कागती खेतीका पौरखी अन्जित
दाङ । तीन वर्ष जति निल काटा र साैजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगरमा अहिले हिरयाली छाएको छ ।
हरियो बोटमा लटरम्म फलेको कागती छ । दुई वर्षको अन्तरालमा अहिले त्यहाँ पुग्ने मानिस झुक्किन्छन् र त्यही ठाउँ हो कि होइन भनेर यताउता हेर्न थाल्छन् । उनीहरुको ध्यान हरियालीले मात्र होइन लटरम्म फलेका कागतीले पनि तान्न थाल्छ ।
बाटो हिँड्ने मात्र होइन कि यतिखेर त्यहाँका गाउँले पनि बारम्बार कागती खेती हेर्न पुग्ने गरेका छन् ।
गढवा गाउँपालिका–३ गोबरडिहाका ३२ वर्षीय अन्जित चौधरीले व्यावसायिक रुपमा गरेको उन्नत जातको कागती खेतीले उनको जीवन राम्ररी चलेको मात्र होइन यस स्थानकै शोभा पनि बढाइदिएको छ । उनले डिएण्डके सिट्स कृषि फार्म खोलेर व्यावसायिक रुपमा उन्नत जातको कागती खेती गर्न थालेका हुन् ।
विसं २०७४ मा १० बिघा जमीन २५ वर्षका लागि भाडामा लिएर शुरुमा रु २० लाख लगानी गरी व्यावसायिक रुपमा उन्नत जातको कागती खेती थालेको कृषक चौधरी बताउछन् । उनले १० बिगा जमीनमध्ये साढे छ बिघामा कागती खेती गरेका छन् भने अन्य जमीनमा रेशम खेती छ ।
धनकुटामा रहेको वनस्पति उद्यानबाट ‘सुन कागती–१’ र ‘सुन कागती–२’ नामका उन्नत जातको तीन हजार कागतीका बिरुवा खरीद गरी खेती थालेको उनको भनाइ छ ।
सो जग्गाको वार्षिक रु दुई लाख भाडा तिर्नुहुने उनले अहिले दुई जनालाई पूर्णरुपमा र सात जनालाई आंशिकरुपमा रोजगारी दिइरहेका छन् । उनी भन्छन्, “दुई वर्ष भयो बिरुवा रोपेको एक वर्षमा नै फल्न थाले पनि शुरुको वर्षका अधिकांश दाना झरेर गए ।
फल धेरै लाग्ने तर बोट साना भएकाले असर गर्ने हुँदा आम्दानी भएन । यसपटक भने कागतीको राम्रो आम्दानी हुन्छ भन्ने आशमा छु ।”
“बाबुबाजेले धान, मकै, गहुँखती गर्नुभयो र कृषि क्षेत्रमा नै रमाएर बस्नुभयो तर मैले अहिले क्याम्पसमा पढ्दै यो पेशा रोजेको हूँ,” उनी भन्छन्, सफल हुन्छु भन्ने आशा पनि छ तर खेती फष्टाउन, सिँचाइ र रोग लागेमा कागतीलाई कसरी बचाउने भन्ने चिन्ता छ”।
–रासस


प्रतिकृया दिनुहोस