• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

देउवालाई फकाउने रामचन्द्रको रणनीति असफल : ‘अर्ली’ महाधिवेशन अस्वीकृत

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । नेपाली कांग्रेसले आन्दोलन गर्ने भएको छ । आन्दोलनको पहिलो चरणमा २१ माघमा ७७ वटै जिल्लामा प्रदर्शन गरिने घोषणा कांग्रेसले गरेको छ । 

जारी रहेको कांग्रेस केन्द्रिय समितिको वैठकबाट कांग्रेसले यस्तो निर्णय गरेको हो । पार्टीभित्र विवाद चर्कंदै जाँदा आन्दोलन गर्ने निर्णय सार्वजनिक भएको हो । 

केन्द्रिय समितिको चालु वैठकले विधान संशोधनलाई अन्तिम रुप दिनुपर्नेछ । गत महासमिति वैठकबाट विधान पारित गरिएको भनिए पनि मिलाउन बाँकी धेरै विषय रहेको बताइएको छ । जस्तो कि बहालवाला केन्द्रिय समिति सदस्यले महाधिवेशन प्रतिनिधि बन्न चुनाव लड्न नपर्ने व्यवस्था गर्न महासमितिमा माग भएको थियो । यो विषयलाई केन्द्रिय समितिले अन्तिम निर्णय गर्नुपर्ने हुन्छ । त्यसैगरी एकपटक समावेसी कोटामा अवसर पाइसकेकाले दोहोराएर नपाउने व्यवस्था राख्न चर्काे दवाब छ । यसमा पनि निर्णय भएको छैन । 

महाधिवेशन प्रतिनिधि जातीय आधारमा चयन गर्ने महासमितिले निर्णय गरेको छ तर त्यसको स्वरुप र कार्यविधिमा भने सहमति भएको छैन । 

महासमिति वैठक भएको दुई महिना वितिसक्दा पनि कांग्रेसले आफ्नो विधान सार्वजनिक गर्न सकेको छैन  । त्यसैगरी महासमितिबाट पारित राजनीतिक प्रस्तावलाई परिमार्जन गर्ने जिम्मा पनि केन्द्रिय समितिलाई दिइएको थियो । महासमितिले पारित गरेको राजनीतिक प्रस्ताव कस्तो छ भन्ने कांग्रेसले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । 

रामचन्द्रको असफल रणनीति

केन्द्रिय समितिको वैठकमा सभापति शेरबहादुर देउवाले अहिले महाधिवेशन नगर्ने प्रष्ट पारेका छन् । देउवा विरोधी रामचन्द्र गुट र कृष्ण सिटौला गुटले ‘अर्ली महाधिवेशन’को माग गर्दै आएको थियो । केन्द्रिय समितिमा रामचन्द्रले ०७६ फागुनमा महाधिवेशन गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए तर देउवाले ठाडै इन्कार गरेका छन् । कांग्रेसका एक केन्द्रिय सदस्यका अनुसार सभापति देउवाले वैठकमा पाँच वर्ष पूरा भएपछि मात्र महाधिवेशन गर्ने बताएका छन् । 

केही समय यता देउवाको निकट देखिन थालेका थिए रामचन्द्र । देउवालाई फस्ल्याङफुस्लुङ पारेर महाधिवेशन गर्न लगाउन मात्र उनले निकटता देखाएको प्रष्ट भएको छ । देउवा विरोधी नेताहरुको वैठकमा पनि रामचन्द्र गएका थिएनन् । उनले सार्वजनिक रुपमा देउवाको प्रशंसा समेत गरेका थिए । तर, देउवालाई फकाउने रामचन्द्रको रणनीति असफल भएको छ । 

अब केन्द्रिय समितिले बहुमत पुराएर निर्णय गर्यो भने मात्र चाँडो महाधिवेशन हुने सम्भावना देखिन्छ, नत्र देउवा पूरा कार्यकाल सभापति हुने र थप ६ महिना पनि सभापति हुने अवस्था आउने छ ।

कांग्रेसका कतिपय नेताहरुका अनुसार सामूहिक निर्णय गरेर नै देउवा फकाउने जिम्मा रामचन्द्रलाई दिइएको थियो । यसका लागि रामचन्द्रले केही महिना प्रयास गरे, देउवा निकट गए, महासमिति वैठकमा त देउवाको पूरै समर्थन गरे । तर, असफल भए । 

‘वाइडवडी’ गायब

कांग्रेसले वाइडवडी विमान खरीद प्रकरणमा मुख बन्द गरेको छ । कांग्रेस केन्द्रिय समितिले समसामयिक विषयमा गरेको निर्णयमा ‘वाइडवडी’ उल्लेख नै छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा वैठकमा वाइडवडी खरीद प्रकरणमा भ्रष्टाचार भएको भन्दै यो विषयलाई कांग्रेसले त्यसै नछाड्ने बताएका थिए । त्यस लगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रिय कार्यालयमा वाइडवडी विमान प्रकरणमा मात्र केन्द्रित रही एक पत्रकार सम्मेलन गरेका थिए । 

तर, सो विमान खरीद गर्ने निर्णय तथा रकम भुक्तानीको प्रकृया देउवा प्रधानमन्त्री रहँदा सुरु भएको खुलेको थियो । त्यसैगरी विमान खरीदका भित्री विचौलिया देउवाकै सालो रहेको पनि संचार माध्यमहरुमा आएको थियो । त्यसपछि देउवा मात्र नभएर कांग्रेसको ठूलो पंक्ति यो प्रकरणमा मौन बस्न थालेको छ । यो विषयमा कांग्रेस केन्द्रिय समितिको वैठकमा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि व्यक्त गरेका छन् । पौडेलले वाइडवडी प्रकरणमा देउवा दोषी देखिन्छन् भनी उनलाई समेत कारवाही गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । 

कांग्रेस केन्द्रिय समितिको वैठक निरन्तर बसिरहेछ र हरेक दिन निर्णय सार्वजनिक गरिएको छ । कुनै दिन पनि वाइडवडीमा कांग्रेस बोलेको छैन । 

चुनावमा नजाने

आमचुनावपछि जनमतको झलक पाउन सकिने एउटा चुनाव त्रिभुवन विश्वविधालयका स्वियूहरुको हो । तर, कांग्रेसले स्ववियू चुनाव अस्वीकार गरेको छ । त्रिवि व्यवस्थापनले आउँदो फागुन १४ गते स्ववियू चुनाव गर्न प्रस्ताव गरेको थियो । तर, कांग्रेसले सो मितिमा चुनाव गर्न नहुने पछि सार्नुपर्ने अडान लिएको छ । 

कांग्रेसभित्र गुटहरुको चरम द्धन्द रहेको र द्धन्दको सबैभन्दा धेरै असर नेविसंघमा रहेको हुनाले कांग्रेस पछाडि हटेको बुझिन्छ । चुनाव भएमा गत आमचुनावको जस्तै नतिजा स्ववियूमा पनि आउने कांग्रेसको त्राश छ । स्ववियू चुनावमा गत आमचुनावको जस्तै नतिजा आएमा कांग्रेसको मनोविज्ञान अझ खस्कन सक्छ । यही कारण स्ववियू चुनावबाट कांग्रेस तर्सिएको बुझिन्छ । सभापति देउवा स्वयंले पनि स्ववियू चुनाव नगर्न औपचारिक दवाब दिएका छन् । 

किन आन्दोलन ? कस्तो आन्दोलन ?

कांग्रेसले आन्दोलनका लागि विभिन्न मागमुद्दा अगाडि सारेको छ तर ती मुद्दामा आफै प्रष्ट नभएको देखिन्छ । कांग्रेसले सरकारको कडा विरोध त गरेको छ तर औपचारिक विरोध विज्ञप्तिमा ‘अधिनायकवाद’ शब्द भने प्रयोग गरेको छैन । चुनावकै बेला कांग्रेसले वामपन्थीले चुनाव जितेमा उनीहरुको सरकार अधिनायकवादी बन्ने भविष्यवाणी गर्दै चुनवी अभियान चलाएको थियो । कांग्रेसका नेताहरुले सरकारलाई मौखिक रुपमा अधिनायकवादी भन्ने गरे पनि औपचारिक निर्णयमा भने सो शब्द पारिएको छैन ।

कांग्रेसले गर्ने आन्दोलन औपचारिकताका लागि मात्र जस्तो देखिन्छ । आन्दोलन उठाउन अहिले देशमा कुनै पनि माग र मुद्दा छैन । लामो अस्थिरताबाट मुलुक गुज्रिएकाले स्थिर र बहुमतप्राप्त सरकार आएको बेला जनता आन्दोलित नहुनु स्वाभाविक हो । यही कुरा बुझेर कांग्रेसले प्रतिपक्षी धर्म निर्वाह गर्न मात्र आन्दोलनको घोषणा गरेको बुझिन्छ ।


 

प्रतिकृया दिनुहोस