उप-मेयर कप महिला फुटबल: विराटनगर च्याम्पियन
काठमाडौं । पहिलो संस्करणको उप-मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले जितेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को खेल मैदानमा बिहीबार भएको फाइनलमा उपाधि बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै विराटनगर च्याम्पियन बनेको हो ।
खेलको निर्धारित समयमा दुवै टिमले एक-एक गोलको बराबरी खेले । विराटनगरका लागि जमुना मगर र बाह्रबिसेका लागि सम्झना लावतीले गोल गरेका थिए ।
निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
पेनाल्टी सुटआउटमा विराटनगरकी रेखा पौडेल, ईमा राई, बिध्या राना र मनमाया लिम्बुले गोल गरिन् । बाह्रबिसेका लागि रुबिना पहरीले मात्र गोल गरिन् ।
उपाधिसंगै विराटनगरले ५ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता बाह्रबिसेले ३ लाख पायो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेकी विराटनगरकी रेखा पौडेलले २५ हजार नगदसहित ट्रफी हात पारिन् ।
प्रतियोगीतामा विरानगरकी कल्पना कार्की उत्कृष्ट गोलकिपर बनिन् । उत्कृष्ट प्रशिक्षक विराटनगरका पारस चौधरी बने ।
यसैगरी बाह्रबिसेकी सरिता शेर्पा उत्कृष्ट डिफेन्डर, बाह्रबिसेकी रजनी श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र बाह्रबिसेकै पार्वती घले उत्कृष्ट फरवार्ड घोषित भए ।
उनीहरु सबै जनाले समान १०—१० हजार पाए । प्रतियोगितामा १८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिकृया दिनुहोस