एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट : नेपालको विजयी सुरुवात
काठमाडौं । मलेसियामा जारी एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । बुधबार भएको खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
चीनले दिएको ५४ रनको झिनो लक्ष्य नेपालले चार ओभर पाँच बलमा पुरा गर्यो । नेपालको जितमा प्रारम्भिक ब्याट्सम्यान पवन सर्राफले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ४६ रन बनाए ।
त्यस्तै रित गौतमले १० रन बनाए ।
त्यसअघि किनरारा ओभल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चीनले २३ ओभर एक बलमा सबै विकेट गुमाएर ५३ रन मात्र बनाएको थियो ।
चीनका लागि गुहाओ गाओ र लिआङ्ग चेनले सर्वाधक १३–१३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि सागर ढकालले ६ विकेट लिए । नौ ओभर एक बल बलिङ गरेका उनले तीन ओभर मेडन राख्दै १९ रन दिएर ६ विकेट लिएका हुन् । त्यस्तै तिलकराज भण्डारीले तीन र कमलसिंह ऐरीले एक विकेट लिए ।
समूह ए मा नेपाल सँगै चीन र सिङ्गापुर छन् । नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल असार २० गते सिङ्गापुरसँग खेल्नेछ ।


प्रतिकृया दिनुहोस