• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो आगामी केन्द्रीय महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।

शुक्रबार र शनिबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको हो। बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनको तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न निर्णयहरू गरिएको जानकारी दिए।

महाधिवेशन सफल बनाउन अध्यक्ष लिङ्देनको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार, विभागीय प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, संघीय र प्रदेश तहका सांसद तथा भ्रातृ संगठनका प्रतिनिधिहरू सहभागी रहनेछन्।

पार्टीले महाधिवेशनको तयारीका लागि आवश्यक उपसमितिहरू गठन गर्ने जिम्मेवारी केन्द्रीय कार्यसम्पादन समितिलाई दिएको छ।

बैठकले सक्रिय सदस्यता वितरण तथा संगठनात्मक निर्वाचनसम्बन्धी विभिन्न निर्देशिका र नियमावलीलाई संशोधनसहित अनुमोदन गरेको छ। स्वीकृत कार्ययोजनाअनुसार आगामी भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

पार्टीले सक्रिय सदस्यता विस्तार अभियान पनि भदौ मसान्तसम्म सञ्चालन गर्ने जनाएको छ। सो अवधिभित्र सक्रिय सदस्यता लिएका सदस्यहरू मात्रै महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया तथा उम्मेदवारीमा सहभागी हुन पाउनेछन्।

राप्रपाले जिल्ला अधिवेशन समयमै सम्पन्न गरेका जिल्लाहरूलाई मात्र केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्वको अवसर प्रदान गर्ने निर्णय समेत गरेको छ।

त्यसैगरी, असोज १५ देखि २४ गतेभित्र सातवटै प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ। कार्तिक ११ देखि ३० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रीय समितिहरूले सक्रिय सदस्यहरूमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन्।

छनोट भएका प्रतिनिधिहरूको नामावली मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति तथा पार्टी सचिवालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, प्रतिनिधि चयन प्रक्रियामा युवाको सहभागिता सुनिश्चित गर्ने नीति समेत पार्टीले अवलम्बन गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस