• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

मुखलाई थुतुनो नबनाऊ

सनराइज खबर स‌ंवाददाता

प्रश्न– सांसदले कस्तो आचरण गर्नुपर्छ ? 

उत्तर– संसदीय आचरण गर्नुपर्छ । 

प्रश्न– सांसदको अभिव्यक्ति कस्तो हुनुपर्छ ? 

उत्तर– संसदीय मर्यादा अनुकूल हुनुपर्छ । 

यो प्रश्नोत्तरमा मूलत दुई शब्दावली छ जसको महान महिमा छ– ‘संसदीय आचरण’ र ‘संसदीय मर्यादा’ । यी दुई शब्दावलीले कुनै पनि देशको संसद्को मात्र नभएर लोकतन्त्रको समेत स्तर तथा अवस्था निर्धारण गर्छ । संसदीय आचरण र संसदीय मर्यादाको स्तरले कुनै पनि देश र समाजको स्तर पनि दर्शाउँछ । 

आजकाल हाम्रो संसदमा संसदीय गरिमा घटाउने किसिमका कार्यव्यवहार तथा बोलिवचन देखिन सुनिन थालेको छ । खासगरी केन्द्रीय संसदमा । नेपालसँग लामो संसदीय परम्परा छ । २०१६ सालबाट सुरु भएको नेपालको संसदीय अभ्याश बीचमा अवरुद्ध हुन पुग्यो । तथापि, पञ्चायतकालीन राष्ट्रिय पञ्चायत पनि एक प्रकारको जनप्रतिनिधिमूलक संस्था थियो । त्यहाँ पनि सार्वजनिक नैतिकतामा बाँधिएर छलफल हुन्थ्यो । 

२०४७ सालबाट नेपालमा लगभग अविच्छिन्न संसदीय अभ्याश चलिरहेछ । बीचका उतारचढावलाई हिसाब नगर्ने हो भने नेपालको पछिल्लो संसदीय अभ्याश तीन दशकको भइसकेको छ । यो तीन दशकमा देशले संसदीय अभ्याशका उच्चतम् र निचतम् अनेक रुप देखिसकेको छ । समाज तथा संसदले निरन्तरता दिने भनेको उच्चतम् रुपलाई नै हो ।

संसदीय अभ्याशको जग हो संसदीय मर्यादा र संसदीय अभिव्यक्ति । संसद् भनेको छलफल गर्ने थलो हो । छलफल मर्यादित् र संयमित हुनुपर्छ । संसदीय छलफल हेरेर समाजले पनि मर्यादा सिक्न सकुन् भन्ने ध्येय राखिनुपर्छ । संसद्मा निजी गालीगलौज वर्जित हुन्छ । संसदमा सभ्य समाजका बीच उभिएर बोल्न नमिल्ने कुनै पनि शब्द बोल्न हुँदैन । संसदीय छलफलमा आलोचना गर्दा पनि सम्मान र मर्यादासाथ गरिनुपर्छ । संसदीय छलफलमा दुराग्रह राखेर बोल्न हुँदैन । 

संसदीय मर्यादा भनेको के हो त ? एउटा सभ्य समाजमा सभ्य मानिसले जेजस्तो व्यवहार गर्छ, जेजस्तो अभिव्यक्ति दिन्छ त्यस्तै सभ्यता हो संसदीय मर्यादा भनेको । संसदीय मर्यादा भनेको खोजेर पत्ता लगाउनुपर्ने या आविष्कार गर्नुपर्ने चिजवस्तु होइन । एउटा मानिसको सभ्य, शिष्ट र शालिन व्यवहार नै संसदीय व्यवहार हो ।

तर, के हाम्रो संसदमा संसदीय व्यवहार भइरहेको छ ? संसदीय अभिव्यक्ति दिइँदै छ ? अवश्य छैन । सबै सांसदले मर्यादा तोडेका छन् भन्न हुँदैन, केहीले तोडेका छन् । केहीले मर्यादाविहिन बन्दा समग्र संसदकै शिर निहुरिने अवस्था आउने गरेको छ । केही दिन अघि प्रधानमन्त्रीलाई संसद (प्रतिनिधिसभा)मा बोल्न दिइएन, त्यसो गर्नु संसदीय मर्यादा विपरित थियो । प्रधानमन्त्रीलाई बोल्न नदिइनु ठूलो घटना थियो, संसदमा मर्यादाविहिन ससाना घटनाहरु सधैंजसो हुन थालेको छ । सत्तपक्षका सांसदले प्रतिपक्षी नेता शेरबहादुर देउवाको नाम बिगारेर बोलेको, विपक्षी दलका सांसदले सदनका नेता केपी शर्मा ओलीको नाम बिगारेर बोलेको समेत सुनियो । यस्तो अभिव्यक्ति दिनु भनेको मुखलाई थुतुनो बनाउनु हो । 

मर्यादाच्युत हुने सांसदलाई कारवाही गर्ने र सही बाटोमा ल्याउने जिम्मेवारी प्रतिनिधिसभामा सभामुखको र राष्ट्रिय सभामा अध्यक्षको हो । मर्यादाच्यूत अभिव्यक्तिका घटना राष्ट्रिय सभामा विरलै देखिएको छ तर प्रतिनिधि सभालाई भने गालीगलौजको अखडा बनाइँदै छ । प्रतिनिधिसभामा हुलहुज्जतका घटना समेत बेलाबखत हुने गरेका छन् । यस्ता घटनालाई बिर्सिएर छलफलमा देखिने गरेका अमर्यादाका मूलभूत प्रवृत्ति निम्न रुपमा औंल्याउन सकिन्छ –

– पढेर बोल्ने :– सामान्यतया सदनमा अभिव्यक्ति दिँदा लेखिएको कुरा पढ्न हुँदैन । नपढी नहुने अवस्थामा मात्र पढ्न पर्छ । सदनमा हुने छलफललाई प्राकृतिक र जीवन्त बनाउन लेखिएको कुरा पढ्न हुँदैन भनिएको हो । तर, नोट गरिएका सामग्री, उदाहरण र उद्धरण गर्न पर्दा पढ्न हुन्छ । पूरै भाषण पढेर गर्नु शोभनीय मानिँदैन । कनीकुथी पढ्नुभन्दा कनीकुथी बोल्नु राम्रो हो । विश्वभरीका संसदको चलन यही हो भन्ने सांसदहरुले हेक्का राख्नुपर्यो ।

– आक्रोशपूर्ण अभिव्यक्ति :- सदनमा अभिव्यक्ति राख्दा आक्रोशपूर्ण शैली प्रयोग गर्न हुँदैन । चिच्याई  चिच्याई बोल्न हुँदैन । तर, प्रतिनिधि सभामा चिच्याई चिच्याई भाषण गर्ने, आमसभा शैलीमा आक्रोशपूर्ण तरिकाले बोल्ने प्रवृत्ति बढ्दै गएको छ । सदनमा विरोध गर्दा पनि शान्त र शालिन शैली अपनाउनुपर्छ, सदन भनेको सभा त हो तर सार्वजनिक आमसभा होइन । ‘म बोल्दा सांसदहरुले ताली पिटुन्’ भन्ने सोच राखेर कतिपयले बोलेको देखिन्छ । सदनमा ताली खोज्नु भनेको अमर्यादित बन्नु हो भन्ने हेक्का सांसदहरुले राख्नुपर्यो ।

– लाञ्छनापूर्ण अभिव्यक्ति :– प्रतिनिधिसभाको छलफलको सबैभन्दा ठूलो समस्या लाञ्छनापूर्ण अभिव्यक्ति हो । विरोध गर्नु र लाञ्छनापूर्ण अभिव्यक्ति दिनु एकै होइन । आफू इतरका राजनीतिक दलका नेता तथा सांसदहरुलाई प्रत्यक्ष या परोक्ष ढंगले लाञ्छना लगाउनु संसदीय मर्यादा होइन । अरुलाई लाञ्छना लगाउँदा आनन्द मान्ने प्रवृत्ति कुनै अर्थमा लोकतान्त्रिक हुन सक्दैन । लाञ्छना लगाउँदा आफ्नो मर्यादा पनि बढ्दैन र सदनको मर्यादा पनि बढ्दैन भन्ने हेक्का सांसदहरुले राख्नुपर्यो ।

– प्रचारमुखी र सार्वजनिक खपतमा ध्यान :– संसद भनेको विवेकपूर्ण अभिव्यक्ति दिने ठाउँ हो । प्रचारप्रसारका लागि उग्र कुरा गर्ने, अतिवादी विचार राख्ने, सार्वजनिक खपतका लागि बोल्ने काम गर्न हुँदैन । विरोधीलाई सत्रुका रुपमा चित्रित गर्दै अभिव्यक्ति दिन हुँदैन । राजनीतिमा विरोधी भनेका सत्रु होइनन्, बरु भोलिका मित्र हुन् भन्ने भुल्न भएन । संसद भनेको जनतालाई भ्रमित पार्ने, गुमराहमा पार्ने थलो होइन भन्ने सबै सांसदले हेक्का राख्नुपर्यो ।

संसदलाई मर्यादाको केन्द्र बनाउन सबै सांसदले योगदान गर्न गम्भीर र विवेकशील हुनुपर्छ । संसदको गरिमा र मर्यादा गुम्नु भनेको जनताको मतको अवज्ञा हो । संसदको गरिमा बढ्यो भने मात्र लोकतन्त्र समृद्ध हुनसक्छ ।
 

प्रतिकृया दिनुहोस