छन् ।  अधिकारीबाट प्रेरणा पाएरै यसको खेती थालेको उनले बताए ।
त्यसैगरी, गढवा–४ गोबरडिहाका ३२ वर्षीय अन्जित चौधरीले पनि दश बिघा जमीन भाडामा लिएर रेशम खेती गरेका छन् । धान, मकै, गहँु जस्ता परम्परागत खेती भन्दा रेशम खेतीबाट यथेष्ट आम्दानी लिन सकिने भएकाले आफूहरु यस खेतीतर्फ आकर्षित भएको यहाँका किसानले बताएका छन् । 

रेशम खेती गरेका किसानहरुलाई  प्रोत्साहन दिन गत वर्ष  प्रदेश ५ को सरकारले कीरा घर निर्माणका लागि साढे ११ लाख रुपैयाँ अनुदान दिएको थियो । सो रकमबाट दुईवटा  कीरा घर निर्माण भैरहेको चौधरीले बताए ।

यस्तै, गढवा गाउँपालिकाले पनि यसपटक रेशम खेती गर्ने किसानहरुलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ भने प्रदेश  सरकारले रेशम खेतीका लागि रु ५० लाख रकम विनियोजन गरेको छ । 
–रासस
 

प्रतिकृया दिनुहोस