• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रधानमन्त्री बालेनको अपरिपक्वताको सिकार देश नवनाेस

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । केही दिन अघि मात्रै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गरिमामय संसदको रोष्ट्रमबाट भन्नुभयो, भारतले मात्र होइन नेपालले पनि भारतको धेरै सिमाना मिचेको छ । इङ्ल्यान्डलाई साक्षी राखेर टेबल टक गरेर यो सीमा सम्बन्धी कुरा टेबल टकमार्फत मिलाउँछौं । प्रधानमन्त्रीले संसदमा बोलेको यो वाक्यले आज पनि पुरानो भएको छैन र भोलि पनि पुरानो हुने छैन । किनभने नेपालले भारतको सिमाना मिचेको कुरा भारतले समेत कहिल्यै भनेको छैन, यसको अर्थ भारतले नेपालको सिमाना मिचेको कुरा अप्रत्यक्ष रूपमा स्वीकार नै गरेको छ ।

प्रधानमन्त्रीको पदमा बसेर गरिमामय संसदको रोष्ट्रममा उभिएर यसो भन्नु कदापि ठीक होइन भनेर धेरै बुद्धिजीवीहरूले बताउँदै आएका छन् । प्रधानमन्त्रीको मुखबाट विगतमा पनि ननिस्कने यस्ता शब्द र भविष्यमा पनि निश्चित नै ननिस्कने यस्ता शब्द कहिल्यै पुरानो नहुने जानकारहरू बताउँछन् । जानकार तथा बुद्धिजीवीहरूले यस्ता अपरिपक्क  प्रधानमन्त्रीको  अभिव्यक्तिले देश  सिकार  हुने अबस्था सिर्जना  हुने सक्ने बताउदै आएका छन् । 

अर्को कुरा, हिजो शनिबार राति पनि प्रधानमन्त्री यस्तै अर्को अपरिपक्वताको सिकार बन्नुभयो । उहाँले आफ्नो आधिकारिक फेसबुकबाट 'मलाई पनि एम्बेसडर बन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुहोस्' भनेर फेसबुकमै लेख्नुभएको छ । उहाँको यो फेसबुक स्टाटस झलक्क हेर्दा लाग्छ, उहाँले  आफ्नै कुनै कर्मचारीलाई व्यङ्ग्य गरेको जस्तो देखिन्छ । उहाँको यो फेसबुक स्टाटस हेर्दा लाग्छ, उहाँले यस्तो फेसबुक स्टाटस एक खाले युवा जमातको मन जित्न राख्नुभएको हो । तर प्रधानमन्त्रीको कुर्सीमा बसेर आधिकारिक फेसबुकबाट यस्तो सन्देश दिनु राम्रो मान्न नसकिने जानकारहरू बताउँछन् ।

धेरै बुद्धिजीवीहरू बताउँछन्, यो किसिमको अभिव्यक्ति भनेको प्रधानमन्त्री बालेन शाहको अपरिपक्वता नै हो ।

अपरिपक्वताको सिकार देश नवनाेस् 

नेपाल भूगोलको हिसाबले सानो भए पनि परिपक्वता र निर्णयको हिसाबले नेपाल शक्तिशाली राष्ट्र हो । परिपक्वता र निर्णयको हिसाबमा नेपाल हिजो धेरै शक्तिशाली थियो । नेपालको परिपक्वता देखेर शक्तिशाली राष्ट्रहरू जहिल्यै पनि आत्तिने गरेका छन् । संविधान जारी हुँदा होस् या नेपालको चुच्चे नक्सा समेटेर आफ्नो भूभाग सहितको नक्सा जारी गर्दा होस्, नेपाल जहिल्यै पनि शक्तिशाली राष्ट्र सावित भएको छ ।

जेन्जी आन्दोलन भन्दा केही दिन अघि मात्र पनि नेपालले चीनमा गएर नेपालको भूभाग हुँदै भारत–चीनको व्यापार हुने कुरामा आपत्ति जनाएको थियो । त्यसैगरी भारतले पनि लिपुलेक–कालापानी हुँदै व्यापारिक नाका बनाएकोमा नेपालले भारतसँग पनि कडा आपत्ति जनाएको थियो । त्यो बेला नेपालको प्रधानमन्त्री हुनुहुन्थ्यो केपी शर्मा ओली । हो, नेपालको प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओली हुँदा भारत होस् या चीन होस् या अमेरिका सबैले सन्तुलित रूपमा नै आफ्नो अभिव्यक्ति दिने गरेका थिए । नेपालको कूटनीतिमा पनि सन्तुलन नै थियो । सबैले सोचेरै बोल्ने गरेका थिए । कसैले पनि नेपालबाट फाइदा लिन सक्ने ठाउँ नै थिएन । तर आजको दिन फेरिएको छ । प्रधानमन्त्रीको सस्तो अभिव्यक्तिले गर्दा देशी–विदेशी तत्वहरूले फाइदा लिन सक्ने ठाउँ देखिएको छ, र जानकारहरू बताउँछन् यो क्रम अझ जारी नै हुनेछ ।

हिजोको प्रधानमन्त्रीको अभिव्यक्ति हेर्दा अपरिपक्वताको पराकाष्ठा नै देखिन्छ । र उक्त अभिव्यक्तिमा मन्त्री स्तरको जिस्काउने खालको प्रतिक्रिया भने झन् अचम्म खालको रहेको छ । जसले नेपालमा प्रधानमन्त्री मात्र होइन समग्र मन्त्रिपरिषद् नै अपरिपक्वताको घेरामा छ भन्ने देखिन्छ । यसरी नेपालले आफ्नो अपरिपक्वता खुलेआम देखाउँदा विभिन्न देशी–विदेशीहरूले सिधै फाइदा लिन सक्ने उनीहरूको तर्क छ । उनीहरूका अनुसार यसरी सिंगो मन्त्रिमण्डल नै अपरिपक्वताको सिकार हुँदा त्यसले देशलाई ठूलो क्षति व्यहोर्नु पर्ने देखिन्छ भन्ने जानकारहरूको मत रहेको पाइन्छ ।

पछिल्ला दिनहरूमा पनि प्रधानमन्त्री बालेन शाहको स्वभावको खुलेआम आलोचना हुने गरेको छ । उहाँको स्वभावको खुलेरै आलोचना हुने खालको पनि थियो । संसदमा उहाँको चर्को खोजी हुँदा पनि उपस्थिति नहुनु, जवाफदेहिता नहुनु र हुँदा पनि विश्व तरङ्गित हुने खालको अभिव्यक्तिले उहाँमा विदेशीको आँखा लाग्न सक्ने र उहाँको अपरिपक्वताको फाइदा विदेशीले उठाउन सक्ने खालको देखिन्छ ।

प्रतिकृया दिनुहोस