• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

यसकारण ओझेल पर्यटकीय गन्तव्य नुम्बुर क्षेत्र

नबराज पथिक

नबराज पथिक

काठमाडौं । पाँच पोखरी कहाँ पर्छ ? सबैले जवाफ दिन्छन्, सिन्धुपाल्चोकमा ।

पाँच पोखरी सिन्धुपाल्चोकमा मात्र हाेइन, रामेछापमा पनि छ । रामेछापमा सिन्धुपाल्चोकमा जस्तो एउटा पाँच पोखरी मात्र छैन, त्यहाँ त पोखरी नै पोखरी छन् । पाँच पोखरी जाँदा अन्य धेरै पोखरीको दर्शन र अवलोकन गर्न पाइन्छ ।

रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा यति धेरै हिम पोखरी छन् जसको उचित प्रचार हुन सकेको छैन । त्यसैले यी मनोरम हिमपोखरी ओझेलमा परेका छन् ।

रामेछापको नुम्बुर हिमाल क्षेत्रमा रहेका यी पोखरीमध्ये पाँच पोखरी र जटा पोखरीमा भने केही पर्यटक र तिर्थयात्री पुग्ने गर्छन् । अन्य पोखरीको न चर्चा छ, न मानिसहरु घुम्न नै पुग्दछन् ।

पाँचपोखरी जानका लागि दुईवटा बाटो छन् । एउटा बाटो गोकुलगंगा गाउँपालिकाको चचुरे शिवालयबाट गर्जाङ खहरे हुँदै जटा पोखरी निस्कन्छ । अर्को बाटो गोकुलगंगाकै चचुरेबाट बाम्ती देउराली निस्किएर उमाकुण्ड गाउँपालिकाको गुम्देल हुँदै निस्कन्छ ।

गुम्देलबाट जाँदा सो क्षेत्रका अन्य विभिन्न पोखरी घुमेर पाँच पोखरी र त्यस पछि जटापोखरी झरिने उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवाले बताउनुभयो । गर्जाङ खहरेबाट जाँदा भने पहिला जटापोखरी निस्किएर पाँचपोखरी पुगेपछि अन्य पोखरी जान सकिन्छ ।

सामान्यतया पाँचपोखरी जाने पर्यटक जटा पोखरी र पाँचपोखरी पुगेपछि त्यहीँबाट फर्कने गर्दछन् । सो क्षेत्रमा तीनै पोखरीको आसपासमा  जुम्ल्याहापोखरी, कालपोखरी, भुतपोखरी, बौलाहपोखरी, दूधपोखरी, रत्नपोखरी लगायत प्रकृति निर्मित हिम पोखरीहरु छन् ।

यी पोखरीमा जाडो महिनामा पानी जम्दछ । त्यसैले असारदेखि भदौसम्म यहाँ जाने उत्तम सिजन मानिन्छ । तर धेरै मानिस यी पोखरीमा पुग्दैनन् । समुद्री सतहबाट ४ हजार २ सय मिटर भन्दा माथिको उचाइमा यी पोखरी रहेका छन् ।

गोकुलगंगाको खहरेसम्म यातायात साधन गएपनि त्यहाँबाट पैदल यात्रा गरेर जानुपर्दछ । खहरेबाट एकदिनको पैदय यात्रापछि जटा पोखरी पुगिन्छ । त्यस पछि अन्य विभिन्न पोखरी सुरु हुन्छन् ।

जटा पोखरीको छेउसम्म सडक पुर्याउनको लागि अहिले काम भइरहेको गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग सुनुवारले बताउनुभयो । ‘त्यहाँसम्म सडक पुर्याउने र बस्नको लागि होटल वा होमस्टे व्यवस्था गर्ने गरी काम गर्दै छौँ’, उहाँले भन्नुभयो ।

यो क्षेत्र पर्यटकीय हिसाबले मात्र हैन धार्मिक हिसाबले पनि पवित्र तिर्थस्थल हो । हरेक वर्ष जनैपूर्णिमाको दिन जटा पोखरी र पाँच पोखरीमा मेला लाग्ने गर्दछ । जनैपूर्णिमाको दिन नुहाउन यहाँ रामेछाप, दोलखा, सिन्धुली, ओखलढुंगा, काभ्रे तथा तराईका जिल्लाबाट समेत मानिस आउने गर्छन् ।

यस वर्ष कोरोना महामारीबीचमा समेत यहाँ तिर्थयात्री आएका थिए । जनैपूर्णिमाको दिन पोखरीमा नुहाउने मानिसको भिड लागेको थियो ।

यो क्षेत्र जडिबुटीको हिसाबले पनि महत्वपूर्ण क्षेत्र हो । यहाँ यार्सागुम्बा, लोडसल्ला, सुनानापाति, विषमार, पाँचऔले, जटामसी, चिराइतो पाखनवेद, ठूलो ओखती लगायतका प्रशस्त जडिबुटी पाइन्छ । उच्चपहाडीदेखि हिमाली भेगमा पाइने जडिबुटी यहाँ पाइन्छ ।

त्यस्तै उच्च पहाडी र हिमाली भेगमा हुने चौँरी पनि यस क्षेत्रमा पाइन्छ । यस भेगमा जाँदा ठाउँठाउँमा चौँरी गोठ भेटिन्छन् । चाँैरी गोठमा चौँरीको ताजा दुध, दही, मोही तथा छुर्पी समेत खान पाइन्छ । अनि चौँरी गोठमा बसेर चौँरी गोठालाको न्यानो आतिथ्य सत्कार सहित चौँरीसँग चिसोमा रमाउन पनि पाइन्छ ।

गौरीशंकर आरक्षण क्षेत्र समेत रहेको यस क्षेत्रमा पछिल्लो समयमा केही आन्तरिक पर्यटकको वृद्धि भए पनि बाह्य पर्यटक भने अझै भित्रिएका छैनन् । आवश्यक पुर्वाधार र बाटोमा खानपानको उचित प्रवन्ध नभएकाले पनि वाह्य पर्यटक त्यति लोभिएका देखिदैनन् ।

यस क्षेत्रमा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण, उचित प्रचार गरी पदमार्ग विकास गर्न सकिने सम्भावना छ ।

गोकुलगंगाको गर्जाङ हुँदै खहरे निस्किएर पाँचपोखरीबाट विभिन्न पोखरी भ्रमण गरी उमाकुण्डको गुम्देलबाट सोसुसम्म जने पदमार्ग निर्माण गर्न सिकयो भने उच्च पहाडी तथा हिमाली भागको पदयात्राका लागि यो राम्रो मार्ग बन्छ । यो मार्गमा हिमाली दृश्यावलोकन, नदी, खोला, छरहरा, पोखरी, जंगल लगायत मनोरम आनन्द पनि लिन सक्छन् ।

 

प्रतिकृया दिनुहोस