• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

जसले पासपोर्ट त्यागेर कुटो कोदालो समाए (भिडियाेसहित)

विकास अधिकारी

विकास अधिकारी

‘म अमेरिकाको भिसा लागे पनि देश छाडेर विदेश जान्नँ’, यसो भन्छन् गौरव अधिकारी । गौरव अहिले २३ वर्षका भए । अमेरिका जान्न भन्ने गौरव के काम गर्छन् थाहा छ ? सात रोपनी जग्गामा तरकारी खेती गरेका छन्, कुखुरा पालेका छन् ।

‘मेरो यो तरकारीबारी अमेरिकाको भिसाभन्दा धेरै गुणा ठूलो हो’, गौरव भन्छन् ।

ऋणको सट्टा उपदेश

तीन वर्षअघि हातमा पासपोर्ट बोकेर काठमाडौंका म्यानपावरहरुको चक्कर काट्न थालेका थिए गौरवले । विदेश उड्न चाहिने रकम साथमा थिएन, तैपनि विदेश मोहले उनी रन्थनिएका थिए ।

प्लस टु गरिसकेपछि काठमाडौं आएर विदेश उड्न भौंतारिन थालेका थिए । खर्चको जोहो गर्न उनले काकालाई गुहारे । ऋण मागे । काका बद्रीराम अधिकारीले ऋण होइन उपदेश पो दिए । 

तर, उपदेश होइन ऋण चाहिएको थियो गौरवलाई । जानु थियो दुबई । उपदेश सुनेर निराश बने । तर, काकाको उपदेशले क्रमशः उनको हृदय परिवर्तन गर्न थाल्यो । काकाले बारम्बार भनेका थिए- ‘बल र बै‌ंस भइन्जेल मात्र विदेश हो, त्यसपछि स्वदेश फर्कन परिहाल्छ । स्वदेशमै दुःख गरे सधैंका लागि जीवन बन्छ ।’ 

गौरवको घर नुवाकोटको सूर्यगढी गाउँपालिकाको वागेश्वरी हो । काकाको उपदेशपछि उनले विदेश नजाने निर्णय गरे । के गर्ने त ? अठोट गरे- स्वदेशमै दस नंग्रा खियाउने । 

त्यसपछि गौरव र काका डुल्नसम्म डुले । विदेश उड्नलाई नभएर स्वदेशमै केही गर्ने उपाय खोज्नलाई ।

राजेन्द्रले पनि त्यही भने

स्वदेशमै केही गर्ने उपाय खोज्दै जाँदा उनले राजेन्द्र खनाललाई सम्झिए । राजेन्द्र राम्रा गाईपालक बनिसकेका थिए । गौरवले नै राजेन्द्रलाई काठमाडौंको टोखामा गाई पाल्नका लागि भाडामा जग्गा खोज्न सहयोग गरेका थिए । 

गाैरव राजेन्द्रसँग सल्लाह गर्न गए । राजेन्द्रको सल्लाह थियो- खेती गर ।

यी उनै राजेन्द्र हुन् जो पोल्यान्ड जाने मौका छाडेर गाईपालनमा लागेका थिए । जसको बारेमा सनराइज खबरमा पहिले नै प्रकाशित भइसकेको छ । अहिले प्रसिद्ध र देशकै उदाहरणीय गाईपालक बनिसकेका छन् राजेन्द्र । त्यसबेला राजेन्द्र संघर्ष गर्दै थिए । राजेन्द्रको गाई फार्म देखेपछि गौरवको निर्णय अठोटमा बदलियो । विदेश जान्नँ, स्वदेशमै केही गर्छु भन्ने भावना झन् दृढ भयो ।

त्यसपछि गौरवले राजेन्द्रको गाई फार्म नजिकै सात रोपनी जग्गा भाडामा लिए । पौरख गर्न अर्थात् खेती गर्न थाले ।

तरकारीदेखि कुखुरासम्म

त्यसबेला २१ वर्ष मात्र पुगेका थिए गौरव । अहिले २३ वर्षका भएका छन् । सात रोपनी जग्गामा गौरवले पसिना बगाउन थाले । साग, बोडी, सिमी, काउली, बन्दा, धनिया, गोलभेँडा रोप्न थाले । 

व्यावसायिक तरकारी खेती कसरी गर्ने केही थाहा थिएन । तैपनि भिडेर लागे । मज्जाले तरकारी फल्न थाल्यो । सपना साकार हुन थाल्यो । विदेश नगएर स्वदेशमै केही गर्छु भन्ने अठोटले आकार लिन थाल्यो । 

त्यसपछि उनले कुखुरा पनि पाल्ने विचार गरे । उनले लोकल कुखुरामा सम्भावना देखे । सात रोपनी जग्गाभित्रै सानो खोर बनाएर कुखुरा पाल्न थाले । सुली (कुखुराकाे दिसा) मल बन्यो । तरकारी खेती झन् राम्रो भयो । 

हेर्दाहेर्दै गौरवले सात रोपनीलाई हराभरा बनाए । आफ्नो खेती देखाउँदै उनी ठट्टा गर्न थाले- ‘यो कृषि फर्म दुबई हो । अमेरिका बेलायत यही फार्म हो ।’

त्यो दर्दनाक दिन

सफल बन्न जोश जाँगर चाहिन्छ । अनि, सफलताले जोश जाँगर बढाइदिन्छ । गौरवलाई यस्तै भयो । रातदिन बारीमा काम गर्न थाले । भन्छन्- ‘लखतरान भएर थाक्दा पनि आनन्द हुन थालेको थियो ।’ 

तरकारी खेती थालेको एक बर्ष पुग्दै थियो । सफलता नै सफलता मिल्दै थियो । त्यसबेला गौरवलाई थाहा थिएन- सफलता र असफलता एउटै सिक्काको दुई पाटा हो भनेर । 

गौरवको सफलता मात्र देखिँदै थियो, असफलता पनि आइलाग्यो । 

दोस्रो सिजनका लागि बिरुवा लगाएका थिए । एकदिन बारीको काम सकेर थकाइ मार्दै थिए । एक्कासी आँधी आयो, असिना पानी पर्‍याे । गौरव भन्छन्- ‘मैले हेर्दाहेर्दै  आँधीले तरकारी खेती स्वाहा बनायो । ठूलो आर्थिक नोक्सानी भयो ।’

भन्छन्- ‘कुखुराको खोर पनि आँधीले भत्कायो, छाना उडायो ।’

उन्नति पथमा लम्कँदै गरेको बेला गौरवलाई पहिलो झड्का लाग्यो ।

दोस्रो झड्का

गौरवले हार मानेनन् । फेरि बिरुवा लगाए, तरकारी खेती हराभरा हुन थालेको थियो । फेरि अर्काे झड्का लाग्यो । वास्तवमा त्यो झड्का मात्र थिएन, बज्रपात नै थियो । 

त्यो दिन सम्झँदै भन्छन्- ‘फेरि हावाहुरी आयो । पहिलेको भन्दा ठूलो थियो हुरी । सबै टनेलको प्लास्टिक उडाएर लग्यो । तरकारी बारी ध्वस्त पार्‍याे ।’

रातभर निदाउन सकेनन् ।

भोलिपल्टको बिहानीले अर्काे विपत्तिको प्रतीक्षा गरिरहेको गौरवलाई के थाहा ? बिहान उठ्दा लोकल कुखुरा र चल्ला स्वाहा भएका थिए । अघिल्लो दिनको हुरीबाट जोगिएका कुखुरा स्यालको सिकार बनेछन् । 

खोरमा स्याल पसेछ । धेरै कुखुरा खाएछ, चल्ला मारेछ ।

अब चाहिँ गौरव पराजित भए, हारे । अब कहिल्यै खेती गर्दिनँ भन्दै एकजना साथीलाई फर्म जिम्मा लगाएर घर नुवाकोट गए ।

घर पुग्दा

घर जाँदा उनले बाटोमा सोचे- विदेश नै जानुपर्छ । पहिल्यै विदेश नउडेकोमा पछुतो लाग्न थाल्यो । घर पुगेर बाआमाको चाउरी परेका गाला देखे । खेतीपाती गरेर पट्पट् फुटेका हात गोडा देखे, तैपनि खेतीपातीमै बाआमा तल्लीन भएर लागेको देखे ।

गौरवले सम्झे- म सबल छु । हात गोडा बलिया छन् । यस्ता बाआमालाई छाडेर विदेश जान्नँ ।

गौरवले विदेश जाने विचार फेरि त्यागे । त्यसपछि टोखाको फर्ममै मेहेनत गर्छु भन्दै फर्किए । फेरि दस नंग्रा खियाउन थाले, पसिना बगाउन थाले । त्यसपछि गौरवको दिन फर्कियो । माटोले गौरवलाई माया गर्‍याे । गौरवले पनि माटोलाई माया गरे । उत्पादन राम्रो हुन लाग्यो । गौरवको जीवनमा फेरि आशाको किरण देखिन थाल्यो ।

अब साथीहरु पनि

गौरवको फर्ममा हिजोआज हरियाली छ । राम्रो आम्दानी गर्छन् । फलेको तरकारी बेच्न बजार लैजानु परेको छैन । ठाउँको ठाउँ बिक्री हुन्छ । उत्पादन गरेर भ्याइनभ्याई छ । तीन जनालाई रोजगारी दिएका छन् । 

खोरभरि लोकल कुखुरा छन् । मनग्ये फाइदा गरिरहेका छन् । टोखाको भाडामा लिइएको सात रोपनी जग्गामा गौरवले भविष्य बनाइरहेछन्, उदाहरणीय काम गरिरहेछन् । वास्तवमा गौरवले तरकारी फलाउने र कुखुरा हुर्काउने काम मात्र गरिरहेका छैनन्, सरकारको समृद्ध नेपाल सुखी नेपाली अभियानलाई पनि काँध थापिरहेछन् ।

गर्वसाथ गौरव भन्छन्- ‘मैले यो सात रोपनीमा अमेरिका, लन्डन, दुबई सबै सिर्जना गरेको छु । म जस्ता युवाहरू सबैलाई यस्तै काम गर्न सुझाव दिन्छु ।’

उनलाई सबैभन्दा खुसी के कुराले दिन्छ ? भन्छन्– ‘विदेशिएका साथीहरुले स्वदेश फर्किएपछि खेती गर्छु, उपाय भनिदेऊ भन्छन् । उनीहरूले त्यसो भन्दा असाध्यै खुसी लाग्छ ।’

अन्त्यमा

हो, गौरवलाई अमेरिकाको भिसासँग पनि मतलब छैन तर उनको कमाइ भने त्यति धेरै छैन । भन्छन्- ‘तरकारी फार्म टिकाउन संघर्ष गरिरहेको छु । यो फार्म टिकाउन सकें भने म विदेश जान्छु तर आफ्नै खर्चमा घुम्न मात्र ।’

गौरवसँग सपना छ, सपना पूरा गर्ने जाँगर छ । सपना र जाँगर दुवै भएका यस्ता युवाले मात्र भन्न सक्छ- ‘म विदेश जान्नँ, यहीँ केही गरेर देखाउँछु ।’ 

प्रतिकृया दिनुहोस