• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

यशाेधराका अध्यक्षकाे प्रतिबद्धता - गाउँवासीको स्वास्थ्य जोखिममा पर्न दिँदैनौँ

अनुपम शर्मिला

अनुपम शर्मिला

काठमाडौं । कोरोना विरुद्धको लडाईंमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीसँगै अग्रपंत्तिमा खटिएका छन् देशभरका जनप्रतिनिधि ।

उनीहरुको लडाईं फरक र चुनौतीपूर्ण छ । संक्रमणलाई  फैलन नदिन उनीहरुले कर्तव्यको भारी बोकेका छन्  । अझ भनाैं उनीहरुकाे काँधमा निकै ठूलाे जिम्मेवारी छ । किनकी क्‍वारेन्टाइनदेखि  परीक्षणसम्मकाे व्यवस्थापनका सबै काममा उनीहरु नै खटिएका हुन्छन् ।

उनीहरु काेराेनाविरुद्ध लडिरहेका देशका लागि अत्यावश्‍यक सिपाही हुन भन्‍दा फरक पर्दैन । अहिले कोरोना संक्रमण फैलँदो छ र संक्रमित धेरै भारतबाट अ‌ाएका नै छन् । उनीहरुलाई सीमादेखि जिल्ला र जिल्लादेखि क्वारेन्टाइन पुर्‍याउन खटिने जनप्रतिनिधि नै हुन् । उनीहरुकाे परीक्षणका लागि मेसाे मिलाउने पनि जनप्रतिनिधिहरु नै हुन् ।

संक्रमित भेटिइहाले अ‌ाइसाेलेशनसम्म पुर्‍याउन समन्वय गर्ने पनि उनीहरुनै हुन् । खासमा भन्दा उनीहरु काेराेना राेकथाम तथा नियन्त्रणका लागि खटिएका महत्वपूर्ण पहरेदार हुन् ।

सनराइज खबरसँगको फोनवार्तामा कोरोनाविरुद्ध लड्ने धेरै स्‍थानीय तहका जनप्रतिनिधिको साझा गुनासो सुनियो - 'एकदम तनावमा छाैं, दिनरात भाेक प्यास नभनि खटिएका छाैं ।'

धेरैजसाेले त सरकारले केही गरेन, हामीलाई कीट दिएन भनेर पनि सुनाउनुभयाे । तीमध्ये कतिपयको विचार फरक पायौं - 'सबै कुरामा केन्द्रको मुख ताक्नु हुँदैन, सक्दै नसकेमात्र अनुराेध गर्नुपर्छ ।'  कतिपय जनप्रतिनिधिका भने गुनासै गुनासा मात्र सुन्यौं ।

प्रदेश नम्बर ५ को कपिलवस्तु जिल्लामा कोरोना संक्रमण तीब्र फैलिएको छ । संक्रमितकाे संख्‍या ३ सय बढी छ । तीमध्य‍े यशोधरा गाउँपालिकामा मात्रै १ सय जनामा कोरोना देखिएको छ । 

संक्रमितको उपचार, भारतबाट आउनेको व्यवस्थापन र परीक्षण कसरी भइरहेको छ त ? यी विषयमा केन्द्रित रहेर सनराइज खबरले गाउँपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयसँग गरेको फोनवार्ताको सम्पादित अंश:

एक सय जना संक्रमित एउटै गाउँपालिकामा देखिनु सानो कुरा होइन । संक्रमितका लागि अ‌ाइसाेलेशन वार्ड, राम्राे अस्पताल नभएकाे गाउँपालिकाका लागि याे भन्‍दा ठूलाे चुनाैती र पीडा अरु के हुन्छ ?

त्यसमाथि न गाउँपालिकासँग आइसोलेशन बनाउने पूर्वाधार छ । न तत्कालका लागि आइसोलेशन वार्ड छ ।  संक्रमितलाई विद्यालयमा राख्नुपरेको दर्दनाक अवस्था छ । न त राम्रो डाक्टरनै छन् ।

सामान्य स्वास्थ्यकर्मीको भरमा विद्यालयको आइसोलेशनमा बसेका संक्रमित देख्दा मुटु चिरिएर आउँछ । तरपनि गाउँपालिकाले सकेको गरेको छ ।

यस्तो बेला केन्द्र र प्रदेश सरकार मुकदर्शक बनेको छ । सबै स्थानीय तहले मिलाउनुपर्छ भनेर पन्छन खोजेको छ । न केन्द्र न प्रदेश कसैको आशा र भरोसा छैन, तरपनि कोरोनाविरुद्ध दिनरात लडिरहेका छौं ।

स्थानीय प्रशासनले पालिकाका लागि डा. गणेश क्षत्रिलाई तोकेपनि अहिलेसम्म उहाँले सम्पर्क गर्नु भएको छैन ।  हामीले गर्दा पनि सम्पर्क हुन सकेको छैन । उहाँले परीक्षणका लागि केही पहल नै गर्नुभएको छैन ।

हामीले ८८ जना संक्रमितलाई पालिकामा रहेका विद्यालयमा राखेका छौं । प्रदेश र केन्द्र सरकारले सबै आफै गर्ने हो भनेर फर्केर नहेरेपछि यसबाहेक अरु विकल्प देखेनौं ।

क्वारेन्टाइनमा राखिएका र शंका लागेका गरेर  करिब ८ सय जनाको थ्रोट स्वाब संकलन गरिएको थियाे । परीक्षणका लागि पठाएकामध्ये अहिलेसम्म १ सय जनामा कोरोना देखिइसकेको छ । अझै धेरै नमुनाको रिर्पोट आउनै बाँकी छ । अझै संक्रमित थपिए समाल्न गाह्रो हुन्छ ।

सुरुमा संक्रमण देखिएका १२ जनालाई प्रदेश सरकारले  उपचारका लागि कोरोना विशेष अस्पताल बुटबल लगेको थियो । तीमध्ये ३ जना  निको भएर घर फर्किएका छन् । ९ जना पनि एक दुई दिनमै डिस्चार्ज हुने खबर आएको छ ।

तर, पछि थपिएका बाँकी संक्रमितलाई तपाईंहरुले पालिकामै आइसोलेशन बनाएर राख्नु भनेर निर्देशन आयो ।  गाउँपालिकासँग न बजेट, न पूर्वाधार न अरु सुविधा केही छैन । त्यसैले संक्रमितलाई स्कुलहरुमा राख्नुपरेको छ ।

संक्रमितलाई दैनिक भेट्छु, उनीहरुको स्वास्थ्य अवस्था पनि समान्य छ । तरपनि मन मान्दैन चिन्ता लाग्छ,उपचारमा कतै कमी भयो कि भनेर आत्मगलानी हुन्छ ।

गाउँपालिका, सुरक्षा निकाय र स्‍थानीय जप्रतिनिधि मिलेर लागेका छौं, मानवीय क्षति हुन नदिने हिम्मतसाथ काम गरिरहेका छौं ।

आरडीटी भन्दा पनि हामीले क्वारेन्टाइनमा बसेका र सम्भावित सबैको पीसीआर परीक्षण नै गराएका छौं । पालिकाकै खर्चमा । उपचारका पनि सक्दाे गरेका छाैं । सरकारले केही संख्यामा आरडीटी कीट दिनुबाहेक केही गरेको छैन ।

अहिलेसम्मका संक्रमित धेरै भारतबाटै आएका हुनुहुन्छ ।

भारतसँग सीमा जोडिएको दशगजा क्षेत्र भएकाले धेरै मानिस यसअघि नै भित्रिए । पहिलाको तुलनामा चार दिन जति भयो भारतबाट आउनेको संख्या कम भएको छ । तर लुकिछिपी अ‌ाउन छाड्दैनन् । अ‌ाएका जति सबैलाई क्‍वारेन्‍टाइनमा राखेका छाैं ।

भारतबाट आएकामा संक्रमण देखिनु, उनीहरुबाट समुदायमा फैलिन्छ कि भने चिन्ता बढ्नु, सरकारले नहेर्नु हामी सबैतिरबाट घेरामा परेका छाैं ।यसबाट मुक्त हुन कैयौँ कष्ठ पार गर्नुपर्ने देखिन्छ ।

जे भएपनि गाउँबासीलाई यो कोरोनाबाट बचाउन सक्यौं भगवानसँग कामना गर्छु । हरबखत प्रयास गर्छु ।

प्रदेश र केन्द्र सरकारले केही गर्छ भन्ने आशा र भरोसा मरिसक्यो । त्यसैले कोरोनाविरुद्ध जुधेर गाउँवासीको स्वास्थ्य जोखिममा पर्न नदिने संकल्पसाथ काम गरिरहेको छु र क्षमताले भ्याएसम्म गुनासो गर्ने ठाउँ दिने छैन ।

प्रतिकृया दिनुहोस