• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सुलभको गिरफ्तारीले प्रधानमन्त्री र गृहमन्त्री नै चकित

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले थोरै मानिसलाई मात्र भेट्छन् । निर्णायक कामका लागि मात्र भेट्छन् । उनले केही मन्त्री र उच्च पदस्थ कर्मचारीहरुलाई सोधे– मानवता विरोधी अपराधमा कारबाही गर्ने कानुन छ कि छैन ?

प्रधानमन्त्रीको प्रश्नपछि मंगलबार अपरान्ह उच्च अधिकारीहरुले त्यस्तो कानुन खोजे । तर, नेपालमा त्यस्तो कानुन छैन । कानुन खोज्नुको कारण थियो– स्वास्थ्य सामग्री कालोबजारी गर्ने सुलभ अग्रवाल नामका व्यक्तिलाई कडाभन्दा कडा सजाय गर्न ।

चीनबाट ठूला परिमाणमा स्वास्थ्य सामग्री आयात गरेर कालोबजारी गरेको अभियोगमा ‘सुलभ नामका व्यक्ति’ पक्राउ परेको खबर प्रधानमन्त्रीकोमा पुगेको थियो । त्यसपछि उनले सामान्य कारबाही नगर्नु, कडाभन्दा कडा कारबाही गर्नु, यस्तो बेला काजोबजारी गर्नेलाई मानवता विरोधी अपराधमा कारवाही गर्नु भनेका थिए । 

उता ‘सुलभ अग्रवाल’ नाम गरेका मानिस पक्राउ परेको खबर गृहमन्त्री रामबहादुर थापालाई पनि पुग्यो । उनले पनि थर्मल गन कालोबजारी गर्नेलाई अत्यन्तै कडा कारबाही गर्नु भनेर निर्देशन दिइहाले । 

तर, पक्राउ परेका मानिस साधारण थिएनन । ‘एकजना मानिस’ पनि थिएनन् । उनी साक्षात् अर्बपति व्यवसायी थिए । नेपालको उच्च राजनीतिक तहमा पहुँच राख्ने पात्र हुन् सुलभ अग्रवाल । प्रहरी स्रोत भन्छ– पक्राउ गर्दा उनले निकै फुर्तिफार्ती देखाएका थिए । विगतमा मास्क लगायतका सामग्री कालोबजारी गर्नेहरुलाई जसरी पक्राउ गरिएको थियो, त्यही तरिकाले स्टिङ अप्रेसन गरेर सुलभलाई पक्राउ गरिएको थियो । उनलाई अघिल्लो दिनदेखि नै प्रहरीले निगरानी गरेको थियो । तर, पक्रन जाने टोलीलाई पनि सुलभ अग्रवाल सत्तासीन नेकपाका शक्तिशाली नेताहरुलाई मुठ्ठिमा राखेर बसेका पात्र हुन् भन्ने थाहा थिएन । 

सुलभलाई पक्रने टोलीका एक प्रहरी अधिकारीले सनराइज खबरलाई भने– ‘अरु कसैको निलो नम्बर प्लेट प्रयोग गरेको होला भन्ने ठानेका थियौं । मास्क कालोबजारी गर्नेहरु जस्तै साधारण कालाबजारिया ठानेका थियौं । पक्रेर ल्याएपछि मात्र हामीले ‘ठूलो माछा’ पक्रेका रहेछौं भन्ने थाहा पायौं ।’

सुलभ पक्राउ परेपछि डढेलो झैं समाचार मिडियामा समाचार फैलियो । अनि मात्र उच्च प्रहरी अधिकारीहरु तथा उच्च तहले अर्बपति व्यवसायी सुलभ पक्राउ परेको थाहा पाएका थिए । 

प्रधानमन्त्री निकट स्रोत भन्छ– ‘उहाँ (प्रधानमन्त्री) ले पनि साधारण कालोबजारीया होलान् भन्ने ठान्नुभएको थियो । साँझपख मात्र अर्बपति व्यापारी हुन् भन्ने थाहा पाउनुभयो ।’

उता, गृहमन्त्री रामबहादुर थापाको पनि त्यस्तै हाल भयो । उनले पनि साधारण कालोबजारीया जस्तो ठानेका थिए । तर, सुलभ पक्राउ परेको खबर फैलनासाथ उनलाई नेकपाकै केही उच्च नेताहरुको फोन आउन थाल्यो सुलभलाई कारबाही नगर्नु भनेर । नेपालका अर्बपति उद्योगी व्यवसायीहरुले गृहमन्त्री तथा उच्च प्रहरी अधिकारीहरुलाई फोन गर्न थाले । 

गृहमन्त्री थापाले आफ्नै पार्टीका कतिपय नेताहरुको फोनमा पनि प्रष्टसँग जवाफ दिए– ‘यस्तो बेला स्वास्थ्य सामग्री कालोबजारी गर्नेलाई जति ठूलो व्यापारी भए पनि छाड्दिन ।’

मुलुक संकटमा परेको बेला सुलभलाई कारवाही गर्दा नेपालका ठूला व्यवसायीहरु सरकारको विरुद्धमा उत्रन्छन्, त्यसैले कारवाही गर्न हुन्न भन्ने प्रधानमन्त्रीको धारणा छ भन्दै नेकपाकै एक नेताले गृहमन्त्री थापालाई फोन गरेका थिए । गृहमन्त्री निकट स्रोतले सनराइज खबरलाई भन्यो– ‘ती नेतालाई उहाँ (गृहमन्त्री)ले प्रधानमन्त्रीले त झन् मानवता विरोधी अपराधमा कारवाही गर्न निर्देशन दिनुभएको छ भनी जवाफ दिनुभयो ।’

स्रोत अनुसार प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीललाई ‘सुलभ अग्रवाल’ नामक व्यक्ति पक्राउ परेको रिपोर्टिङ गएको थियो । ठाकुरले पनि कोही कालाबजारीया होलान् भन्ने ठानेका थिए । तर, पक्राउ परेका सुलभ युनियन लाइफ इन्स्योरेन्स चलाउने, जगदम्बा सिमेन्ट चलाउने, अन्य दर्जनौं कम्पनी चलाउने नेपालका अर्बपति व्यापारी हुन् भनेर थाहा पाएका थिएनन् । सुलभले यति निम्न स्तरमा ओर्लिएर कालोबजारी गरे भन्ने कसैले ठानेनन् । तर, रंगेहात पक्राउ परेका उनै अर्बपति सुलभ अग्रवाल थिए । 

‘प्रभाव र दवाब’ आउन थालेपछि मात्र महानिरीक्षक ठाकुरले पनि सर्वसाधारण सुलभ अग्रवाल नभएर अर्बपति सुलभ पक्राउ परेको थाहा पाएका थिए ।

सुलभको गिरफ्तारीपछि नेपालका शक्तिकेन्द्रहरुमा भूकम्प नै गयो । मंगलबार रातभरी विभिन्न शक्तिकेन्द्रहरु सक्रिय भए । तर, प्रधानमन्त्री ओली र गृहमन्त्री बादलले कसैको दवाब स्वीकार गरेनन् । पार्टीभित्रैबाट आएको प्रचण्ड दवाबलाई पनि बेवास्ता गर्दै सरकारले सुलभलाई विरामी भएर अस्पतालमा मोजसँग बस्ने सुविधा समेत दिएन । 

स्रोत अनुसार सुलभले पाँच बजेभित्रै आफूलाई जिल्ला प्रशासन कार्यालय लगेर केही हजार रुपैयाँमा छुटाउने प्रयास गरेका थिए । तर, पाँच बज्दा पनि उनलाई जिल्ला प्रशासन लगिएन । त्यसको अर्थ थियो– राति हिरासतमै बस्नुपर्ने भयो । त्यसैले पाँच बजेपछि उनी ‘विरामी’ हुन थाले । स्रोत भन्छ– पाँच बजेपछि सुलभ भर्ना हुन आउँछन् भनेर नर्भिक अस्पतालमा एउटा भिआईपी कक्ष व्यवस्था गरिएको थियो । नर्भिक अस्पतालमा पनि सुलभको लगानी छ । 

तर, प्रहरीले सुलभलाई ‘विरामी’ हुन दिएनन् । 

बुधबार सुलभलाई जिल्ला प्रशासन कार्यालयले सात दिन थुनामा राखेर अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ । यस्तो बेला मानवता विरोधी हर्कत गर्नेलाई त्यसै नछाड्नु भनेर प्रधानमन्त्री ओलीले दिएको निर्देशन पालना भयो भने सुलभ विरुद्ध कडा कानुनी कारवाही हुनेछ । तर, सुलभलाई शक्तिकेन्द्रहरुले जोगाउन सके भने सात दिनपछि केही हजार रुपैयाँ धरौटीमा छुट्नेछन् ।


 

प्रतिकृया दिनुहोस