सरकारसँग आक्रोशित कीर्तिपुरवासी : बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्न माग
कीर्तिपुर । रसुवा र नुवाकोटमा आएको बाढीपहिरोका कारण कीर्तिपुरका बेपत्ता भएका नागरिकको अवस्था तत्काल सार्वजनिक गर्न माग गर्दै कीर्तिपुरका जनता आन्दोलनमा उत्रिएका छन्।
कीर्तिपुरको लोकतान्त्रिक चोकमा आज ठूलो संख्यामा भेला भएका स्थानीयवासीले सरकारसँग बेपत्ता नागरिकको खोजी तथा अवस्थाबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले विपद्को समयमा सरकार गैरजिम्मेवार बनेको भन्दै तीव्र आक्रोशसमेत व्यक्त गरेका छन्।
आन्दोलनमा सहभागीहरूले “सरकार जिम्मेवार बन”, “बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर” भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।
रसुवा र नुवाकोटमा बाढीपहिरोबाट प्रभावित तथा बेपत्ता भएका नागरिकका परिवार अझै पनि आफ्ना आफन्तको अवस्थाबारे अनिश्चिततामा रहेको भन्दै आन्दोलनकारीले तत्काल खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन माग गरेका छन्।
उनीहरूले सरकारी निकायबाट गैरजिम्मेवार तर्क दिएर जिम्मेवारीबाट पन्छिने काम नगर्न चेतावनीसमेत दिएका छन्। बेपत्ताको अवस्था, खोजी तथा उद्धारमा भएको प्रगति र सरकारको आधिकारिक धारणा तत्काल सार्वजनिक नगरे आन्दोलन थप सशक्त बनाउने उनीहरूको चेतावनी छ।
“नागरिक संकटमा हुँदा सरकार गैर जिम्मेवार वन्न मिल्दैन। बेपत्ता नागरिकको अवस्था तत्काल सार्वजनिक गरियोस्,” आन्दोलनकारीको माग छ।
कीर्तिपुरवासीले विपद्मा परेका नागरिकको जीवनरक्षा र उनीहरूको परिवारलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सरकारसँग तत्काल कदम चाल्न दबाब दिएका छन्।


प्रतिकृया दिनुहोस