ईश्वरपुरमा जग्गा विवादपछि तनाव, प्रहरीमा हुलहुज्जत र तोडफोड; तीन जना पक्राउ
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ मा जग्गा विवादका क्रममा सवारी साधन तोडफोड र प्रहरी कार्यालयमा हुलहुज्जत भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला अदालत सर्लाहीले कालिका उप्रेतीको निर्विवाद हकभोग तथा स्वामित्व रहेको जग्गामा भोगचलन गर्न नरोकिने आदेश दिएपछि उप्रेती आफ्नो जग्गा प्रयोग गर्न पुगेका थिए। सो क्रममा केही व्यक्तिले अवरोध गरेपछि अवस्था तनावपूर्ण बनेको हो।
स्थिति नियन्त्रणका लागि दुवै पक्ष छलफलका लागि इलाका प्रहरी कार्यालय केशरगञ्ज पुगेका बेला उप्रेतीको सवारी साधन तोडफोड भएको प्रहरीले जनाएको छ। त्यसपछि घटनाले थप उग्र रूप लिँदै प्रहरी कार्यालयमै ढुंगामुढा तथा तोडफोडको प्रयास समेत भएको बताइएको छ।
प्रहरीका अनुसार आक्रोशित समूहले इलाका प्रहरी कार्यालय केशरगञ्जको मुख्य गेटसमेत तोडफोड गर्ने प्रयास गरेको थियो।
घटनामा संलग्न रहेको आरोपमा बारा जितपुर–सिमरा उपमहानगरपालिका–११ का ३२ वर्षीय विनोद कडेरिया, ईश्वरपुर–१५ सुकनाहाका ६२ वर्षीय जयप्रसाद गौतम र उनका ३६ वर्षीय छोरा उज्ज्वल गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
उनीहरूविरुद्ध आपराधिक उपद्रव सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। प्रारम्भिक चरणमा ६ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस