भोजपुर जिल्लास्तरीय लिग फुटबलको उपाधि केएफसीलाई
भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा सञ्चालन भएको जिल्लास्तरीय राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि कोदार फुटबल क्लब (केएफसी) ले हात पारेको छ ।
शुक्रबार भएको फाइनल खेलमा केएफसीले रिमाचुङ स्पोर्ट एन्ड एकेडेमीलाई हराउँदै पहिलो बनेको हो । केएफसीले खेलको निर्धारित समयमा ४ गोल गर्यो भने रिमाचुङले ३ गोल मात्रै गर्न सक्यो । केएफसीका तर्फबाट विवेक राई र रामबहादुर तामाङले १–१ तथा विजय भुजेलले २ गोल गर्दै उपाधि हात पारेका हुन् ।
प्रतियोगितामा प्रथम हुने केएफसीले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने दोस्रो रिमाचुङले १० हजार नगद र प्रमाण पत्र पाएको आयोजक भोजपुर जिल्ला फुटबल संघले जानकारी दिएको छ ।
गत असार ८ गतेबाट अखिल नेपाल फुटबल संघको आयोजना तथा भोजपुर जिल्ला फुटबल संघको स्थानीय आयोजनामा सञ्चालन भएको प्रतियोगितामा फुटबल संघमा आबद्ध १० वटा क्लबहरूको सहभागिता थियो ।
प्रतियोगितामा प्रथम हुने केएफसी टिमले धरानमा सञ्चालन हुने मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ ।


प्रतिकृया दिनुहोस