भारतमा पेट्रोल–डिजेल फेरि महँगियो, नेपालमा पनि असर पर्ने संकेत
काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा बढेर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य प्रतिलिटर ९१ पैसा बढेर ९२.४९ भारतीय रुपैयाँ कायम भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्ला ९ दिनभित्र यो तेस्रो पटक मूल्य वृद्धि गरिएको हो । यसअघि मे १९ मा पनि पेट्रोल र डिजेलको मूल्य औसतमा प्रतिलिटर ९० पैसा बढाइएको थियो । त्यसभन्दा अघि मे १५ मा प्रतिलिटर करिब ३ रुपैयाँसम्म वृद्धि भएको बताइएको थियो ।
भारतमा पेट्रोलियम मूल्य वृद्धि भएपछि त्यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्न सक्ने अनुमान गरिएको छ । नेपालले आवश्यक पेट्रोलियम पदार्थ भारतबाटै आयात गर्दै आएको छ, जसअनुसार भारतीय आयल कर्पोरेसनबाट खरिद मूल्य परिवर्तन हुँदा नेपाल आयल निगमको लागतमा समेत असर पर्न सक्छ ।
नेपाल आयल निगमका एक सञ्चालक सदस्यका अनुसार भारतबाट आउने नयाँ खरिद मूल्य सूची महँगो भएमा आन्तरिक बजारमा पनि मूल्य समायोजन गर्नुपर्ने अवस्था आउन सक्छ । तर तत्कालै मूल्य परिवर्तन हुन्छ कि हुँदैन भन्नेबारे अहिले नै निश्चित भन्न नसकिने उनले बताएका छन् ।
नेपालमा हाल अन्तर्राष्ट्रिय बजारअनुसार स्वचालित मूल्य समायोजन प्रणाली लागू गरिएको छ, जसअनुसार १५–१५ दिनमा मूल्य पुनरावलोकन हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लामो समय उच्च रहिरहेमा नेपालमा पनि इन्धन मूल्यमा थप दबाब पर्ने सम्भावना देखिन्छ ।
भारतमा हालको मूल्य वृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको बताइएको छ । इरान–अमेरिका तनावपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ७० डलरबाट बढेर १०० डलरभन्दा माथि पुगेको उल्लेख छ ।
यसैबीच तेल कम्पनीहरू घाटामा जान थालेपछि मूल्य समायोजन गरिएको भारतीय पक्षको भनाइ छ । भारतमा सरकारी तेल कम्पनीहरूले दैनिक मूल्य निर्धारण प्रणालीअनुसार हरेक बिहान ६ बजे नयाँ मूल्य सार्वजनिक गर्ने व्यवस्था छ, जसमा अन्तर्राष्ट्रिय बजार मूल्य, विनिमय दर र कर संरचना समावेश हुन्छ ।
सन् २०२४ को मार्चदेखि स्थिर रहेको पेट्रोल र डिजेलको मूल्य हालै पुनः बढ्न थालेको हो । निर्वाचन अघि सरकारले अस्थायी रूपमा मूल्य घटाएर उपभोक्तालाई राहत दिएको भए पनि पछिल्ला महिनामा अन्तर्राष्ट्रिय बजारको दबाबका कारण पुनः समायोजन गरिएको बताइएको छ ।
विशेषज्ञहरूका अनुसार कच्चा तेलको मूल्य लामो समय उच्च रहेमा दक्षिण एसियाली मुलुकहरूमा इन्धन मूल्य अझै बढ्न सक्ने जोखिम रहेको छ ।


प्रतिकृया दिनुहोस