देश बलियो भए मात्रै राजनीतिक शक्ति सुरक्षित रहन्छ : प्रदीप ज्ञवाली
चितवन । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रको स्थायित्व र सुदृढतासँगै राजनीतिक दल तथा नेताहरूको अस्तित्व पनि जोडिएको बताउनुभएको छ। उहाँले देश कमजोर बन्ने अवस्था आए कुनै पनि शक्ति सुरक्षित रहन नसक्ने भन्दै राष्ट्रिय हित, लोकतान्त्रिक व्यवस्था र जनजीविकाका सवालमा सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रका आधारभूत मूल्य, लोकतान्त्रिक प्रणाली र राष्ट्रिय एकताको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। नेपाली समाजमा प्रचलित ‘अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु’ भन्ने उखान स्मरण गर्दै उहाँले कठिन समयमा देश र व्यवस्थाको रक्षा सबैको साझा दायित्व भएको बताउनुभयो।
उहाँले नेपालको परराष्ट्र नीति राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित र स्पष्ट हुनुपर्ने उल्लेख गर्नुभयो। राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको विषयमा सबै राजनीतिक शक्तिले समान संवेदनशीलता देखाउनुपर्ने उहाँको भनाइ थियो।
ज्ञवालीले मुलुकको आर्थिक अवस्था सुधार, रोजगारी सिर्जना, नागरिकको जीवनस्तर उकास्ने तथा जनजीविकासँग जोडिएका विषयमा पनि राजनीतिक दलहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। जनताका अपेक्षा पूरा गर्न नसकिए लोकतन्त्रप्रतिको विश्वास कमजोर हुन सक्ने भन्दै उहाँले परिणाममुखी काममा जोड दिनुभयो।
उहाँले पछिल्ला दिनमा लोकतान्त्रिक संस्था र व्यवस्थाप्रति अविश्वास पैदा गर्ने प्रवृत्तिहरू देखिन थालेको उल्लेख गर्दै त्यस्ता गतिविधिप्रति सचेत रहनुपर्ने बताउनुभयो। लोकतन्त्रलाई थप सुदृढ बनाउने दिशामा सबै राजनीतिक शक्ति अग्रसर हुनुपर्ने उहाँको धारणा थियो।
ज्ञवालीले जनताबाट प्राप्त विश्वासलाई उपलब्धिको रूपमा मात्रै नभई जिम्मेवारीका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै लोकतन्त्रको रक्षा, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर उकास्न साझा प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने बताउनुभयो।


प्रतिकृया दिनुहोस