भोटेकोशी बाढीको असर चीनसम्म, केरुङमा पहिरोपछि दर्जनौँ व्यक्ति बेपत्ता
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीको असर नेपालतर्फ मात्रै नभई चीनको सीमावर्ती क्षेत्रमा समेत परेको छ। नेपाल–चीन सीमा नजिकै चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत केरुङ बन्दरगाह आसपासमा पहिरो गएपछि जनधनको क्षति भएको आशंका गरिएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम पिपुल्स डेलीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै बुधबार बिहान केरुङ बन्दरगाह नजिकै पहिरो गएको र त्यसबाट केही मानिस सम्पर्कविहीन भएको जनाएको छ।
पहिरोका कारण केरुङ बन्दरगाहतर्फ जाने सडक अवरुद्ध भएको छ भने सञ्चार सेवा र विद्युत् आपूर्तिमा समेत असर परेको केरुङ काउन्टीको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ।
केरुङ बन्दरगाह नेपाल र चीनबीचको महत्वपूर्ण स्थलमार्ग नाका हो। रसुवाको टिमुरेसँग जोडिएको यस नाकाबाट दुई देशबीच ठूलो मात्रामा व्यापारिक वस्तुको आयात–निर्यात हुँदै आएको छ।
यसैबीच, चीनका राष्ट्रपति सी चिनफिङले सीमावर्ती क्षेत्रमा भएको पहिरोपछि उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। नेपालमा आएको बाढी तथा पहिरोका कारण चीनतर्फको सीमावर्ती क्षेत्रमा समेत मानवीय क्षति भएको र केही व्यक्ति बेपत्ता भएको जानकारी पाएपछि सीले उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएको पिपुल्स डेलीले जनाएको छ।
राष्ट्रपति सीले जोखिममा रहेका नागरिकको तत्काल खोजी तथा उद्धार गर्न, प्रभावित क्षेत्रमा राहतलाई प्राथमिकता दिन तथा सम्भावित थप जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
नेपालतर्फ भने तिब्बत क्षेत्रबाट आएको अचानकको बाढीले रसुवाका टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। बाढी आउनुको वास्तविक कारणबारे नेपाल र चीन दुवैतर्फबाट थप अध्ययन तथा अनुसन्धान भइरहेको बताइएको छ।
लोकप्रिय
सम्बन्धित खवर
-
एनडीटीभी समिटमा सहभागी हुन चार भारतीय उच्चस्तरीय प्रतिनिधि काठमाडौंमा
-
भोटेकोशी बाढीको असर चीनसम्म, केरुङमा पहिरोपछि दर्जनौँ व्यक्ति बेपत्ता
-
स्थानीय प्रशासनसँगको समन्वयमा उद्धार तथा राहातका लागि तयारी रहन अध्यक्ष ओलीद्वारा कार्यकर्तालाई निर्देशन
-
जनताको परिवर्तनको चाहना सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्छ : देउवा


प्रतिकृया दिनुहोस