• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

भैँसी पालेरै छोरालाई डाक्टर ...

विकास अधिकारी

विकास अधिकारी

काठमाडौं । दाजु विदेशबाट फर्कनु भयो । पिढीँमा बसेर सुस्केरा हाल्दै भन्नुभयो, 'भाइ केही प्रगति भएन,  समय मात्रै खेर फालेँ, अब कहिँल्यै विदेश जान्न ।'

दाजु हरिशरण तिमल्सिनाको यो भनाइमा धेरै कुरा लुकेको थियो । मैले दाजु निराश भएको हेर्न सकिन, अनि भने, 'दाजु हामीले बाटो विराउँदै छौ, आफ्नो बाउ बाजेदेखि गर्दै आएको पेशा छोड्दैँ छौ, नआत्तिनुस म  तपाईंको साथमा छु, अब हामी दाजुभाइ मिलेर बाउ बाजेदेखी गर्दै आएको पेशालाई अघि बढाउनु पर्छ', दाजुलाई सम्झाएको भाइ बद्रीप्रसाद तिमल्सिना सम्झनुहुन्छ ।

उहाँहरुको बाउ बाजेको पालादेखि गर्दै आएको पेशा थियो भैँसीपालन । पुर्खाको पेसा छाडेर हरिशरण तिमल्सिना विदेशिनु भएको थियो ।

ललितपुर स्थाई घर भएका तिमल्सिना परिवारको लागि भैँसीपालन नौलो कुरा थिएन । तिमल्सिना परिवारमा पुस्तौ अघिदेखि भैँसीपालन गरिएकाे थियाे, तर  व्यवसायीक भने होइन । दाजु हरिशरणले चार बर्ष विदेशमा बिताउँदा पनि गोठमा भैँसी भने टुटेका थिएनन् । श्रीमती सीता  तिमल्सिनाले दुई वटा भैँसी पाल्नुभएको थियो ।

उता भाइ बद्रीप्रसाद तिमल्सिनाको परिवारले पनि चार वटा भैँसी पालेको थियो । भैँसी पालनले निरन्तरता भने पाएकै थियो ।

यसरी सुरु भयो दाजुभाइको भैँसी क्रान्ति

जब दाजुको कुरा भाइले सुन्नुभयो तब भाइले भन्नुभयो,  'दाजु अब जानेकै कामलाई अघि बढाऔँ, तपाईंसँग भएको दुई वटा र मसँग भएको चारवटा भैँसी मिलाऔँ ६ वटा हुन्छ अनि नयाँ सम्भावना भएको ठाँउमा गएर भैँसीपालन गरौँ ।'

उहाँले दाजुसँग थप प्रस्ताव पनि राख्नुभयो, 'भैँसी यत्तिमा मात्र सीमित भने नगरौँ, बिस्तारै संख्या बढाऔँ, व्यवसायीक रुपमा काम गरौं।'

भाइको कुरा सुनेर दाजुको आँखा रसाए । विदेशमा गरेको दुःख सम्झिनुभयो । विदेशिँदा प्राणभन्दा प्यारो परिवार छोडेर गएको सम्झिनुभयो । अनि चर्को घाममा पानी पनि नखाई काम  गर्दा पनि प्रगति नभएको सम्झिनुभयो ।

भाइ बद्रीप्रसाद तिमल्सिनाको कुरामा दाजु हरिशरण तिमल्सिना सहमत हुनुभयो । अनि भन्नुभो , 'हुन्छ भाइ अब स्वदेशमै पसिना बगाऔं ।'

काम त गर्ने, तर भने जस्तो सजिलो पनि थिएन तिमल्सिना परिवारलाई । पसिना त बगाउने तर कहाँ बगाउने  ? व्यवसायीक भैँसीपालन गर्नको लागि बाउ बाजेदेखि बसिरहेको ठाँउ छोड्नु पर्ने थियो ।

तै पनि लागे दाजु भाई उपयुक्त ठाँउ खोज्न । जे होला होला भनेर व्यवसायीक रुपमा भैँसी पालन गर्ने ठाउँको खोजीमा दुई भाइ लाग्नुभयो ।

ठाँउ खोज्दै जाँदा दाजुभाइले काभ्रेपलाञ्चकको पनौतिलाई उपयुक्त मान्नुभयो । धेरैले भैँसीपालन गरेको सो ठाउँ दाजुभाइको लागि पनि उपयुक्त लाग्यो ।

अनि जमिन खोज्न थाल्नुभयो । खोज्ने क्रममा एउटा भैँसी फार्म बिक्रीमा छ भन्ने बद्रीप्रसादले सुन्नुभयो।

उहाँ त्यहाँ बुझ्न जानुभयो । बुझ्दा सो भैँसी फर्म दुई रोपनि जमिनमा फैलिएको रहेछ । एउटा गोठ पनि रहेछ । दाजुभाइले उक्त फार्मको जमिन र गोठलाई मात्र पैसा हाल्नुभयो। अनि  आफ्नै ६ वटा भैँसी लगेर गोठमा बाँध्नुभयाे । विस्तारै परिवारका सबै  सदस्य पनौती तिरै सर्नुभयो ।  

भैँसी बढाउँदै लैजानुभयो । आफैँ खट्नुभयाे । विस्तारै क्रमश: ५० लिटर, १ सय लिटर, एक सय ५० लिटर हुदैँ अहिले दैनिक २ सय लिटर दुध बेच्नुहुन्छ ।  यसरी सुरु गरेको गाई भैँसी फर्ममा अहिले २१ वटा भैँसी छन् ।

छोराहरुले पनि राम्रो पढेका छन् । एक छाेरा पशु चिकित्सक  छन् । अर्का छाेरा ल्याब टेक्निसियन छन् । अर्का होटल म्यानेजमेन्ट पढ्दै छन् ।  

यो सबै भैँसीपालनकै योगदान हो ।  अर्थात उक्त फर्ममा अहिले चमत्कार भएको छ ।

आजकाल प्राय मानिसले गाई पालेको भेटिन्छ । तर तिमल्सिना दाजुभाइले भने भैँसी पालेका छन् ।  किन भैँसी नै रोज्नु भयो ? सनराइज खबरको प्रश्नमा रोचक उत्तर आउँछ । उत्तर यो छ- ‘गाई भन्दा भैँसी पाल्दा फाईदा छ । गाईको दूध भन्दा भैँसीको दूध बढी मूल्यमा बिक्री हुन्छ ।  किनकि भैँसीको दूधमा बढी फ्याट आँउछ । अनि फेरि गाईपालन गर्नेले बाच्छा बाच्छी जन्मिएपछि सडकमा छोड्छन् । त्यो सबै हेर्दा पनि हामीलाई भैँसी नै उपयुक्त  लाग्यो ।’

भविष्यमा के हुन्छ त ?

भविष्यमा ६० वटासम्म भैँसी पुर्‍याउने यी दाजुभाइकाे साेच छ । आफैँ दूधजन्य पदार्थको उद्योग खोल्ने तरखरमा हुनुहुन्छ ।

अहिले परिवार मात्र खटेकाे उक्त फर्ममा अन्यलाई पनि रोजगारी दिने साेच बनाइएकाे छ ।  छोराहरुलाई पनि यही व्यवसायमा लगाउने उहाँहरुको सपना  छ ।  

यस फर्म सँग सँम्बन्धित भिडियो हेर्न यो लिंक खोल्नुहोलाः–

 

 

प्रतिकृया दिनुहोस