• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

छापामार शैली अपनाउने, चुनाव जसरी पनि रोक्ने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । आठदस जना युवा चियापान रेष्टराँको आगनमा हुन्छन् । उनीहरु कुनै खास उद्देश्यका लागि त्यहाँ उभिए जस्ता देखिन्छन् । आपसमा इशारा गरेजस्तो गर्छन् । त्यसपछि अचानक होहल्ला हुन्छ । उनीहरुले खल्तीबाट सिठी निकाल्छन् । सिठी फुक्दै अगाडिको सडकमा दौडन्छन् । 

अचानक के भएको हो यो प्रधानमन्त्री निवास वालुवाटारको गेटमा ? चियापान रेष्टराँ निवासको गेटको सडक पारी छ । 

चियापान रेष्टुराँमा मात्र होइन, गेट अगाडिका विभिन्न पसल र रेष्टुराँहरुबाट सिठीधारीहरु सडकमा निस्कन्छन् र होहल्ला गर्दै प्रधानमन्त्री निवासको गेटतर्फ लम्कन खोज्छन् । 

छापामार शैलीको यस्तो दृष्य देखियो मंगलबार १५ माघका दिन । ती युवा थिए नेपाली कांग्रेसको भ्रातृ संगठन नेवि संघका । करिब ३० जना युवालाई त्यहाँ रहेका प्रहरीहरुले पक्रन थाले । विद्यार्थीहरु नारा लगाउँदै थिए, प्रहरीसँग भिडन् खोज्दै थिए । 

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा स्ववियूको चुनाव नजिकिँदै जाँदा नेविसंघले यस्तो आन्दोलन चर्काउन थालेको छ । नेविसंघले छापामार शैलीमा कार्यकर्तालाई पक्राउ खान पठाइरहेको छ । 

त्रिविले फागुन १४ को मितिमा स्ववियू चुनाव गर्ने गरेको छ । आउँदो फागुन १४ मा चुनाव गर्ने क्यालेण्डरमा त्रिविले छलफल अगाडि बढाइरहेको छ । यही कारण नेविसंघले आफ्ना कार्यकर्ता पक्राउ पर्ने गरी आन्दोलन अगाडि बढाएको हो । नेविसंघले ठूला प्रदर्शन नरोजेर छापामार शैली रोज्नुको कारण यही हो, कार्यकर्ता पक्राउ परुन् । 

जसरी पनि कार्यकर्तालाई प्रहरीसँग भिडाउने र पक्राउ परुन् भन्ने किन चाहेको हो नेविसंघले ? कारण स्ववियू चुनाव नै हो । नेविसंघ अहिले स्ववियू चुनाव चाहँदैन । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि स्ववियू चुनाव गर्न नहुने धारणा राखेका छन् । 

नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारले सडकम मुठभेडको वातावरण नरोकेसम्म स्ववियू चुनावमा नजाने बताएका छन् । कार्यकर्तालाई मुठभेड गर्न पठाउने अनि सरकारले मुठभेड रोक्नुपर्यो भन्ने ट्रिक नेविसंघले अपनाउनुको खास कारण छ ।

मुख्य कारण विगतमा एमाले र माओवादीका भ्रातृ संगठनका रुपमा रहेका दुई अखिल एक हुनु नै हो । जसरी आमचुनावमा माओवादी र एमाले मिलेर बहुमत हासिल गरे, कांग्रेस पराजित भयो, त्यस्तै परिणाम स्ववियूमा पनि आउन सक्छ । यही चिन्ताका कारण नेविसंघले स्ववियू चुनाव रोक्न खोजेको हो । चुनाव रोक्ने प्रयोजनका लागि नेविसंघले आन्दोलन थालेको प्रष्टै देखिन्छ । छापामार शैली अपनाउने, चुनाव रोक्ने यो रणनीतिमा सभापति देउवाको पनि साथ रहेको छ ।

नेविसंघले चुनाव रोक्न खोज्नुको अर्काे कारण आन्तरिक विवाद पनि हो । नेविसंघको वर्तमान केन्द्रिय समितिको कार्यकाल सकिइसकेको छ र नेतृत्वलाई वैधानिक नमान्ने कार्यकर्ताको संख्या ठूलो छ । वर्तमान समितिको कार्यकाल थप्ने सभापति देउवाको निर्णयमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले केन्द्रिय समितिको वैठकमै नोट अफ डिसेन्ट लेखिसकेका छन् । कांग्रेस केन्द्रिय समितिको वैठकमा नोट अफ डिसेन्ट विरलै लेख्ने गरिएको छ ।

संगठनको आन्तरिक अवस्था लथालिंग भएकाले पनि नेविसंघले चुनाव रोक्न खोजेको बुझिन्छ ।

उता सत्तापक्षी विद्यार्थी संगठनका नेताहरुले भने फागुनमा स्ववियू चुनाव गर्नैपर्ने अडान राखेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ भन्छन्, ‘केके वातावरण बनाउनुपर्छ बनाउन सरकार तयार छ भनेर प्रधानमन्त्रीले नै भनिसक्नुभएको छ । नेविसंघ चुनावबाट डराएर भाग्न हुँदैन ।’

रिपोर्टर्स क्लबमा नेविसंघ अध्यक्ष नैनसिंह महरले भने–‘हामी चुनावबाट भागेका छैनौं र भाग्दैनौं पनि तर सरकारले वातावरण त बनाउनुपर्यो नि ।’ उनले विद्यार्थीमाथि धरपकड जारी रहेसम्म चुनाव रोक्नपर्ने बताए ।

उता, सरकारले भने निषेधित क्षेत्र तोड्दै पक्राउ खान आएका नेविसंघका कार्यकर्तालाई पक्रेको केही बेरमै छाडिदिने गरेको छ ।

प्रतिकृया दिनुहोस