• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

बाआमालाई छाडेर विदेश जान्न भन्ने यी छोरा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काभ्रे । काभ्रे रोशी गाउँपालिकाका जनार्जन गौतमले भारतमा धेरै समय रोजगार गरे । उपलब्धी केही भएन । गाउँ फर्किए । 

त्यसबेला गाउँ र गरिबी एउटै सिक्काको दुई पाटा थियो । जनार्जनले गाउँमै गरिबी विरुद्ध युद्ध छेडे । उनले तरकारी खेति थाले । तरकारिले जेनतेन जीवन चल्न थाल्यो । 

तरकारी बारीमा पसिनाले सिंचाई गर्न थाले । परिणाम राम्रो आउन थाल्यो । पसिनाले गरेको सिंचाई कहिल्यै खेर जाँदैन भन्ने भनाई सत्य सावित भयो । तरकारी खेतिले जनार्जनको परिवारमा क्रान्ति गर्न थाल्यो । 

उनले ०६९ सालमा ‘गौतम तरकारी फार्म तथा नर्सरी’ समेत दर्ता गरे । अहिले आफ्नो जग्गा र भाडामा लिएको जग्गा गरी १० रोपनीमा छ जनार्जनको खेति । 

जनार्जनलाई विगत एक वर्षदेखि उनका छोरा सरोज गौतमले पनि सघाइरहेका छन् । सरोज काठमाडौं पढ्दै थिए । साथीभाइको लहैलहैमा विदेश जाने चक्करमा पनि लागेका थिए । 

बुवा जनार्जनले ‘विदेश नजा, बरु आफ्नै फार्ममा काम गर’ भने । काठमाडौंमा शिक्षण पेशा गरिरहेका सरोज तुरुन्त रोशी फर्किए र बुवासँगै खनजोत गर्न लागे । 

विदेशमा हुने कमाई आफ्नै कृषि फार्ममा गर्न थाले । 

सरोजकी आमा पनि उनीहरुसँगै कुटो कोदालो गर्छिन् । यो परिवार नै खेतिपातीमा संलग्न छ । 

बुवा आमा र सरोजले यो कृषि फार्म धानेका छन् । भैंसी र माहुरी पनि पालेका छन् । फलेको तरकारी घरमै पनि किन्न आउँछन्, नजिकैको बजारमा पनि लैजान्छन् । पूरै अर्गानिक हो यो कृषि फर्म । 

‘मल र कीटनाशक आफै बनाउँछु’ जनार्जन भन्छन् ।
 

प्रतिकृया दिनुहोस