रास्वपाको बन्दसत्र, प्रतिवेदनमाथि छलफलपछि निर्वाचन प्रक्रिया अघि बढ्ने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आजदेखि सुरु हुँदैछ। बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधिहरूलाई बिहानैदेखि परिचयपत्र वितरणको काम थालिएको छ।
प्राविधिक तयारी पूरा नभएका कारण सोमबारका लागि तय गरिएको बन्दसत्र एक दिन पछि सारिएको थियो। पार्टीले प्रतिनिधिहरूको विवरण प्रमाणीकरण तथा परिचयपत्र छपाइको काम सम्पन्न भएपछि मात्र बन्दसत्र सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
परिचयपत्र वितरण सम्पन्न भएसँगै बन्दसत्र पूर्वनिर्धारित कार्यसूचीअनुसार अघि बढ्नेछ। बन्दसत्रमा अनुशासन आयोग, आर्थिक तथा सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरिनेछन्। ती प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच छलफल गरी आवश्यक सुझावसमेत संकलन गरिने कार्यक्रम छ।
यस्तै, पार्टीको विधानमाथि विस्तृत छलफल गरी अनुमोदन गरिनेछ। त्यसपछि सभापतिले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसलाई पनि बन्दसत्रबाट पारित गरिने तयारी गरिएको छ।
राजनीतिक प्रतिवेदन अनुमोदन भइसकेपछि अन्तरिम व्यवस्थापन समितिको घोषणा गरिने तथा महाधिवेशन व्यवस्थापनको जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गरिने जनाइएको छ। त्यसपछि निर्वाचन आयोगले नेतृत्व चयनसम्बन्धी प्रक्रिया र निर्वाचन तालिका सार्वजनिक गर्नेछ।
आइतबार उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ। पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएकाले बन्दसत्रलाई महाधिवेशनको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ


प्रतिकृया दिनुहोस