राष्ट्रिय सभामा पनि उस्तै, अघि बढ्यो चिकित्सा शिक्षा विधेयक
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध बीच राष्ट्रिय सभाको वैठकमा चिकित्सा शिक्षा विधेयक टेबल भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयेललाई विधेयक टेबल गर्न अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समय दिनासाथ कांग्रेस सांसदहरुले अवरोध थालेका थिए ।
राष्ट्रिय सभाको वैठक आज तीनपटक बस्यो । पहिलो वैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरु उभिएर अवरोध थालेका थिए । त्यसपछि अध्यक्षले कांग्रेस सांसद वद्री पाण्डेलाई बोल्न समय दिएका थिए ।
त्यसपछि अध्यक्ष तिमिल्सिनाले १५ मिनेटका लागि वैठक स्थगित गरेका थिए ।
दोस्रो वैठकमा पनि कांग्रेस सांसदहरुले अवरोध थालेका थिए । अध्यक्षले सचिवलाई विधेयक टेबल गर्ने अनुमति दिएपछि कांग्रेस सांसदहरुले वेलमा आएर नारावाजी गरेका थिए ।
आजको वैठकको कार्ययूचीको एक नम्बरमा चिकित्सा शिक्षा टेबल गर्ने रहेको थियो । कार्यसूचीमा जम्मा पाँचवटा विषय थिए ।
दोस्रो वैठकमा अध्यक्षले कार्यसूचीका दुईदेखि पाँच नम्बर सम्मका बुँदालाई हटाएको घोषणा गरेका थिए । त्यसैगरी शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने कार्यक्रम पनि हटाइएको घोषणा गरेका थिए ।
कार्यसूचीका सबै विषय हटाइए पनि एउटा विषयमा भने वैठक प्रवेश गरिसकेको थियो । त्यो विषय थियो चिकित्सा शिक्षा विधेयक । किनभने सो विधेयक सचिवले वैठकमा टेबल गरिसकेका थिए । त्यसपछि मन्त्रीले विधेयक प्रस्तुत गर्ने प्रकृया स्वत सिर्जना भयो ।
तेस्रो वैठकमा धेरै बेर कांग्रेस सांसदहरुले मौन भएर उभिएर अवरोध गरे । त्यसबीचमा कांग्रेस सांसद राधेश्याम अधिकारीले मन्तव्य पनि राखे ।
अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेललाई प्रतिनिधिसभाबाट प्राप्त भएको चिकित्सा शिक्षा विधेमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिए । अध्यक्षले अनुमति दिनासाथ मन्त्री पोखरेल जुरुक्क उठेर रोष्ट्रमतर्फ लम्किए । कांग्रेस सांसदहरु पनि उनको बाटो छेक्न अगाडि बढे । त्यसअघि नै मर्यादापालकहरु अगाडि बढेर मन्त्री पोखरेल र कांग्रेस सांसदहरुको भेट नहोस् भनेर अगाडि बढिसकेका थिए । उनीहरुले छेकबार लगाए, मन्त्री पोखरेल रोष्ट्रममा पुगे, प्रस्ताव पेस गरे ।
त्यसपछि अध्यक्ष तिमिल्सिनाले विधेयक उपर सैद्धान्तिक छलफल सुरु हुने घोषणा गरे । तर, छलफलमा सहभागी हुन सांसदहरु कसैले पनि नाम लेखाएका थिएनन् । संसदमा छलफलमा बोल्न सांसदहरुले अगाडि नै नाम टिपाएको हुनुपर्छ ।
प्रतिपक्षी कांग्रेस सांसदहरुले वैठकमा अवरोध गर्नुपर्ने भएकाले नाम नलेखाएका हुन् । प्रतिनिधिसभामा विधेयक पारित गरिएको प्रकृयाप्रति नै असहमति भएकाले पनि उनीहरुले छलफलमा भाग लिन नाम नटिपाएका हुन् । सत्तापक्षका सांसदहरुले भने गतिरोधलाई ध्यानमा राखेर नाम नलेखाएर प्रकृया चाँडो अगाडि बढाउन छलफलमा सहभागी हुन नाम नलेखाएका हुन् ।
छलफलमा बोल्ने सांसद कोही नहुने भए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले छलफल समाप्त भएको घोषणा गरे । छलफल नै नभई अध्यक्षले ‘छलफल समाप्त भएको घोषणा’ गर्ने अवस्था संसदमा विगतमा पनि बारम्बार आइसकेको छ ।
छलफल समाप्त भएपछि अध्यक्ष तिमिल्सिनाले विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णायर्थ पेस गरे । त्यसबेला कांग्रेसका सांसदहरुले वेलमा उभिएर नारा लगाइरहेका थिए । अध्यक्षले ध्वनीमत लिने प्रकृया अगाडि बढाए । उनले प्रस्तावको पक्षमा हुनेले हुन्छ र हुन्न भन्नेले हुन्न भन्नु भने ।
राष्ट्रिय सभामा सत्तापक्षको बहुमत रहेको छ । सत्तापक्षका सांसदहरुले हुन्छ भने । अध्यक्ष तिमिल्सिनाले हुन्छ भन्नेको बहुमत भएकाले विचार गरियोस् भन्ने प्रस्ताव पारित गरिएको घोषणा गरे ।
त्यसपछि उनले विधेयकमा संशोधन राख्न चाहनेले संशोधन प्रस्ताव दर्ता गर्न समय दिइएको बताए । यस्तो समय ७२ घन्टा दिइन्छ ।
राष्ट्रिय सभाको अर्काे वैठक माघ १७ गते विहिबार बस्नेछ ।


प्रतिकृया दिनुहोस