• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

आमा सावित्रीलाई मार्न छोरीले भारतबाट झिकाएकी थिइन् हत्यारा

.

.

राजेश भण्डारी -

काठमाडौं । चार वर्षको छोरा भएकी विवाहित कान्छी छोरी इश्वरी भट्टराई कुबाटोमा लाग्छिन् । आमा सावित्री भट्टराई छोरीले बाटो बिराएको हेरेर बस्न सक्दिनन् । कडा विरोध गर्छिन् ।

छोरी लागेको कुबाटो हो, पति छँदाछँदै मोहम्मद नौसादसँग प्रेम सम्बन्ध राख्नु । भक्तपुरकै एक गार्मेन्टमा काम गर्दा उनीहरु बीच अवैध प्रेम फस्टाएको हुन्छ । सोझा पति सोनाम थापा पत्नीको यस्तो लीलाबाट बेखबर हुन्छन् ।

पति अन्धकारमै हुन्छन् तर आमाले छोरीको लीला सबै देख्छिन् । पति नभएको बेला नौसादलाई घरमै समेत ल्याउँछिन् । 

आमा यो सबै सहन सक्दिनन् । बाधक बन्छिन् । त्यसपछि इश्वरीले आमासँग एक लाख रुपैयाँ लिएर नौसादलाई दुबइ पठाउँछिन् । डेढ महिनामै दुबइबाट नौसाद फर्कन्छन् र आमा सावित्रीको हत्या गर्छन् । आमालाई मार्ने योजना बनाएकी हुन्छिन् छोरी इश्वरीले । 

छोरी नबिग्रिउन्, छोरीको घरबार नबिग्रियोस् भन्ने आमालाई छोरीले नै मार्ने योजना बनाइन् । 

इश्वरीले आमा र गुप्त प्रेमीमध्ये प्रेमी नै छानिन् । छानिन् मात्र होइन, आमालाई मार्ने निर्णय गरिन् । प्रेमी मोहम्मदले आमालाई मारिदिए ।

भक्तपुरको चाँगुनारायण–७ स्थित बाँसबारीमा आइतबार दिउँसै ६० बर्षिया सावित्री भट्टराईको हत्या भयो । आफ्नै घरमा मारिनुपर्ने अपराध सावित्रीले केही गरेकी थिइनन् । अपराध गरेकी थिइन् छोरी इश्वरीले । 

स्थानीयवासीले २२ लाख रुपैयाँ लुट्न हत्या भएको दावी गरे पनि प्रहरी अनुसन्धानले अर्कै तथ्य देखाएको छ ।

स्वीकारिन् इश्वरीले

सावित्री हत्याकाण्डको रहस्य खुल्न २४ घन्टा पनि लागेन । सोमबार बिहान प्रहरीले किटानीसाथ भन्यो– इश्वरी भटट्राई र मोहम्मदको नाजायज सम्बन्ध छ । यही सम्बन्धका कारण आमा सावित्रीको हत्या भएको हो ।

महानगरीय अपराध महाशाखाले इश्वरी र उनको प्रेमी मोहम्मद नौसाद सहित चार जनालाई सार्वजनिक गरेको छ । केही बर्षअघि सोनाम थापा मगरसँग विवाह गरेकी इश्वरीको चार बर्षिय छोरा छ, तर उनी विगत एक बर्षदेखि सिराहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसादसँग अनैतिक प्रेम सम्बन्धमा थिइन् । 

प्रहरीसँगको साविती बयानमा इश्वरीले आफू केही समयदेखि मोहम्मद नौसादसँग प्रेम सम्बन्धमा रहेको स्वीकार गरेको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले जानकारी दिए । 


छ्या, यस्तो अनैतिक 

आमाले चर्काे विरोध गरेपछि इश्वरीले आमासँगै एक लाख रुपैयाँ मागेर नौसादलाई दुबई पठाउँछिन् । नौसाद दुबइ गएपछि छोरी जोगिन्छे भन्ने ठानेर सावित्रीले एक लाख रुपैयाँ दिएकी हुन्छिन् ।

‘मोहम्मद नौसाद करिब डेढ महिना दुबइ बस्दा फोन र एसएमएस मार्फत कुरा भएको देखिन्छ’ महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक सहकुल थापा भन्छन्, ‘प्रेमकै कारण नौसाद डेढ महिनामा नेपाल फर्केको र त्यसपछि योजना बनाएर सावित्रीको घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ 
नौसाद दुबइ बस्दै आमालाई मार्ने योजना इश्वरी र नौसादले बनाएको प्रहरीको दावी छ ।

प्रहरीको अनुसन्धानबाट आफ्नो संलग्नता खुल्नेबारे इश्वरी त्यतिवेला नै सचेत थिइन्, जतिबेला नौसाद विदेशबाट फर्कंदैै थिए । 

नौसादलाई विदेश उड्ने बेलामा इश्वरीले आफ्नो दिदीको नामको सिमकार्ड दिएर नौसादलाई दिँदै भनेकी थिइन्, ‘मसँग यसबाट मात्रै कुरा गर्नु ।’

डेढ महिना बसेपछि इश्वरीको प्रेममा पागल बनेका नौसाद नेपाल आउने निर्णयमा पुग्छन् । दुबइबाट नेपाल उड्नुअघि इश्वरीले भन्छिन्, ‘नेपाल आएपछि एकहप्ता मसँग त्यो सिमकार्डबाट सम्पर्क नगर्नु, म घरबाट केही दिन साइड लाग्छु अनि आमालाई मार्नु !’ 

आइतबार बिहान आमालाई मार्ने योजना अनुसार नै इश्वरीले बहाना बनाएर घर छाडेकी हुन्छिन् । 

१२ लाखमा कन्ट्राक्ट  

नेपाल फर्केपछि सावित्रीको हत्याको योजना बनाउन थाल्छन् नौसाद । अनि भारतबाट कन्ट्राक्ट  किलर बोलाउँछन् । हत्यामा संलग्न पूर्वी दिल्लीका अर्जुन कुमार भन्ने भाेला कुमार र भारत मधुवनीका मोहम्मद रहिसलाई बोलाउँछन् । तिमध्ये एकजना नौसादको मामा हुन, अर्का एकजना साथी । तर, उनीहरुले ‘पैसा कति आउँछ ?’ भनेर सोध्छन् । 

‘इश्वरीले आमालाई मारेपछी १२ लाख दिउँला भनेको अभियुक्तहरुको बयानबाट खुलेको छ’ एसएसपी सहकुल थापा भन्छन्, ‘प्रेमीका सँगको सल्लाहमा सुपारी दिने सहमती पछि नौसादले भारतबाट कन्ट्राक्ट  किलर बोलाएर हत्या गरेको देखिन्छ ।’ 

यसरी प्रेममा बाधक बनेको भन्दै आफ्नै छोरीले सुपारी दिएर ६१ बर्षिया सावित्रीलाई आफ्नो प्रेमको बाटोबाट हटाइन्  । तर, उनी आफैं भने कानूनको फन्दामा परेकी छिन् ।

त्यो क्राईम सिन

आइतबार बिहान नौ बजेतिरै इश्वरीको घरमा पुगेका नौसादले घट्नास्थलको रेकी गर्छन् । सावित्री र नौसाद बीच दुबइ जाँदा लगेको एक लाखको बारेमा सामान्य गलफती हुन्छ । 

छिमेकीले नौसादलाई सावित्रीले ‘मेरो छोरीलाई बर्बाद बनाइस्’ भन्दै कुचाले हिर्काउँछिन् । अनि, पुरानो एक लाख लिएर आउँछु भनेर हिँडेका नौसाद कन्ट्राक्ट  किलर लिएर फर्कन्छन् । 

  त्यतिन्जेल सावित्रीले आफ्नो नाति दिप्सनलाई स्कुल पठाइसकेकी हुन्छिन् । 

हत्यामा संलग्न मध्येका एकजनाले सावित्रीको खुट्टा समाउँछन्, अर्को एकजनाले चिच्याउन नदिन मुख थुन्छन् । अनि रहिसले सावित्रीको घाँटी रेट्छन् । 

हत्यापछि भोलाकुमार र मोहम्मद रहिश मोटरसाइकलमा हेटौंडा गएर सुपारी कबोलेको रकम पाउनका लागि पर्खन्छन् । 

मोहम्मद नौसाद धादिङको गजुरीबाट आइतबार साँझ सात बजे नै अपराध महाशाखाको टोलीको पञ्जामा पर्छन् । 

प्रहरी अनुसन्धानका क्रममा नौसाद र कन्ट्राक्ट किलरको बिचमा बीरगञ्ज पुगेपछी १२ लाख रुपैयाँ दिने सहमति भएको खुलेको छ । 

प्रतिकृया दिनुहोस