यसरी गर्ने गोलभेंडा खेति, यसरी उठाउने मनग्य फाइदा
विकास अधिकारी--
काठमाडौं । गोलभेंडाले भान्सामा पाक्ने परिकारको मुहार फेर्छ । खाना मिठो बनाउन गोलभेंडा नै चाहिन्छ ।
गोलभेंडामा पनि सबैले रुचाएको सिर्जना जातको गोलभेंडा कसरी खेति गरिन्छ भन्ने धेरैको चासोको विषय हुन्छ ।
कसरी हुन्छ टनेलमा सिर्जना गोलभेंडाको खेति ?
टनेलमा गोलभेंडा खेतिका लागी सबैभन्दा पहिले उपयूक्त जमिनको छनोट गर्नुपर्छ ।
रुख विरुवाको छायाँ नपरेको पारिलो घाम लाग्ने जमिन उपयूक्त हुन्छ । कृषि विज्ञलाई माटोको परिक्षण भने गराउनै पर्छ ।
त्यसपछि गोलभेंडाको विरुवा उर्मानको लागी बेर्ना राख्ने काम गरिन्छ । त्यसको लागी जुन ठाउँमा दल राखिन्छ त्यो ठाउँको माटो गोठेमल राखेर खनजोत गर्नु पर्छ । गोठेमलले लामो समयसम्म उत्पादन टिकाईराख्ने काम गर्दछ । गोठेमललाई एकदमै मसिनो गरी माटोजस्तै धुलो पार्नु पर्छ ।अब गोलभेंडाको दल राख्न माटो तयार हुन्छ ।
गोलभेंडाको दललाई एक–एक दाना गरी मसिनो तरिकाले बारीमा राख्नुपर्छ । राखेको दललाई धुलोगोबर, मल, क्याल्सीयम र किरा नलाग्ने औषधी को मिश्रणले छोप्नुपर्छ । त्यसलाई पनि परालले छोप्नुपर्छ । सूर्यको किरण प्रत्यक्ष रुपमा छिर्न नपाओस् भनेर यसो गरिएको हो ।
अनि जुन ठाउँमा दल राखिछ । त्यस ठाउँलाई सूर्यको प्रकाश नछिर्ने गरी प्लास्टिकले बेर्नु पर्छ । र त्यस ठाँउमा दैनिक बिहान ८ बजे भित्र र बुलुकी ६ बजे पछि पानी हाल्नुपर्छ । आवश्यकता अनुसार विरुवाको स्थिति हेरेर औषधी हाल्नुपर्छ ।
यही क्रममा ब्याडको स्याहार सँगै विरुवा रोप्ने ठाउँ तयार गर्नुपर्छ । तयार गर्दा सकेसम्म एक पटक मज्जाले भिज्नेगरी पानी लगाएर पानी सुकेपछि अलिअलि चिसो हुदै त्यो ठाउँ जोत्नुपर्छ । फेरी त्यो बारीलाई पनि सकेसम्म मसिनो गराएर गोठेमल राखेर जोत्नुपर्छ ।
बारी जोतेपछि अब बारी ड्याङ बनाउनको लागी तयार हुन्छ ।
अनि के गर्ने ?
जब ड्याङ तयार हुन्छ, फेरी एकचोटी पानी लगाउनु पर्छ । त्यसको केही दिनपछि अलि अलि चिसो हुँदा देखि नै फेरी एकचोटी खनजोत गर्नुपर्छ । जहाँ जहाँ गोलभेंडा रोपिन्छ त्यहाँ त्यहाँ खाल्डो खन्नुपर्छ ।
त्यस खाल्डोमा सोडा मिसाएको जैविक मल (धुलो मल) हालिन्छ । गोलभेंडाको टनेला भित्र धनिया, साग लगायत विरुवा नलगाउने हो भने गोलभेंडा रोप्ने खाल्डो वाहेक अरु ठाउँमा प्लास्टिक लगाएदेखी झार आउदैन । त्यसपछि सो खाल्डोमा सावधानीपूर्वक उखलेर ल्याएको गोलभेंडाको विरुवा राखिन्छ । मल धेरै माटो थोरै राखेर त्यो विरुवालाई छोपिन्छ । अनि पानी हालिन्छ ।
हप्तामा दुई पटक पानी नजम्ने किसिमले सिंचाई गर्नु पर्दछ । यही क्रमले गोलभेंडाको विरुवा स्याहार गर्दै जानु पर्छ । सुरुको एक महिनामा यूरिया, डिएपी, पोटास आदी राखेर टपलेसिङ गरिन्छ भने त्यसपछि पन्ध्र–पन्ध्र दिनमा टपलेसिङ गरिनुपर्छ ।
जब विरुवाको हाँगा फाट्न थाल्छ त्यसपछि त्यसले उभिनलाई साहरा खोज्न थाल्दछ । त्यही क्रममा मात्र दुई वटा हाँगा हुनेगरी डोरीले बाँधेर सिधा गरिन्छ ।
पटक–पटक हाँगा पलाउन सक्छ । त्यसलाई कैचिले काट्नुपर्दछ । पूराना पातहरु पनि काट्ने क्रम जारी राख्नुपर्छ । बोटलाई पानीबाट जोगाउनु पर्छ । पानी पटाउँदा पनि सचेत हुनुपर्दछ । सकेसम्म थोपा सिंचाईको प्रयोग गर्नु पर्दछ ।
विरुवा वयश्क भएपछि फूल फूलेर चिचिला लाग्न थाल्छ । त्यो बेला विरुवालाई एकदमै स्याहार गर्नु पर्छ । विरुवाको ठाउँ एकदमै सफा राख्नुपर्दछ । झार पलाउन दिनुहुदैन । चिचिलालाई एकदमै निगरानीमा राख्नुपर्छ । आवश्यक औषधीमुलो हाल्नुपर्दछ ।
जब गोलभेंडा टिप्ने बेला हुन्छ । त्यो बेलापनि एकदमै विचार गर्नु पर्दछ । गोलभेंडा टिप्दा भेट्ना सहित टिप्नुपर्दछ ।
यसरी नै एउटा सानो बच्चालाई स्याहार गरेजस्तै गोलभेंडाको स्याहार गर्दा गोलभेंडाले निरन्तर ८ महिनासम्म फल दिइरहन्छ ।


प्रतिकृया दिनुहोस