बिमा कम्पनीले जनताको विश्वास जित्न सकेका छैनन् : चेतनारायण आचार्य
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिमा कम्पनीहरूले जनताको थप विश्वास आर्जन गर्न जरुरी रहेको बताउनुभएको छ ।
राष्ट्रिय बिमा कम्पनी लिमिटेडले आयोजना गरेको ‘प्रदेश सरकार र सरकारी निकायसँग निर्जीव बिमासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बिमाप्रति नागरिकको विश्वास बढाउने गरी बिमा कम्पनीहरूले भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो । ‘बिमाप्रति आम जनताको सकारात्मक धारणा बन्न सकेको छैन, बिमा दाबी भुक्तानीमा ढिला–सुस्ती हुनु हुँदैन, दायित्व भुक्तानीलाई सहज बनाउनुपर्छ, बिमा संस्था प्रतिको धारणा अझै सकारात्मक बन्न सकेको छैन, थप विश्वास आर्जन गर्न जरुरी छ’, आचार्यले भन्नुभयो ।
पशुपन्छीको बिमा गरेको भए पनि लम्पीस्किन महामारीका कारण पशु मरेका किसानले रकम नपाएका उहाँले बताउनुभयो । किसानले भवितव्य पर्दा भुक्तानी नपाएपछि विश्वास आर्जन गर्न नसकिएको उहाँको धारणा छ ।
राष्ट्रिय बिमा कम्पनी लिमिटेडका बजार व्यवस्थापन विभाग प्रमुख हिराकुमारी वर्तौलाले बिमालाई खर्चको रूपमा मात्रै नभई जोखिम व्यवस्थापनको आधारका रूपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले निर्जीव बिमामार्फत जनधनको सम्भावित आर्थिक जोखिममा वित्तीय सुरक्षा प्रदान गर्ने बताउनुभयो ।
नीतिगत रूपमा घर, सम्पत्ति तथा व्यवसायको अनिवार्य बिमा गर्ने व्यवस्था गरियो भने जोखिम घटाउन सकिने उहाँको धारणा छ । सहर तथा सहरोन्मुख क्षेत्रका आवासीय घरहरूलाई अनिवार्य बिमाको दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।


प्रतिकृया दिनुहोस