• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

खुकुरी र यौनको क्लु : जसले सुल्झायो बडिखेल हत्याकाण्डको रहस्य

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । ०६० सालको दसैंको बेला ललितपुरको बडिखेलमा एकै परिवारका पाँच जनाको हत्या भयो । हत्याराले पाँचै जनालाई मुला काटे जसरी छपछपी काटेको थियो । अष्टमीको दिनको घटना थियो । त्यो वर्ष देशको दसैं नै खल्लो भयो । 

पति भानु र पत्नी धनकुमारी नगरकोटी, उनीहरुका आठ वर्षीय छोरी टुकुली, १० वर्षिय छोरी लुरी र १३ वर्षिया रवीन्द्र १६ असोज २०६० को रात मारिएका थिए । बिहान नगरकोटी परिवार नउठेको देखेपछि गाउँलेहरुले हत्या भएको थाहा पाएका थिए ।

गाउँको एउटा साधारण परिवारको यसरी हत्या गरिनुको कुनै कारण गाउँलेले देखिरहेका थिएनन्, प्रहरीले पनि केही भेउ पाउन सकेन । अपराध शास्त्रले भन्छ– अपराधीले घटनास्थलमा कुनै न कुनै दसी या सुराक छाडेको हुन्छ । तर, बडिखेल हत्याकाण्डमा विचित्र भयो । अपराधीले कुनै दसी छाडेको थिएन । 

जिम्मेवार प्रहरी अधिकारीहरुले ‘चाँडै हत्यारा पत्ता लाग्छ’ भन्ने रेडिमेड जवाफ दिएर समाजलाई आश्वस्त बनाइरहेका थिए । तर, भित्री कुरा बेग्लै थियो । हत्यारासम्म पुग्ने कुनै सुराक प्रहरीले फेला पारेको थिएन । पूरै प्रहरी संगठन वडिखेल हत्याकाण्डको अनुसन्धानमा केन्द्रीत थियो । प्रहरीले भएभरको शक्ति, बुद्धि र सामथ्र्य परिचालन गर्यो । तर, अपराधीको कुनै सुराक पाउन सकेन । 

दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो । र, वर्ष पनि बित्यो । 

१२ वर्षपछि 

वडिखेल हत्याकाण्डको १२ वर्षपछि ०७२ मा महानगरीय अपराध महाशाखामा प्रमुखका रुपमा सरुवा भएर एसएसपी सर्वेन्द्र खनाल गए । पहिलो दिन कार्यालय पुग्दा उनी खास योजना र संकल्प बोकेर पुगेका थिए । त्यो दिन सम्झँदै सर्वेन्द्र यसो भन्छन्– ‘म अपराध महाशाखा जानु अघि नै वडिखेल हत्याकाण्ड चर्चित थियो । पूरै प्रहरी संगठनका लागि सो हत्याकाण्डका अपराधी पत्ता लगाउनु ठूलो चुनौति पनि थियो । पहिलो दिन कार्यालय जाँदा बडीखेल हत्याकाण्ड सम्बन्धमा प्रकाशित लेख तथा समाचारहरुको पत्रपत्रिकाको कटिङ बोकेर गएको थिएँ ।’

यी उनै सर्वेन्द्र हुन् जो अहिले प्रहरी महानिरीक्षक छन् । (हेर्नुहोस् महानिरीक्षकसँगको संवाद भिडियोमा )

वडिखेल हत्याकाण्डको १२ वर्षपछि सर्वेन्द्रले महाशाखाको जिम्मेवारी समालेका थिए । १२ वर्षमा प्रहरीले दसवटा अनुसन्धान टोली तथा आयोग बनाइसकेको थियो । नेपाल प्रहरीले सर्वाधिक गहिरिएर गरेको अनुसन्धानमध्ये वडिखेल हत्याकाण्ड पनि हो । तर, कसै गरे पनि अपराधीको सुईंको प्रहरीले पाउन सकेन ।

सर्वेन्द्रले पूरै १२ वर्षको अध्ययन गरे । सबै फायल हेरे । उनले कार्यालय भित्र वडिखेल घटनाको अनुसन्धान गर्न अब केके गर्न सकिन्छ भनेर छलफल चलाए । यता छलफल चल्दै थियो, उता सर्वेन्द्रले सादा पोसाकमा अनुसन्धानका लागि एउटा टोली वडिखेल पठाइसकेका थिए । 

वडिखेल हत्याकाण्डबाट रहस्यको पर्दा खोल्न सक्छु भन्ने विश्वाश थियो सर्वेन्द्रलाई । त्यसको खास कारण पनि थियो । कारण के थियो त ? सर्वेन्द्रको भनाई यस्तो छ– ‘वाराको इटियाहीमा पनि वडिखेलकै जस्तो हत्याकाण्ड भएको थियो । एकै परिवारका पाँच जनाको हत्या भएको थियो । मैले त्यो घटनाको सफल अनुसन्धान गरेको थिएँ ।’

सर्वेन्द्रले आफूलाई सम्पूर्ण रुपमा वडिखेल हत्याकाण्डको अनुसन्धानमा केन्द्रीत गरिदिए ।

खुकुरीको सूत्र

१२ वर्षमा प्रहरीले बनाएका १० वटा अनुसन्धान टोलीको साझा निष्कर्ष थियो– हत्याकाण्ड सिर्फ एकजना व्यक्तिले गरेको हो । अर्काे निष्कर्ष थियो– चिनजानकै मानिसले हत्या गरेको हो । तर, साक्षी कोही थिएन, प्रमाण केही थिएन । अपराधी खोज्ने अरु कुनै आधार थिएन ।

यी दुई सूत्र पर्याप्त थिएन हत्यारा पत्ता लगाउन । थप सूत्र खोज्न सर्वेन्द्रले प्रयास गरे । १२ वर्ष अगाडिको घटनाका यावत पक्ष केलाए, १२ वर्ष बीचमा भएको अनुसन्धान सम्पूर्ण अध्ययन गरे । त्यसपछि सर्वेन्द्रले निष्कर्ष निकाले– हत्यारा जो भए पनि उ खुकुरी चलाउन, पशुपंक्षी काटमार गर्न सिपालु मानिस हो ।

सर्वेन्द्र भन्छन्– ‘एकै परिवारका पाँचजनाको विभत्स हत्या गर्ने मानिस खुकुरीसँग अभ्यश्त हुनुपर्छ भन्ने सोंच जाग्यो । त्यसबाट अनुसन्धान सुरु हुँदै गयो ।’ सर्वेन्द्रका अनुसार खुकुरीको कोणबाट अनुसन्धान गर्दा करिब तीन सय ५० जनासँग नजानिँदो पाराले सोधपुछ गरिएको थियो ।

यही कोणबाट अनुसन्धान सुरु भयो । वडिखेलमा टोली परिचालन गरेर सर्वेन्द्रले काटमार गर्न र खुकुरी खुँडा चलाउन सिपालु मानिसको खोजी गरे । यो खोजीले अनौठो पात्र तर्फ संकेत गर्यो । ती पात्र थिए चन्द्रबहादुर पहरी । गाउँमा कतै खसी राँगा काट्न पर्यो भने सबैले चन्द्रबहादुरलाई सम्झन्थे । एकै मारमा उनी राँगा समेत छिनाउँथे । मार हान्न चन्द्रबहादुर जति सिपालु वडिखेल क्षेत्रमा कोही थिएन ।

मृतक धनकुमारीका दाजु थिए चन्द्रबहादुर । बहिनी ज्वाईंसँग उनको मनमुटाव पनि थियो । चन्द्रबहादुर उपर विगतका अनुसन्धानले पनि सामान्य आशंका नगरेको होइन, तर, शंकालाई तथ्यले स्थापित गर्न सम्भव भएको थिएन । 

शंकाले खाएको लंका

खुकुरी खुँडा चलाउन सिपालु भएको आधारमा मात्र चन्द्रबहादुरलाई हत्यारा मान्न सकिँदैनथ्यो । सर्वेन्द्रका सामु अर्काे एउटा प्रश्न थियो– यति निर्ममतापूर्वक सिंगै परिवार सखाप पार्ने गरी हत्या गर्ने परिस्थिति र मनस्थिति किन आउँछ ? यो प्रश्नमा उनी घोत्लिए । उनले दुईटा जवाफ पाए– एउटा आर्थिक, अर्काे यौन ।

नगरकोटी परिवार मारिँदा उनीहरुको सम्पत्ति कसले पायो ? यसमा ध्यान केन्द्रीत गरे । यो कोणबाट हत्यारासम्म पुग्न सकेनन् । हत्याराले घरबाट कुनै सामान या रुपैयाँ पैसा लगेको थिएन । लुटपाटका लागि गरिएको हत्या होइन भन्ने पनि प्रष्ट थियो । 

अब बाँकी रह्यो यौन । यौन मामिलाको कोणबाट अनुसन्धान गर्न उनले टोली परिचालन गरे । एउटा अनौठो तथ्य देखियो । आफ्नी पत्नीलाई ‘आँखा लगाउने’ अर्थात् शंका गर्ने स्वभाव रहेछ चन्द्रबहादुरको । कतिसम्म भने ज्वाईं (भानु नगरकोटी) सँग पनि पत्नीको सम्बन्ध रहेको भन्दै चन्द्रबहादुरले आरोप लगाउने गरेका रहेछन् । 

चन्द्रबहादुरको शंकालु स्वभावबारे स्थानीयवासीले पूरै पुष्टि गरिदिए । ‘शंकाले लंका खाएको त होइन ?’ यही कोणबाट अनुसन्धान अगाडि बढाए सर्वेन्द्रले ।

त्यो रात र मदिरा

११ असोज ०६० मा चन्द्रबहादुरकी पत्नी र उनकी नन्द धनकुमारी नगरकोटी मदिरा सेवन गरेर बसेका थिए । खान बस्दा भनाभन भयो । चर्काचर्की भयो । झगडाले ठूलै रुप लियो । झगडा भएपछि चन्द्रबहादुर आइपुगे । आफ्नी पत्नीसँग झगडा गरेको भन्दै उनले बहिनी धनकुमारीलाई मार्ने धम्की समेत दिए । 

चन्द्रबहादुरले बहिनीलाई अर्काे धम्की पनि दिएका रहेछन्– ‘तँसँगै तेरो लोग्नेलाई पनि मारिदिन्छु ।’

निर्णायक क्षण

चन्दबहादुर नै हत्यारा हुन् भनी विभिन्न प्रहरी टोलीले १२ वर्षसम्म स्थापित गर्न नसकेको तथ्य सर्वेन्द्र र उनको टिमले स्थापित गरिसकेको थियो । अब निर्णायक क्षण आएको थियो– चन्द्रबहादुरलाई पक्रने ।

चन्द्रबहादुर वडिखेल छाडेर बसाईं सरिसकेका थिए । विगतका सबै अनुसन्धान टोलीले चन्द्रको वयान लिएको थियो । तर, विगतको वयान शंकाको घेरामा राखेर भन्दा जानकारी लिने उद्देश्यमा धेरै केन्द्रीत थियो । चन्द्रबहादुरलाई शंका गर्नु सजिलो पनि थिएन । किनभने हत्याकाण्डको बिहानै उनी ललितपुरको लेले गएका थिए मामाघरमा श्राद्ध गर्न । त्यहिँ उनले घटना थाहा पाएका थिए । बहिनी ज्वाईं र भान्जाभान्जीको दाहसंस्कार पनि चन्द्रले नै गरेका थिए । किरिया समेत चन्द्रले नै गरेका थिए ।

१२ वर्षसम्म हत्याकाण्डको रहस्यबाट पर्दा खुलेको थिएन । प्रहरीको क्षमतामाथि नै प्रश्न उठ्ने गरेको थियो । प्रहरीलाई पत्रकारहरुको निरन्तर एउटै प्रश्न हुन्थ्यो– ‘नगरकोटी परिवारका पाँच जनाको हत्या गर्ने अपराधी कहिले पत्ता लाग्छ ?’

प्रहरी नाजवाफ हुन्थ्यो । अब जवाफ भेटिन लागेको थियो । चन्द्रबहादुरलाई प्रहरीले सीधै पक्रियो । स्तब्ध भए उनी । चन्द्रबहादुरका अगाडि सर्वेन्द्रको टोलीले दर्जनौं प्रश्न राख्यो । दर्जनौं तथ्यहरु बतायो र भन्यो– ‘यो हत्या तिमीले गरेका हौ ।’

चन्द्रले हत्या गरेको स्वीकार गरे । स्वीकार नगरी सुखै थिएन । पापले चन्द्रलाई भतपती पोल्ने गरेको थियो  हत्याको यावत विवरण बताएपछि चन्द्रले भने– ‘मलाई जेल पठाइदिनुस्, यो पाप स्वीकार गर्दा मेरो मन हलुका भएको छ ।’

पटाक्षेप

पश्चाताप त चन्द्रलाई त्यही रात लागेको थियो । किनभने बहिनी र ज्वाईंको मात्र हत्या गर्न उनले चाहेका थिए । माथिल्लो तलामा गएर उनले ओछ्यानमा सुतिरहेका दुई जनालाई छप्काए । अनि मात्र थाहा पाए– उनीहरु बहिनी ज्वाईं थिएनन् । भान्जाभान्जी थिए । त्यसपछि तल्लो तलामा आए । त्यहाँ बहिनी ज्वाईं र सानी छोरी सुतिरहेका थिए । उनीहरु तीनैजनालाई छप्काएर चन्द्रबहादुर बाटो लागेका थिए । 

त्यो बाटो निकै लामो ठहरियो । त्यो बाटो हुँदै जेल पुग्न उनलाई १२ वर्ष लाग्यो । चन्द्रबहादुर जेलमा छन्, उनलाई जेल पुराउने सर्वेन्द्र खनाल अहिले प्रहरी महानिरीक्षक छन् । 


 

प्रतिकृया दिनुहोस