• ५ भदौ २०८३, शुक्रबार
  • Friday,21 August,2026

जनताको परिवर्तनको चाहना सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्छ : देउवा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा देखिएको परिवर्तनको जनचाहनालाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका छन्।

सिंगापुरमा उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै परिवर्तनको प्रक्रिया सहज नहुने उल्लेख गर्दै त्यसका लागि धैर्य, साहस र दृढता आवश्यक पर्ने बताएका हुन्।

देउवाले नयाँ जनमतबाट बनेको सरकारले जनताको अपेक्षा पूरा गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन्। सरकार आफ्नो जिम्मेवारीबाट विचलित भएर राजनीतिक आग्रह–पूर्वाग्रहमा केन्द्रित भए त्यसले सत्तारुढ दलसँगै मुलुकलाई समेत हित नगर्ने उनको भनाइ छ।

जनताले परिवर्तनको अपेक्षा राखेको अवस्थामा त्यसलाई सम्बोधन गर्नु सरकारको प्रमुख दायित्व भएको देउवाले बताएका छन्। उनले लोकतान्त्रिक व्यवस्थामा अन्तिम शक्ति जनता नै भएकाले जनमतको सम्मान गर्न सरकार चुकेमा त्यसको असर राजनीतिक रूपमा गम्भीर हुन सक्ने संकेतसमेत गरेका छन्।

परिवर्तन व्यवस्थापनको प्रक्रियामा आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको पनि देउवाले स्पष्ट पारेका छन्। उनले हतार वा अन्धाधुन्ध ढंगले नभई विवेक, पारदर्शिता र न्यायका आधारमा परिवर्तनलाई संस्थागत गर्नुपर्ने धारणा राखेका छन्।

देउवाले पछिल्लो समय युवापुस्तामा देखिएको असन्तुष्टि र परिवर्तनको चाहनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन्। समयसँगै समाज र विश्व परिवर्तन भइरहेकाले नयाँ पुस्ताको अपेक्षालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।

उनले समाजका सबै वर्ग, समुदाय र पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषयमा आफूले सधैं जोड दिँदै आएको स्मरण गरेका छन्। राष्ट्र निर्माणमा युवापुस्ताको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरूको आवाजलाई बेवास्ता गर्न नहुने देउवाले बताएका छन्।

भदौमा भएको जेनजी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने पक्षमा आफूले यसअघि नै धारणा सार्वजनिक गरेको पनि उनले स्मरण गरेका छन्।

देउवाले परिवर्तनको अर्थ विगतका सबै उपलब्धि र पुराना पुस्ताको संघर्षलाई अस्वीकार गर्नु नभएको स्पष्ट पारेका छन्। लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न जाति, क्षेत्र र समुदायका अधिकार स्थापित गर्न विगतका पुस्ताले गरेको संघर्षलाई सम्मान गर्नुपर्ने उनको भनाइ छ।

उनका अनुसार विगतमा केही कमजोरी भएका भए त्यसलाई स्वीकार गर्दै अब समुन्नत मुलुक निर्माणका लागि सबै पक्षबीच सहकार्य आवश्यक छ।

लोकतान्त्रिक व्यवस्थामा सत्ता स्थायी नहुने उल्लेख गर्दै देउवाले जनताको भावना बुझेर काम गर्ने नेतृत्व नै दीर्घकालसम्म स्मरणीय रहने बताएका छन्।

प्रतिकृया दिनुहोस