• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

राणा बाहिरिँदा राप्रपालाई फाइदा पुगेको लिङ्देनको दाबी

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका महामन्त्री धवलशमशेर राणाको बहिर्गमनले राप्रपालाई नोक्सान नभई फाइदा पुगेको बताउनुभएको छ। उहाँले राणाको प्रस्थानपछि पार्टीलाई थप मजबुत बनाउने अवसर सिर्जना भएको दाबी गर्नुभएको छ।

शुक्रबार गोरखामा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले पार्टीभित्र सक्रिय योगदान नदिने व्यक्तिहरू बाहिरिँदा दुःखी हुनुपर्ने कुनै कारण नरहेको बताउनुभयो। उहाँले पार्टीलाई सहयोग नगर्ने र चुनावका बेला जिम्मेवारी नलिने व्यक्तिहरूको बहिर्गमनलाई स्वाभाविक रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

लिङ्देनले गत निर्वाचनका क्रममा राणाबाट अपेक्षित सहयोग प्राप्त नभएको उल्लेख गर्दै विगतमा चुनाव जितेका नेता भएर पनि पछिल्लो निर्वाचनमा किन उम्मेदवार नबनेको भन्ने प्रश्न उठाउनुभयो। केही व्यक्तिको पार्टी परित्यागलाई आधार बनाएर राप्रपा फुटेको वा कमजोर भएको निष्कर्ष निकाल्न नमिल्ने उहाँको भनाइ थियो।

उहाँले पार्टीभित्र र बाहिर अवसरवादी प्रवृत्तिले भ्रम फैलाउने प्रयास गरिरहेको आरोप पनि लगाउनुभयो। देशभर बनेको राजनीतिक वातावरणलाई कमजोर बनाउने गतिविधिमा केही व्यक्तिहरू संलग्न रहेको उहाँको दाबी थियो।

लिङ्देनले नेपालका राजावादी शक्तिहरूबीचको एकता कमजोर पार्न विदेशी शक्तिहरू समेत सक्रिय रहेको आरोप लगाउँदै त्यसको वास्तविकता समयक्रममा सार्वजनिक हुने बताउनुभयो।

महाधिवेशनपछि राप्रपा ठोस कार्यक्रम र स्पष्ट कार्ययोजनासहित जनतामाझ जाने तयारीमा रहेको जानकारी दिँदै उहाँले पार्टीलाई थप सशक्त बनाउने अभियान अघि बढाइने बताउनुभयो।

प्रतिकृया दिनुहोस