• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

भारतीय राजनीतिबाट नेपालले सिक्नुपर्ने पाठ

सम्पादकीय

छिमेकी भारत एउटा ठूलो समस्याबाट पार भएको छ । त्यहाँ पुन बहुमतको सरकार बन्ने भएको छ । विगतमा बहुमतको सरकार चलाउँदै आएको भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा चुनावमा पुन बहुमत हासिल गरेको छ । त्रिशंकु सरकार बन्ने र राजनीतिक अस्थिरता हुने अवस्थाबाट भारत फेरि पनि मुक्त भएको छ । भारतीय मतदाताले आफ्नो देशको हितमा परिपक्व निर्णय गरेका छन् ।

अस्थिरताको भारतीय पीडा

भारतले लामो समय त्रिशंकु संसद र अस्थिर सरकारको पीडा भोगेको छ । सन् १९८९ बाट भारतमा त्रिशंकु संसदको दुर्भाग्य सुरु भएको थियो । त्यस वर्ष भएको आमचुनावमा कसैको बहुमत आएन । त्रिशंकु संसद् बन्यो । संयुक्त सरकारको कालखण्डमा भारतको विकासले अपेक्षित गति लिन सकेन । सन् १९९१ मा मध्यावधी चुनाव भयो तैपनि कसैको बहुमत आएन । सन् १९९६ मा भएको चुनावमा पनि कसैको बहुमत आएन । मिलिजुली सरकार भारतको नियतिजस्तै बन्न पुग्यो । 

मिलिजुली अर्थात् संयुक्त सरकार विकृति विसंगतिको स्रोत हो भन्ने विश्वव्यापी स्थापित तथ्य हो । संयुक्त सरकारको कालखण्डमा भारतको प्रगति र विकास अवरुद्ध हुन पुग्यो । राजनीतिक विकृति विसंगति र भ्रष्टाचार चरम बन्यो । १९९८ मा लोकसभा भंग भएर मध्यवाधी चुनाव भयो । त्यो चुनावमा पनि कसैले बहुमत ल्याउन सकेन । पुन राजनीतिक अस्थिरतामा भारत फस्यो । लगत्तै १९९९ मा मध्यावधी चुनाव भयो । त्यो चुनावमा पनि कसैले बहुमत ल्याउन सकेन । विश्वकै ठूलो भनिएको भारतीय लोकतन्त्रले मुलुकलाई समाधान दिन सकेन, बरु, समस्या थपिँदै गयो । त्रिशंकु संसद अनि निरन्तर सरकार परिवर्तनले भारत निरासामा डुब्न थाल्यो । 

२००४ र २००९ मा भएको चुनावमा पनि कुनै दलले बहुमत ल्याउन सकेन । संयुक्त सरकार नै निरन्तर भयो । संयुक्त सरकारले देश चलाउनसम्म त सक्छ तर देशलाई अगाडि बढाउन सक्दैन भन्ने भारतीय जनताले भोगिसकेका थिए । यो अवस्थामा सन् २०१४ मा भएको चुनावमा भाजपाको बहुमत सहित सो पार्टी नेतृत्वको गठवन्धनले सरकार बनायो । बहुमतको सरकार बनेको पाँच वर्षको कालखण्डमा भारतले आर्थिक रुपमा ठूलो फड्को मारेको छ, मुलुकलाई स्थिरता र विकास दिएको छ ।

पाँच वर्षको अवधीमा भाजपाका नेता नरेन्द्र मोदीको सरकारले गरेका कैयन काम विवादास्पद बने । त्यहाँ मोदी विरुद्ध घृणा फैलाउने अभियान नै चलाइयो । पश्चिमी जगतले चुनावका बेला मोदीलाई हराउन खुलेआम जस्तै प्रयास गरे । तैपनि चुनावमा मोदी तथा उनको दलले विजय हासिल गरेको छ । भारतीय जनताले राजनीतिक अस्थिरता होइन स्थिरता रोजेका छन् ।

नेपाललाई पाठ

नेपाल र भारतको सम्बन्ध विश्वाशपूर्ण हुन सकेको छैन । नेपालको राजनीतिक स्थिरता र विकासका लागि भारत बाधक बन्ने गरेका तथ्य विगतमा अनेक पटक देखिएको हो । नरेन्द्र मोदीको कार्यकालमा त नेपालमाथि नाकावन्दी समेत लगाइयो । यति हुँदाहुँदै पनि नेपाल र नेपाली जनता सदैव भारतको शुभचिन्तक रहँदै आएका छन् । त्यहाँको विकास र राजनीतिक स्थिरताको पक्षमा उभिँदै आएका छन् । 

भारतको चुनावबाट नेपालले पाठ सिक्नुपर्छ । राजनीतिक स्थिरताले मुलुकलाई एकै दिन या रातमा प्रगति दिन सक्छ भन्ने भ्रममा पर्न हुँदैन । मुलुकको प्रगति र उन्नतिका लागि धैर्य चाहिन्छ र समय लाग्छ भन्ने बुझ्नुपर्छ । विदेशीको उक्साहटमा नलागी भारतीय जनताले आफ्नो देशको स्थिरताको पक्षमा मतदान गरेका छन् । भारतीय जनता विदेशी एजेण्डाको एम्बुसमा फसेनन् । नेपाली जनताले सिक्नुपर्ने पाठ हो यो । 

नेपाली नेताहरुले पनि भारतीय चुनाव र स्थिरताबाट पाठ सिक्नुपर्छ । नेपालको नियति के हो भने जनताले स्थिरताको पक्षमा अभिमत जाहेर गर्दै दिएको बहुमत पनि राजनीतिक दल तथा नेताहरुले टिकाउन नसकेको तीतो इतिहास हामी सामु छ । भारतीय नेताहरुले जनअभिमतको पालना गर्दै पाँच वर्ष स्थिर सरकार चलाए, अब पनि त्यसै गर्ने आकलन गरिएको छ । 

आमचुनावमा बहुमत प्राप्त गर्नु जति महत्वपूर्ण काम हो, त्यसपछि बन्ने सरकार टिकाउनु झन महत्वको काम हो । नेपालले पनि विगतमा तीनपटक र यसपटक गरी चारपटक बहुमत देखिसकेको छ । विगत  तीनपटकको बहुमत भताभुंग पारेर मुलुकलाई अस्थिरतामा जाक्ने काम गरियो । तर, भारतले जहिले पनि बहुमतलाई सदुपयोग गरेको छ । बहुमतलाई टिकाउने र सदुपयोग गर्ने जिम्मेवारी बहुमत पाउने राजनीतिक दलका सबै नेता तथा कार्यकर्ताको हो । यो मामिलामा भारतीय चुनाव तथा राजनीतिबाट नेपालका राजनीतिक दलहरु, खासगरी बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताहरुले पाठ सिक्न अत्यावश्यक छ ।


 

प्रतिकृया दिनुहोस