विश्वकप क्रिकेटमा भारतको पहिलो हार
काठमाडौं । इङ्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पहिलो हार बेहोरेको छ । बर्मिङ्घममा आइतबार राति भएको खेलमा भारत आयोजक इङ्ल्याण्डसँग ३१ रनले पराजित भएको हो ।
इङ्ल्याण्डले दिएको ३ सय ३८ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ६ रन मात्रै बनाउन सक्यो ।
भारतका रोहित शर्माले १ सय २ रन बनाए पनि हार टार्न सकेनन् । यस्तै, विराट कोहलीले ६६, हार्दिक पान्ड्याले ४५, महेन्द्र सिंह धोनीले ४२, ऋषभ पन्तले ३२ र केदार जाधवले १२ रन जोडे ।
भारतलाई समेट्न इङ्ल्याण्डका लियाम प्लङ्किटले तीन तथा क्रिस वोक्सले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३७ रन बनाएको थियो । उसका लागि जोनी बेयर्सटोले १ सय ११ रन बनाए । यस्तै, बेन स्टोक्सले ७९, जोसन रोयले ६६, जो रुटले ४४, जस बटलरले २० र क्रिस वोक्सले सात रन जोडे ।
भारतका लागि मोहम्मद सामीले दश ओभरमा एक मेडन सहित ६९ रन खर्चेर पाँच विकेट लिए । त्यस्तै जसप्रित बुमराह र कुलदीप यादवले एक-एक विकेट लिए ।
इङ्ल्याण्डले सन् १९९२ पछि भारतलाई विश्वकप क्रिकेटमा पराजित गरेको यो पहिलो पटक हो । भारतलाई हराएसँगै इङ्ल्याण्डले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।
८ खेलबाट १० अंक जोडेको इङ्ल्याण्ड तालिकाको चौथो स्थानमा उक्लिएको छ । पाकिस्तान पाँचौ स्थानमा झरेको छ । ७ खेलबाट ११ अंक जोडेको भारत समूहको दोस्रो स्थानमा छ । शीर्ष स्थानको अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
विश्वकप क्रिकेटमा आज श्रीलंका र वेष्ट इन्डिज भिड्नेछन् ।


प्रतिकृया दिनुहोस