• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सुनको सिक्री लुटेर बिक्री गर्ने गिरोह पक्राउ, नगद र स्कुटर बरामद

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गरी बिक्री गर्ने कार्यमा संलग्न चार जनाको समूहको पहिचान गर्दै दुई जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–८ जरङ्खु क्षेत्रमा गत जेठ ११ गते साँझ एक महिला हिँडिरहेको अवस्थामा स्कुटरमा आएका व्यक्तिहरूले उनको घाँटीमा रहेको सुनको सिक्री झिकेर फरार भएका थिए।

घटनापछि अनुसन्धानमा खटिएको टोलीले सीसीटीभी फुटेज, प्राविधिक विश्लेषण तथा अन्य प्रमाणका आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरेको थियो। सोही क्रममा धादिङ घर भई हाल तारकेश्वर–७ बस्दै आएका २० वर्षीय एनोस तामाङलाई लोलाङबाट तथा नुवाकोट घर भई तारकेश्वर क्षेत्रमा बसोबास गर्दै आएका १९ वर्षीय लाक्पा तामाङलाई तिनपिप्लेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानबाट उक्त घटनामा हेमन्त तामाङ र शुक्रकुमार पात्रको समेत संलग्नता रहेको खुलेको बताइएको छ।

पक्राउ परेकाहरूको साथबाट लुटपाटमा प्रयोग भएको स्कुटर, लुटिएको सुन बिक्रीबाट प्राप्त भएको आशङ्कामा ७५ हजार ८ सय रुपैयाँ नगद तथा विभिन्न कम्पनीका तीन थान मोबाइल फोन बरामद गरिएको छ।

प्रतिकृया दिनुहोस