• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

नेपालीलाई सीमामा राेकेर नेपालकै विरुद्ध नाराजुलुसमा उतार्दैछ भारत

अनुपम शर्मिला

अनुपम शर्मिला

काठमाडौं । भारत सरकारले नेपाल र नेपाली विरुद्ध नयाँ खालकाे निकृष्ट हर्कत गर्न थालेकाे छ । भारतका विभिन्न ठाउँबाट मातृभूमि नेपाल फर्कने नेपालीलाई सीमामा राेकेर नेपाल सरकार विरुद्ध नारा लगाउन भारतले बाध्य पारिरहेकाे छ ।

भारतबाट सल्यानको दार्मा गाउँपालिका अ‌ाइपुगेका स्थानीयले वर्णन गरे अनुसार सीमामा नेपालीलाई राेकिन्छ । तिमीहरुकाे सरकारले तिमीहरुलाई देश पस्न दिँदैन, नेपाल सरकारले जनतालाई हेर्दैन भन्दै सुरक्षाकर्मीले अन्टसन्ट प्रवचन दिन्छन् । त्यसपछि अ‌ाफ्नै देशकाे सरकार विरुद्ध नारा लगाउन लगाएर भिडियाे खिचिन्छ । नेपाली नागरिकलाई नेपाल सरकार विरुद्ध उतार्ने भारतीय रणनीति अहिले सीमामा प्रष्टसँग देख्न सकिन्छ ।

दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले सनराइज खबरलाई सुनाउनुभयो- 'रुपैडिया नाकातर्फ आइरहेका नेपालीलाई बहराइच नजिकै रोकेर नाका बन्द छ, तिमीहरुको सरकारले जान दिँदैन भनेर नेपालविरुद्ध नाराजुलुस गर्न भनिएछ, नेपालीलाई भ्रममा पारेर जबर्जस्ती एकदुई दिन त्यतै राखेछन् ।'

अ‌ाफ्नाे गाउँ अ‌ाइपुगेकाहरुले भाेगेकाे पीडा वयान गर्दै निमबहादुरले नेपालीलाई भारतमा तथा सीमा नाकामा भारतले गरिरहेकाे व्यवहार सुनेर अ‌ाफू चकित परेकाे बताउनुभयाे ।

रुपैडिया नाका आएपछि पैसा हुने गाडी रिजर्भ गरेर दार्मा आइपुगेकाे बताउँदै अध्यक्ष केसीले पैसा नहुने र नसक्नेहरुलाई गाउँपालिकाले गाडी पठाएर ल्याएको बताउनुभयो । भारतबाट आएका २ सय ८९ जनालाई पालिकाकै विद्यालयकाे क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयाे- 'उहाँहरु २ सय ८९ जना प्रत्येकले भारतले गरेकाे अत्याचार वर्णन गरिरहनुभएकाे छ ।'

तीमध्ये ६० जनाको स्वाब संकलन गरेर पठाइएकोमा ९ जनाको पोजेटिभ आएको र केहीकाे रिर्पोट आउने बाँकी रहेको उहाँले बताउनुभयो । उनीहरुलाई अहिले  पालिकाकै आइसोलेशनमा राखिएको छ । संक्रमितहरुलाई भाेलि चाैरजहारी अस्पताल पठाइने भएकाे छ ।

सल्यानकाे दार्मा गाउँपालिका-१ का ३९ वर्षीय २ का ३६ र ४८ वर्षीय ३- का ३५ र ३९ वर्षीय ४-का ३८, ४०, ४० र ५० वर्षीय पुरुषमा मंगलबार काेराेना पुष्‍टि भएकाे हाे ।

पालिकामा अन्‍य जिल्लाबाट करिब ५ सय जना फर्किएका पनि उहाँले बताउनुभयाे । उनीहरु हाेम क्वारेन्टाइनमा छन् । पालिकामा बस्ने अनुशासनमै रहेका पनि उहाँले बताउनुभयाे ।

क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिपछि दबाब र त्रास बढेपनि गाउँमा फैलन नदिने गरी काम गरिरहेकाे उहाँले बताउनुभयो । भारतबाट थप नेपाली आउन सक्ने भएकाले पालिकाका विद्यालयहरुमा क्वारेन्टाइन बनाइएको र तत्काललाई केही समस्या नभएको उहाँले बताउनुभयो ।

क्वारेन्टाइनमा बसेका सबैको पीसीआर गर्ने लक्ष्य राखिएको बताउँदै उहाँले भन्नुभयो - 'सकेसम्म पालिकाकै स्रोत साधनमा यो महामारी पार लगाउनेगरी काम गर्छौं, नसकेमात्र केन्द्र र प्रदेशलाई भन्छाैं ।'

पालिकाले लकडाउनका कारण प्रभावित गरिब मजदूरलाई राहत वितरण गरेको पनि उहाँले जानकारी दिनुभयाे ।

अहिलेसम्म  सल्यानमा ५३ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशमा भने संक्रमितको संख्या २ सय ६२ पुगेको छ । 

प्रतिकृया दिनुहोस