• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

संसद अवरोधले कांग्रेसलाई पनि फाइदा नभएको कांग्रेस सांसदको विचार

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधिसभा वैठकको जे गति भयो, राष्ट्रिय सभा वैठकको पनि त्यही दुर्गति भइरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा वैठक पनि अवरुद्ध गरेको छ । 

सोमवार राष्ट्रिय सभा वैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आआफ्नो ठाउँमा उभिएर अवरोध सुरु गरेका थिए । तत्काल अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कांग्रेस सांसद वद्री पाण्डेलाई बोल्न समय दिए । 

पाण्डेले जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सरकारले खारेज गर्ने निर्णय गरेको दावी गर्दै सो निर्णय नसच्याएसम्म वैठक चल्न नदिने घोषणा गरे । उनको भनाई थियो– ‘सरकारमा रहेकाहरुले मुखले एउटा कुरा गरेका छन्, व्यवहारमा अर्काे कुरा गरेका छन् ।’

उनले संसदमा गतिरोध हुँदा नेपाली कांग्रेसलाई पनि लाभ नभएको भन्दै आफ्नो पार्टी संसद प्रभावकारी बनोस् भन्ने पक्षमा रहेको बताए । उनले भने–‘यो विधेयक अधिवेशन हो, यसमा धेरैभन्दा धेरै विधेयक गर्न पाइयोस् भन्ने हाम्रो चाहना हो । विशेष समय र शून्य समयको उपयोग गरौं भन्ने हाम्रो चाहना हो । संसदलाई जीवन्त बनाउन चाहन्छौं तर सत्तापक्ष गम्भीर भएन ।’

पाण्डेले अगाडि भने–‘प्रतिनिधिसभामा बलजफ्ती विधेयक पारित भएको छ, त्यो विषय हामी यो सदनमा उठाउन चाहन्छौं । प्रधानमन्त्रीको स्वीजरल्याण्ड भ्रमणमा उब्जिएका अनेक प्रश्नहरु यो सदनमा उठाउन चाहन्छौं । संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी नेतालाई सहभागी नगरी विभिन्न नियुक्तिको निर्णय गरेको छ । यी सबै विषय उठाउन चाहन्छौं तर सत्तापक्ष गम्भीर देखिएन ।’

वैठक सुचारु भए होस्, नभए नहोस् तर पेलेर जाने रणनीतिमा सरकार देखिएको उनले जिकिर गरे । गोविन्द केसीसँग गरेको सम्झौता पालना नगरी प्रतिनिधिसभामा बलजफ्ती पारित गरिएको भन्दै उनले राष्ट्रिय सभाबाट सो विधेयक पारित गर्न नहुने बताए । 

डा. गोविन्द केसीको स्वास्थ्यसँगै सरकारको पनि स्वास्थ्य बिग्रँदै गएको दावी गर्दै उनले भने–‘नेपालमा शासन बदलिएको होइन, सरकार मात्र बदलिएको हो, यो कुरा सबैले बुझ्न जरुरी छ ।’
 

प्रतिकृया दिनुहोस