अमेरिकी राष्ट्रपति फर्किएलगत्तै पुटिन बेइजिङ जाने
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको बेइजिङ भ्रमणमा जाने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन फर्किएलगत्तै पुटिनको चीन यात्रा तय भएको हो ।
क्रेमलिनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द न्युयोर्क टाइम्स ले जनाएअनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा पुटिन मंगलबार बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यो भ्रमण दुई देशबीचको आपसी सहकार्यसम्बन्धी सम्झौताको २५ औँ वार्षिकोत्सवसँग सम्बन्धित रहेको बताइएको छ ।
क्रेमलिनका अनुसार दुई दिनसम्म चल्ने भ्रमणका क्रममा पुटिन र सी चिनफिङबीच द्विपक्षीय सम्बन्ध, प्रमुख राजनीतिक मुद्दा तथा रणनीतिक सहकार्यका विषयमा विस्तृत छलफल हुनेछ । भ्रमणका क्रममा विभिन्न अन्तरसरकारी तथा अन्तरविभागीय सम्झौतामा हस्ताक्षर हुने पनि जनाइएको छ ।
पुटिनको चीन यात्रा अमेरिकी राष्ट्रपति ट्रम्पको बेइजिङ भ्रमणपछि तय भएको हो, जसलाई मस्कोले नजिकबाट नियालेको बताइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभका अनुसार ट्रम्पको भ्रमणपछि बनेका अन्तर्राष्ट्रिय परिस्थितिहरू र विचार आदान–प्रदान पनि छलफलको हिस्सा बन्नेछ ।
हाल युक्रेन युद्धका कारण पश्चिमी मुलुकसँग तनावमा रहेको रुसका लागि चीन प्रमुख व्यापारिक तथा रणनीतिक साझेदारका रूपमा उभिएको छ । दुई देशबीच ऊर्जा व्यापार र आपूर्ति साझेदारी पनि निरन्तर विस्तार भइरहेको बताइन्छ ।
विश्लेषकहरूका अनुसार विश्व ऊर्जा बजारमा देखिएको अस्थिरताका बीच रुस–चीन ऊर्जा सहकार्य अझै मजबुत हुँदै गएको छ । यसै सन्दर्भमा साइबेरियाबाट चीनसम्म ग्यास पुर्याउने नयाँ पाइपलाइन परियोजनाबारे पनि छलफल अगाडि बढिरहेको छ ।
पुटिनले यसअघि मे ९ को विजय दिवसपछि रुस–चीन ऊर्जा सहकार्यमा महत्वपूर्ण प्रगति नजिक पुगेको संकेत दिएका थिए । उनले भ्रमणका क्रममा ठोस सहमति हुने अपेक्षा समेत व्यक्त गरेका छन् ।


प्रतिकृया दिनुहोस