प्रदेश सरकारका काम हेर्न गाउँ जानुस् : कैलाशप्रसाद ढुंगेल
काठमाडौं । देशलाई कोरोना महामारीले आक्रान्त बनाएको छ । काेराेनाबाहेक अरू साेच्ने अवस्था छैन । यस्तो बेला सरकारका काम प्रभावकारी भएनन् भनेर आलोचना भइरहेका छन् ।
कोरोना कहरमा प्रदेश सरकारको त कामै देखिएन भन्ने कोणबाट पनि कुरा उठ्न थालेका छन् । के साँच्चै प्रदेश सरकारको काम नै छैन त ? कोरोना रोकथाम र नियन्त्रणमा प्रदेश सरकारले केही काम नै गरेको छैन त ?
कोरोना कहरमा प्रदेश सरकार के गरिरहेको छ ? यही विषयमा केन्द्रित रहेर वाग्मती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला एवं योजना मन्त्री कैलाशप्रसाद ढुंगेलसँग सनराइज खबरले फोन संवाद गरेको छ । साे कुराकानीकाे सम्पादित अंश :
अहिलेको कोरोना संक्रमणलाई प्रदेश सरकारले कसरी हेरिरहेको छ ?
कोरोना संसारभरिको महामारी हो । यसविरुद्ध सिंगाे विश्व लडिरहेको छ । यो विश्व युद्ध जस्तै भएको छ । कोरोनाको प्रभाव हाम्रो देशमा मात्रै होइन विश्वमा नै परेको छ । अझै पनि अन्य विकसित देशमा भन्दा हाम्रोमा केही कम नै छ ।
व्यवस्थापन राम्रो भएन, ध्यान पुगेन भन्ने जुन कुरा भनिएको छ त्यो गलत हो । आर्थिक, विज्ञान प्रविधिमा विकास भएको हिसाबले अति शक्तिशाली भनिएका मुलुक समेत अहिले थला परेको अवस्था छ । हामी सीमित साधन, स्रोत, प्रविधि र जनशक्ति बीचबाट कोरोनासँग लडिरहेका छौँ ।
अमेरिका जस्तो मुलुकले कोरोनासँग घुँडा टेकेको अवस्था छ । युरोपीयन मुलुकको अवस्था त्यस्तै छ । सबै चिजले सम्पन्न भएका विकसित मुलुक समेत लथालिंग भएको अवस्थामा छन् । हाम्रै छिमेकी मुलक भारत आक्रान्त छ ।
धन्न नेपालको मौलिकपना, मौलिक खान्की, मौलिक शैली, मौलिक बसोबास, मौलिक संस्कार र संस्कृतिले हामीलाई बचाई राखेको छ । त्यसैले पनि होला हाम्रो मृत्युदर केही कम छ । छरिएको बसाइले पनि ग्रामिण क्षेत्रमा कोरोनाको फैलावटलाई रोक्न सहयोग पुग्छ भन्ने अपेक्षा गरिएको छ ।
कोरोनाले विकासका काममा कत्तिको प्रभाव पारेको छ ?
विश्वव्यापि महामारी भएकोले यसले विकास निर्माणको काममा प्रभाव पार्नु स्वभाविक नै हो । यसले विकास निर्माणको काममा प्रभाव पारेको छ । सरकारले बनाएको योजना अनुसार काम हुन नसकेको अवस्था छ । बजेट कार्यान्वयनमा समस्या छ । मानिस बाहिर निस्किएर खुल्ला रुपमा सहज तरिकाले काम गर्न सक्ने अवस्था छैन । यसले गर्दा विकास योजना र बजेट प्रभावित हुनु स्वभाविक हो । त्यसमा प्रभाव पारेको छ । तर सुरक्षा मापदण्डको प्रयोग गरी केही काम भइरहेका छन् । तर जुन गतिमा काम हुनु पर्ने हो, त्यो हुन सकेको छैन ।
कोरोना नियन्त्रणका लागि वाग्मती प्रदेश सरकारले चाहीँ के गरिरहेको छ ?
प्रदेश सरकारले विशेषगरी उपत्यका बाहिरका १० जिल्लामा अस्पतालको सुधारको काम गरेको छ । त्यसमा पनि कोभिडलाई लक्षित गरेर काम भएका छन् । साधन स्रोत पठाइएको छ । गाडी पठाएका छौँ । अन्य सामान पठाएका छौँ । भौतिक पूर्वाधार निर्माणका काम भएका छन् । एक्सरे मेसिन लगायत अन्य उपचारका साधन पठाएका छौ । कोरोना परीक्षण गर्ने साधन स्रोत पठाएका छौँ ।
अस्पतालको स्तर वृद्धि गरिएको छ । बेड संख्या बढाइएको छ । आम परिचालनमा केन्द्र, प्रदेश र स्थानीय सरकार संयुक्त रुपमा लागि रहेका छौँ । जसले गर्दा महामारी नियन्त्रणमा सहयोग पुगिरहेको छ ।
उपत्यकाभित्र चाहीँ प्रदेश सरकारले के गरिरहेको छ ?
उपत्यकाभित्र पनि प्रदेश सरकारले गर्दै नगरेको होइन । उपत्यका भित्रभन्दा बाहिर धेरै काम प्रदेश सरकारले गरेको छ । उपत्यका संघीय राजधानी पनि भएकाले केन्द्र सरकारको पनि त्यहाँ ध्यान पुगेको छ । त्यहाँका स्थानीय सरकार आफै पनि आर्थिक, भौतिक र जनशक्तिको हिसाबले बाहिरका भन्दा बलिया छन् । ठूला ठूला अस्पताल छन् । त्यहाँ स्रोत साधन पनि बढी नै छ । त्यसैले तुलनात्मक रुपमा उपत्यका भित्र भन्दा बाहिर हामीले अलि बढि हेरेका छौँ । उपत्यकामा पनि हामीले विभिन्न खालका सहयोग गरेका छौँ । अझै आवश्यक पर्दा गर्छौैँ ।
जनताले केही पाएका छैनन् भन्ने गुनासो आइरहेका छन् त ?
तीनवटै तहका सरकार मिलेर काम गरिरहेका छन् । यस्तो अवस्थामा पनि जनताले केही पाएका छैनन्, केही भएको छैन भनेर भन्ने हो भने के पाउनु पर्दथ्यो त ? यति बेला यस्तो असहज अवस्थामा सरकारले के दिनु पर्दथ्यो ? यस्ता खालका अमूर्त कुरा गरेर सरकारलाई आलोचना गर्ने काम भएका छन् । महामारीको रुपमा आएको छ, यसलाई रोक्न लकडाउन गर्नुपर्छ भन्यो भने जुलुश गर्न पाउनुपर्छ भनेर जुलुश गर्ने । अलिकति खुकुलो बनाउँन त भन्यो भने किन खुकुलो बनाएको भनेर विरोध नै गर्ने यो कस्तो परिपाटी हो ?
गर्न पनि नदिने जस पनि नदिने खालको एउटा जमात नेपालमा छ । त्यसको आड र आवरणमा केही पत्रकार समेत सरकारको विरोधमा लागेका छन् । केही मिडिया सरकारले केही गरेन, सिन्को पनि भाँचेन भनेर लागेका छन् । त्यस्ता मिडियालाई विकास र सरकारले गरेको काम हेर्न रामेछाप, सिन्धुली, दोलखा सिन्धुपाल्चोक, रसुवा लगायत काठमाडौं उपत्यका बाहिरका जिल्लामा जान मेरो सुझाव छ ।
त्यसो गर्नुभयो भने प्रदेश सरकारले स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रमा गरेको काम देख्नुहुन्छ । पत्रकार काठमाडौंबाट बाहिर निस्कनुपर्याे । हामीले सिन्धुलीमा एक सय सैयाको कोभिड अस्पताल बनाउँदै छौँ । रामेछापको अस्पतालमा उपकरण र क्षमता थप गरेका छौँ । एउटा सामान्य एक्सरे मेसिन समेत नभएका जिल्लाका अस्पताललाई सुविधा सम्पन्न गराएका छौँ । त्यसले कोरोनाको बेलामा मात्र होइन पछिसम्म उपचारको लागि सहयोग पुग्छ ।
अन्य उपचारको लागि त हामी स्रोत साधन पुर्याउँदै छौँ भने कोरोनालाई लक्षित गरेर काम नगर्ने कुरै भएन । आवश्यक पर्याे, अझ असजिलो अवस्था आयो भने विकासको लागि छुट्याएको रकम पनि हामी कोरोना उपचार र व्यवस्थापनमा खर्च गर्छौ । हामी चुप लागेर बसेका छैनौँ । सरकार सुतेर बसेको छैन । केही मान्छे सरकार के हेरेर बसेको छ भन्छन् । सरकार हेरिरहेको छ । आवश्यकता, क्षमता र औकात अनुसार सरकारले गर्नुपर्ने सबै काम गर्छ । नागरिकलाई बचाउन सरकार जस्तो सुकै भुमरीमा पस्न पनि तयार छ ।
कोरोना संक्रमितकाे उपचार बाहेक, कोरोनाका कारण रोजगारी गुमाएका र आर्थिक हिसाबले अप्ठेरोमा परेकाहरूबारे के सोच्नुभएकाे छ ?
कोरोनाबाट प्रभावित भएका मानिसको आर्थिक विकासका लागि सरकारले छुट्टै कार्यक्रम ल्याएको छ । स्थानीय स्रोत र साधनमा आधारित स्वरोजगार कार्यक्रमका लागि हामीले बजेट छुट्याएका छौँ । कृषि क्षेत्र र स्थानीय स्रोतमा आधारित उद्योग जस्तै नाङ्लो, डालो, डोको, थुन्से, नाम्लो, दाम्लो, ठेकी, घरेलु हस्तकलाका उत्पादन, कपडा बुन्ने यस्ता चिजमा प्रदेश सरकारले बजेट छुट्याएको छ । यस्ता कामका लागि सस्तो ब्याजमा ऋण दिने कार्यक्रम छ । यसले रोजगारी सिर्जनामा काम गर्दछ ।
त्यस्तै पशुपालनमा पनि हाम्रो सहयोग छ । एक लिटर दूध उत्पादन गर्ने किसानलाई सरकारले दुई रुपैँया प्रोत्साहन रकम दिन्छ । त्यस्तै पशुपालनका अन्य क्षेत्रमा पनि प्रदेश सरकारको सहयोगका कार्यक्रम छन् । यसैगरी फलफूल उत्पादनमा पनि सरकारले अनुदान दिने कार्यक्रम ल्याएको छ । किसानले उत्पादन गरेका फलफूल भण्डारणको लागि भण्डार गृह निर्माणका काम सुरु भएका छन् । उत्पादन क्षेत्रको आधारमा कृषि उत्पादनका पकेट क्षेत्र घोषणा गरी आवश्यक सहयोग र अनुदानको प्रवन्ध मिलाएका छौँ । क्षेत्र अनुसार भुईँमा जे हुन्छ, त्यो काम गर्ने किसानलाई सहयोग गर्ने कार्यक्रम प्रदेश सरकारसँग छ ।
तै पनि सरकारले केही गरेन भनेर आलोचना चाहीँ किन भयाे त ?
सरकारले यति धेरै काम गरेको छ, त्यसको सकारात्मक प्रचारको काम भएन । सरकारको कामको समीक्षा गरी सकारात्मक सुझाव र समालोचना गर्ने काम भएको छैन । केही मानिस आँखा चिम्लिएर सरकारको विरोध गरेका गरेकै छन् ।
कतिपय पत्रकार काठमाडौंको मिनभवन र न्यूरोडको वरिपरि घुम्ने अनि सरकारले केही गरेन भनेर आलोचना गर्ने बानी परेका छन् । न्यूरोड र मिनभवनको वरिपरि घुम्ने मान्छेलाई पत्रकारले के छ सरकारको हालचाल भनेर सोध्दो रहेछ, खै मलाई थाहा छैन भनिदिँदो रहेछ । अनि त्यही अवधारणा बनाएर सरकारको आलोचना गर्ने काम भएको छ । यो सबै गतिविधि हेर्दा सरकारको विरोध गर्न कतै भाडाका मान्छे त प्रयोग गरिएको छैन जस्तो लाग्छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
नेपालको राजनीति अहिले फरक कोर्सबाट अघि बढेको छ, संविधान संशोधन गरेरै जानुपर्छ : वर्षमान पुन
-
राष्ट्रिय सभा आदिवासी जनजातिमैत्री छैन ः राम बहादुर थापा मगर
-
पहिचानकाे आधारमा नामकरण गरेमा मात्र केही हुँदैन, प्राप्त उपलब्धी उपयोग गरौं: ओम घर्तीमगर
-
जलवायु परिवर्तनले माटोको अवस्था कमजोर बनाउँदै लगेको छ: गणेश पौडेल


प्रतिकृया दिनुहोस