• ४ भदौ २०८३, बिहीबार
  • Thursday,20 August,2026

बुढानीलकण्ठमा  एनएसओ चाईनाको सम्पर्क कार्यालय उद्घाटन, नेपाली विद्यार्थी र युवाबीच सहकार्य बढाउने लक्ष्य

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल र चीनमा रहेका नेपाली विद्यार्थी तथा युवाबीच सहकार्य, समन्वय र संगठनात्मक गतिविधिलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको एनएसओ चाईनाको सम्पर्क कार्यालय काठमाडौंको बुढानीलकण्ठमा उद्घाटन गरिएको छ।


सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा एनएसओ चाईनाका संस्थापक अध्यक्ष मनोज भट्टले नेपालबाट चीनमा अध्ययन गर्न जाने विद्यार्थी तथा चीनमा अध्ययनरत नेपाली विद्यार्थीबीच समन्वय र सहकार्यका लागि प्रभावकारी संस्था आवश्यक महसुस गरी एनएसओ चाईनाको स्थापना गरिएको बताउनुभयो।


अध्यक्ष भट्टले चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई आवश्यक सहयोग, समन्वय तथा विभिन्न गतिविधिमा सहजीकरण गर्ने संस्थाको उद्देश्य रहेको स्पष्ट पार्नुभयो। उहाँले नेपालबाट ठूलो खर्च गरेर टाढाका युरोप तथा अमेरिका जानुभन्दा नजिकै रहेको चीनको शैक्षिक अवसरलाई पनि नेपाली विद्यार्थीले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिनुभयो।


“चीन अहिले विश्वका विभिन्न क्षेत्रमा अग्रणी राष्ट्रका रूपमा अघि बढिरहेको छ। त्यसैले नेपाली विद्यार्थी चीन जान हिच्किचाउनु हुँदैन,” भट्टले भन्नुभयो।
उहाँले चीनबाट शिक्षा हासिल गर्नुका साथै आधुनिक प्रविधि, सीप र व्यावहारिक ज्ञान सिकेर त्यसलाई नेपालमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। विदेशमा अध्ययन गरेर प्राप्त ज्ञान र सीपलाई नेपालमै प्रयोग गरी देशको विकासमा योगदान पुर्‍याउनुपर्ने उहाँको भनाइ थियो।


चीनमा स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरिरहनुभएका भट्टले एनएसओ चाईना मार्फत नेपाली विद्यार्थीलाई अध्ययन तथा अन्य क्षेत्रमा सक्दो सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न विषयमा विद्यावारिधि  गरेका व्यक्तिहरू तथा चीनमा अध्ययन गरेका र अध्ययनरत नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले नेपाल र चीनमा रहेका नेपाली विद्यार्थी तथा युवाबीच समन्वय र सहकार्य बढाउन यस्तो संस्था आवश्यक रहेको धारणा व्यक्त गर्दै एनएसओ चाईनाको आगामी यात्राका लागि शुभकामना दिएका थिए।


एनएसओ चाईनाले आगामी दिनमा नेपाल तथा चीनमा रहेका नेपाली विद्यार्थी र युवाबीच सम्बन्ध विस्तार गर्दै शैक्षिक, व्यावसायिक तथा सामाजिक क्षेत्रमा सहकार्यका गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस