• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो हुँदा पनि नेपालमा किन घटेन इन्धनको भाउ ? : महामन्त्री पौडेलको प्रश्न

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घट्दा पनि नेपालमा उपभोक्ताले त्यसको प्रत्यक्ष लाभ नपाएको भन्दै सरकार र नेपाल आयल निगमको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ११७.६३ अमेरिकी डलरबाट घटेर ६९.२१ डलरमा झरेको उल्लेख गरेका छन्। उनका अनुसार करिब ३० प्रतिशतभन्दा बढी मूल्य घटिसक्दा पनि नेपाली उपभोक्ताले अझै महँगो दरमै इन्धन खरिद गर्न बाध्य हुनु विडम्बनापूर्ण अवस्था हो।

उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष प्रभाव स्वदेशी बजारमा पनि देखिनुपर्ने बताए। मूल्य घट्ने क्रममा आम नागरिकले राहत महसुस गर्न पाउनुपर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ।

पौडेलले नेपाल आयल निगमले कच्चा तेल नभई प्रशोधित तेल खरिद गर्ने भएकाले मूल्य समायोजनमा केही समय लाग्ने तर्क गर्दै आएको उल्लेख गरेका छन्। तर कच्चा तेलको मूल्यमा आएको ठूलो गिरावटले प्रशोधित तेलको लागतमा समेत प्रभाव पार्ने भएकाले लामो समयसम्म मूल्य नघटाइनु उचित नदेखिएको उनको जिकिर छ।

उनका अनुसार वास्तविक अवस्था र लागतबारे स्पष्ट जानकारी नदिई प्राविधिक कारण मात्र देखाएर मूल्य यथावत् राखिनुले पारदर्शिता र सुशासनमाथि प्रश्न उठाएको छ। उनले निगम र सरकारभित्र व्यवस्थापकीय कमजोरी रहेको आरोपसमेत लगाएका छन्।

महामन्त्री पौडेलले नियमित रूपमा लागू हुने स्वचालित मूल्य प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। मूल्य बढ्दा तत्काल समायोजन हुने तर घट्दा उपभोक्ताले राहत नपाउने अवस्था स्वीकार्य हुन नसक्ने भन्दै उनले उपभोक्तामैत्री नीति अपनाउन सरकारलाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस