• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

असार १५ र नेपालमा धान खेती  

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

असारमास रोपाइँका बेला गाइने गीतले खेतबारीको रमाइलो दृश्यमा रोपाइँ चल्ने गथ्र्यो । हिलो खेल्दै बिउ काढ्ने, बाउसे, रोपार र गोरुले जोतेको दृश्य नै बेग्लै हुन्थ्यो । 

त्यसमाथि असार १५ को दही चिउराको महत्व नै बेग्लै हुन्थ्यो । तर, आजकल असार १५ को महत्व घट्दै गएको छ । नयाँ पुस्तालाई त असार १५ को महत्व नै थाहा छैन । 

पछिलो समय अन्न भण्डार मानिने तराई क्षेत्रमा गोरुको संख्या घट्दै गए पनि जोत्ने प्रविधिको विस्तार भएको छ । पूर्वी नेपालका खेतमा ट्रयाक्टरको प्रयोग बढेको छ । पशुपालन गर्नेको संख्यामा कमी आएसँगै खेतबारीमा कम्पोस्ट मलको प्रयोग पनि स्वतः कम हुँदै गएको छ । 

नेपालमा धान खेतीको इतिहास पुरानो छ । धानलाई पुरानो बालीको रूपमा चिनिन्छ । चिनको झेजिङ प्रान्तमा सात हजार वर्षपहिले पनि व्यावसायिक रूपमा धान खेती गरिएको बताइन्छ । 

नेपालमा जंगली धान मानव सभ्यताको सुरु हुनुभन्दा पहिलेदेखि सुरु भएको पाइन्छ । धानका प्रमुख दुई वंशजमध्ये ओराइजा सेटिभा जातको उत्पत्ति नेपाल, भारत, भुटान, बर्मा, लाओस, भियतनाम, फिलिपिन्स, चीनमा भएको मानिन्छ । 

अफ्रिकी धान ओराइजा ग्लोबोरिमा पश्चिमी अफ्रिकामा चार हजार वर्षपहिले उत्पत्ति भएको थियो । हाल संसारमा ४० हजारभन्दा बढी प्रजातिका धान पाइन्छ । 

अमेरिकामा सन् १९८५ पछि मात्र धान खेती सुरु गरिएको थियो । संसारमा २० वंशजका जंगली धानमध्ये चार वंशजका जंगली धान नेपालमा पाइन्छ । 

नेपालको कपिलवस्तु जिल्लाको अजिगरा तालमा जंगली धान र सुर्खेतको बुलबुले तालमा सदाबहार धानको उत्पत्ति भएको मानिन्छ । चितवनको लोथरखोला, जुम्लाको सुन्दरपुरमा जंगली धान पाइने प्रमुख स्थान हुन् । नेपाल र एसियाकै प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धान विश्वमा दोस्रो बालीको रूपमा चिनिन्छ ।

कोरियाबाट नेपाल भित्र्याएर परवानीपुरमा दुई–चार दानाबाट यसको बिरुवा हुर्काइएको थियो । एउटा बालामा जम्मा १५–२० दाना मात्र फल्ने हुनाले यसको व्यापकता भएन ।

चाडपर्वहरूमा पनि धानको प्रयोग हुँदै आएको छ । पूजा गर्दा धान, चामललाई घिऊसँग मिसाएर होम गर्ने चलन परम्परादेखि नै चलिआएको छ । दसैंमा घरघरमा आफ्ना मान्यजनबाट चामलको अक्षता लगाई धूमधामसाथ मनाउने प्रचलन छ । दसैंबाहेक अन्य चाडपर्वमा पनि चामलका विभिन्न परिकारहरू बनाई खाने गरिन्छ । 

घरबाट बाहिर जाने क्रममा शुभसाइत गर्न भनी अक्षत चामलको रातो टीका लगाई बिदा गर्ने चलन पहिलादेखि नै चलिरहैकै छ । विवाह, ब्रतबन्ध, पास्नी आदि कार्यक्रममा चामलको टीका लगाई कार्यको शुभारम्भ र समापन गरिन्छ । मृत्युपश्चात् शवलाई घाटमा लैजाँदा चामलको बुर्की छर्ने पनि चलन छ । 

त्यस्तै धानको चामल मात्र होइन, परालबाट विभिन्न प्रकारका घरायसी सामग्रीहरू गुन्द्री, चकटी, भकारी आदि बनाइन्छ भने यसकै छानो बनाउने चलन छ । कृषि उपज उत्पादन तथा अन्य सामग्रीहरू सुरक्षितरूपमा ढुवानी गर्दा प्याकिङका लागि परालको प्रयोग गरिन्छ । त्यसैगरी आधुनिक च्याउ खेतीका लागि पराल प्रमुख स्रोतको रूपमा प्रयोग गरिन्छ । 

खाद्य तत्वको दृष्टिकोणले पनि भातलाई पोसिलो खानेकुराको रूपमा लिइन्छ । विज्ञहरूका अनुसार यसमा प्रशस्त मात्रामा कार्बोहाड्रेड पाइने, चिल्लो पदार्थ नगण्य रूपमा भएको र मुटु रोग लगाउने कोलेस्ट्रल तत्व नभएको, सोडियम तत्व कम भएका कारणले स्वाथ्यबद्र्धक पनि मानिन्छ । 

धानमा प्रशस्त परिमाणमा भिटामिन, मिनरल्सहरू पाइने भए पनि होलर मिलमा धान कुटाउँदा सबै तत्वहरू ढुटोमा जाने गरेको छ । यसमा शरीरलाई चाहिने आठ प्रकारका एमाइनो एसिडहरू पाइन्छ । साना बच्चाहरूका लागि पनि यो सजिलै पच्छ । आधा कप भातमा ८२ क्यालोरी शक्ति, ४५ ग्राम कार्बोहाड्रेड र तीन ग्राम प्रोटिन पाइने विज्ञहरू बताउँछन् । 

यति धेरै महत्व वोकेको धानलाई बढी उत्पादन गर्न सरकारले किसानहरूलाई माल, बिउ, कृषि औजारहरू उपलब्ध गराउन बिर्सनु हुँदैन । क्षेत्रफल र उत्पादनका हिसाबले अन्य खाद्यान्न बालीको तुलनामा झन्डै दोब्बर क्षेत्रफलमा धान खेती हुने गरेको छ । 

विश्वका एक सय ११ भन्दा बढी देशमा धान खेती हुन्छ । विश्वमा गहुँपछि दोस्रो स्थानमा धान बालीले ओगेटेको छ । विश्वको १६ सय २० लाख हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको छ । जसमध्ये एसियामा मात्रै १५ सय लाख हेक्टरमा खेती हुँदै आएको छ । विश्वमा एसिया र दक्षिण एसिया धान खेतीमा अग्रणी स्थानमा छन् ।

उत्पादनका दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन हो भने भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्यान्ड, फिलिपिन्स, म्यान्मार, ब्राजिल र जापान पर्दछन् । 

नेपालमा पनि धान नै प्रमुख खाद्यान्न बाली भएकाले खाद्य सुरक्षामा धान खेतीको ठूलो महत्व छ । धानको उपभोग गरिबदेखि धनीसम्म र बच्चादेखि बृद्घसम्म सबैलाई समान छ । 

धानको चामल, भुजा, चिउरा प्रमुख उत्पादन हुन् । बढ्दो पशुपालन व्यवसायमा धानको पराल, ब्रान, धानको ढुटो मुख्य आहारा हुन् भने च्याउ उत्पादनमा धानको पराल अत्यधिक प्रयोग हुने गर्छ । धानमा आधारित कृषिजन्य उद्योग गाउँदेखि शहरसम्म प्रशस्त छन् जहाँ रोजगारको उपलब्धता बढी सुनिश्चित छ ।

यसैले नेपालको कुल जनसंख्याको करिब ६५% जनसंख्या कृषिमा आश्रित भई ३३ प्रतिशत कुल गार्हस्थ उत्पादन कृषि क्षेत्रबाट प्राप्त हुने गरेको छ । करिब २१ प्रतिशत योगदान धानको मात्र छ ।

मुलुकमा खाद्यान्न बालीको उत्पादनमा धानले करिब ५५ प्रतिशत स्थान ओगटेको छ । धानलाई नेपाली अर्थतन्त्रको आधारस्तम्भ पनि मानिन्छ । 

पूर्वी नेपालमा कुल खेतीयोग्य जमिन नौ लाख ७४ हजार सात सय ७३ हेक्टर क्षेत्रफलमध्ये चार लाख ८१ हजार ८३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । 

धानमा उत्पादन लागत घटाई प्रतिस्पर्धी बनाउन रोपाइँ, कटाइ, चुटाइ तथा रोग, कीरा र झारपात नियन्त्रणमा मेसिनको प्रयोगलाई बढाई यान्त्रिकीकरणतर्फ जोड दिनुपर्ने बेला आएको छ । धान रोप्ने सिजनमा रासायनिक मलको व्यवस्था र मल अनुदानमा उपलब्ध गराउने कार्य, सहज रूपमा मल उपलब्ध गराउने प्रणालीको विकास गर्ने काममा राज्यले कुनै पनि कन्जुस्याइँ गर्नु हुँदैन । साना तथा सहकारी सिँचाइ कार्यक्रमलाई व्यवस्थित गर्दै ग्रामीण क्षेत्रमा पु¥याउन आवश्यक भएको छ ।
 
आर्थिक वृद्धिका लागि कृषि क्षेत्रलाई प्रमुख क्षेत्र मानिए पनि यसको प्रगति निकै कम छ । नेपालका बहुसंख्यक जनता कृषि क्षेत्रमा आधारित हुनुका साथै कृषि क्षेत्र नै राष्ट्रको आर्थिक मेरुदण्डको रूपमा उभिएको अवस्थामा कृषिमा आधारित जनता व्यावसायिकताको साटो निर्वाहमुखी छन् । कृषकहरूलाई व्यावसायिक बनाउनतर्फ लाग्नुपर्ने भएको छ । 

ग्रामीण क्षेत्रमा कृषि पेसा पछिल्लो कालमा आएर घट्दै छ । पर्याप्त मात्रामा जनशक्ति नपाउँदा, मल बिउको समस्या, सिँचाइको असुविधा, परम्परागत खेती प्रणाली र उत्पादन गरेको अन्नले बजार नपाउँदा यस्ता समस्याहरू आइपरेका छन् । परमरागत खेती प्रणालीमा आधारित कृषकहरू कृषिबाटै जीवनयापन गर्नै नसक्ने भएका छन् ।

पछिल्लो समयमा किसानहरू कृषि कर्म गर्नबाट टाढा हुँदै छन् । आर्थिक अवस्था कमजोर भएका कृषकहरू मात्रै विकल्पको अभावमा कृषि पेसामा नै अल्झेर बसेका छन् । नेपाल जस्तो गरिब मुलुकको लागि आर्थिक वृद्धिदरलाई माथि बढाउन मात्र हैन सामान्य रोजगारी गर्न जीविकोपार्जनका लागि पनि कृषिको प्रमुख भूमिका छ ।

कृषि क्षेत्रलाई अध्ययन अनुसन्धान, प्रविधिको विकास, सबै किसानलाई प्रविधिबारे जानकारी र कृषि बजारको सुदृढीकरणमा उचित लगानी हुन सकेको खण्डमा कृषिको यथोचित प्रगति हुने थियो ।
 

प्रतिकृया दिनुहोस