• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भारत र पाकिस्तानले युद्धको क्षति व्यहोर्न सक्ने छैनन्

सनराइज खबर डेस्क

सनराइज खबर डेस्क

कुनै पनि युद्ध रहरले हुँदैन । रहरले त आक्रमण मात्र हुन्छ । आक्रमण युद्धमा परिणत हुन सक्छ । के भारत र पाकिस्तानबीच युद्ध हुन्छ ? यो प्रश्न विश्वव्यापी रुपमा उठिरहेछ । यसको जवाफ भविष्यको गर्भमा मात्र छ । भारत र पाकिस्तान बीचको सत्रुता सात दशक पूरानो हो । दुवैबीच युद्ध भइसकेको पनि छ, साना युद्ध पनि धेरै पटक भइसकेको छ । अहिले पनि एक प्रकारको सानो युद्ध चलिरहेछ । 

भारत र पाकिस्तानबीचको युद्ध दुई देशका लागि ठूलो जोखिमको विषय हो, जोखिमको आयाम विश्वव्यापी हुनसक्छ । युद्धबाट यी दुई देशका नेपाल जस्ता छिमेकी बढि नै प्रभावित हुनेछन् । आणविक हतियारले सुसज्जित यी दुई बीच युद्ध भएमा त्यसले दक्षिण एसियालाई आर्थिक, मानवीय तथा पर्यावरणीय रुपमा तहसनहस बनाउन सक्छ । युद्धका कारण सिर्जना हुने राजनीतिक संकट समेत सजिलै नियन्त्रणमा ल्याउन सकिने छैैन । 

भारत र पाकिस्तानबीच तनावको जरा दुई देशको विभाजनसँगै गासिएको छ । कश्मिर मामिलामा दुवै देश नराम्रोसँग फसेका छन् । वेलायतले जहाँजहाँ उपनिवेश त्याग्यो, त्यहाँत्यहाँ द्धन्दको बीऊ पनि रोपेर गयो । वेलायती उपनिवेशवादले कश्मिरमा पनि दुई देशबीच द्धन्दको रोपिदिएको तथ्यसँग दुवै देश परिचित छन् तैपनि शान्तिपूर्ण हल खोज्न सात दशकमा समेत सकेका छैनन् । 

शीत युद्धको समाप्तिसँगै विश्वमा इस्लामी कट्टरपन्थीहरु समस्याका रुपमा उदाए । इस्लामी कट्टरपन्थ पनि विगतका उपनिवेशवादीहरुकै उत्पादन थियो । इस्लामी कट्टरपन्थले आतंकवादको रुप धारण गर्यो र त्यस्तो आतंकवादले भारत तथा उसको कश्मिर राज्य ग्रस्त बन्यो । भारत र पाकिस्तानबीच अहिलेको तनावको पछिल्लो कारण आतंकवाद नै हो । कश्मिरमा आतंकवादीहरुले हमला गरे, जवाफमा पाकिस्तानमा आतंकवादीको अखडा रहेको भन्दै भारतले हवाई हमला गर्यो । 

पाकिस्तानले कश्मिरका पृथकतावादी समूहहरुलाई समर्थन दिइआएको तथ्य छिपेको छैन । त्यसैगरी पाकिस्तान समर्थित आतंकवादी पनि कश्मिरमा क्रियाशील छन् । भारतको राष्ट्रिय सुरक्षाका लागि कश्मिरी पृथकतावादी र आतंकवादी ठूलो खतरा बन्दै आइरहेका छन् । यसमा भारतलाई मर्का परेकै हो । तर, कुरा यतिमा मात्र सीमित छैन । कश्मिर समस्याको जरा निकै लामो छ । यो समस्याको सैन्य समाधान खोज्न दुवै देश पहिलेदेखि नै उद्यत रहँदै आएका छन्, मुख्य समस्या यो चाहिँ हो ।

समस्या न्यूनीकरण गर्ने पक्षमा दुवै देश नलाग्नु अहिले चिन्ताको विषय हो । दुई देशले तत्कालै कश्मिर समस्याको समाधान खोज्नुपर्छ भन्नु यथार्थबाट टाढा उभिनु हो । भारत र पाकिस्तानले तत्कालै कश्मिर समस्याको समाधान खोज्न सक्दैनन् । तर, अहिलेको तनाव न्यूनीकरण गर्न सक्छन् । दुवै देशले युद्धको आर्थिक भार बोक्न सजिलो हुने छैन । युद्ध महंगो हुन्छ । युद्धले गर्ने क्षति अकल्पनीय हुन्छ । फेरि युद्धमा हुने जित स्थायी हुन्छ भन्न पनि सकिन्न । त्यसैले तनाव न्यूनीकरण गर्नु नै दुवै देशका लागि बुद्धिमानी हुन्छ ।
 

प्रतिकृया दिनुहोस