बजेट अधिवेशन आजदेखि, पहिलो बैठकमै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका तय गरिएको संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले अपराह्न ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । संविधानअनुसार प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ ।
संयुक्त बैठकअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्नेछन् । संसद् सचिवालयले सांसदहरूलाई संयुक्त बैठक सुरु हुनुभन्दा १५ मिनेटअघि नै उपस्थित हुन आग्रह गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइने, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी जानकारी गराइने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गरिने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी, प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी बाधा अड्काउ फुकाउसम्बन्धी व्यवस्था अनुमोदनका लागि प्रस्तुत गरिनेछ भने नियमावलीको मस्यौदामाथि पनि प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू पनि संसद्मा पेस हुनेछन् । तीमध्ये ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ तथा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश समावेश रहेका छन् । राष्ट्रियसभामा पनि ती अध्यादेश टेबुल गरिने कार्यसूची तय गरिएको छ ।


प्रतिकृया दिनुहोस