• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

जनकपुरको होटलबाट पेस्तोल र चार राउण्ड गोलीसहित दुई युवक पक्राउ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

जनकपुरधाम। धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ निवासी विजय यादवका करिब २० वर्षीय छोरा अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका रामएकवाल मुखियाका करिब १८ वर्षीय छोरा सुधिर मुखिया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता मनोज यादवका अनुसार आज दिउँसो करिब १ बजे थापा होटलमा खाना खान आएका दुई युवकसँग हातहतियार रहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट एउटा पेस्तोल, त्यसको एउटा म्यागजिन, ९ एमएम ‘केएफ’ लेखिएको एउटा गोली तथा ७.६५ एमएम ‘केएफ’ लेखिएका तीन वटा गोली बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस