टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको सहयोग
काठमाडौं । काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित टिचिङ अस्पतालको बहिरङ्ग (ओपीडी) सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन आधुनिक प्रविधि तथा उपकरण उपलब्ध गराएको छ।
बिहीबार आयोजित कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अस्पतालका प्रमुख प्राध्यापक डा. सुवास आचार्यलाई करिब एक करोड ७० लाख रुपैयाँ बराबरका उपकरण हस्तान्तरण गर्नुभएको हो।
महानगरका अनुसार उपलब्ध गराइएका उपकरणमध्ये १६ वटा इन्टर्याक्टिभ किओस्क मेसिन रहेका छन्। ती मेसिनमार्फत बिरामीले शुल्क भुक्तानी गर्न, परीक्षण प्रतिवेदन प्रिन्ट गर्न तथा घरमै बसेर उपचारसम्बन्धी शुल्क तिर्न सक्ने सुविधा प्राप्त गर्नेछन्। त्यस्तै उपचार तथा परीक्षणसँग सम्बन्धित विवरण एकीकृत रूपमा हेर्न मिल्ने ६५ वटा ‘अल इन वन’ डेस्कटपसमेत अस्पताललाई प्रदान गरिएको छ।
सेवा प्रवाहलाई अझ छिटो र प्रभावकारी बनाउन सर्भर तथा र्यामको क्षमता विस्तार गरिएको महानगरले जनाएको छ।
कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डङ्गोलले सरकारी अस्पतालमा उपचारका लागि लामो समय लाइन बस्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको बताउनुभयो। उहाँले यसबाट सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले महानगरले स्वास्थ्य, शिक्षा, पूर्वाधार, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अस्पतालसँगको सहकार्यलाई थप विस्तार गरी टेली–सेवा सञ्चालन गर्न सकिने सम्भावनाबारे पनि चर्चा गर्नुभयो।
अस्पतालका प्रमुख प्राध्यापक डा. आचार्यले महानगरबाट प्राप्त उपकरण र प्रविधिले अस्पतालको सेवा व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउन मद्दत पुगेको बताउनुभयो। उहाँले पहिलो चरणको सहयोगबाट नै सेवामा परिवर्तन देखिन थालेको उल्लेख गर्दै आगामी दिनमा थप सहकार्यको अपेक्षा गर्नुभयो।
उहाँका अनुसार भविष्यमा क्यान्सर उपचारसँग सम्बन्धित अधिकांश सेवालाई कागजरहित तथा प्रत्यक्ष उपस्थितिविनै सञ्चालन गर्न सकिने व्यवस्था विकास गर्ने लक्ष्य रहेको छ।
स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत प्रवाह हुने विशेषज्ञ सेवाका लागि अस्पतालसँग थप सहकार्य गर्ने योजना रहेको जानकारी दिनुभयो।
महानगरले यसअघि पनि कोभिड–१९ नियन्त्रणका लागि भेन्टिलेटर, सिटी स्क्यान मेसिन तथा अस्पतालको बेड व्यवस्थापन प्रणालीलगायत विभिन्न उपकरण उपलब्ध गराइसकेको जनाएको छ।


प्रतिकृया दिनुहोस