• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सञ्चालक, व्यवस्थापक र कर्मचारीलाई सहकारी तथा कर शिक्षा 

सनराइज खबर संवाददाता

रामेछाप । मन्थली नगरपालिकाका सहकारी संस्थाहरूका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरूलाई सहकारी तथा कर शिक्षा प्रदान गरिएको छ । 

मन्थली नगरपालिकाको आर्थिक सहयोग र जिल्ला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने कार्यक्रम भएको हो ।  जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रम मन्थली नगरका प्रवक्ता गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । 

कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले सहकारीहरू समाज प्रति उत्तरदायी हुनु पर्ने बताउनुभयो। सहकारीले सामाजिक रुपन्तरणको लागि काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सहकारीका सदस्य धेरै भएकाले तिनै सहकारीका सदस्य मार्फत समाज सुधारका काम गर्नुपर्ने उहाँले बताउनुभयो । 

सहकारीलाई उत्पादनमूलक काममा लाग्न उनले सुझाव पनि दिनुभयो । गाउँ खण्डहर भएका बताउँदै गाउँमा नै स्वरोजगारीको अवस्था सिर्जना गर्न सहकारीले भूमिका खेल्नु पर्नेमा उहाँले जोड दिनुभयो।   

कार्यक्रममा कर अधिकृत प्रतिमा घिमिरे, नेफ्स्कुन फिल्ड कार्यालय रामेछापका प्रमुख सूर्य थापा , जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेल, जिल्ला बचत संघ का अध्यक्ष जगन्नाथ दाहाल, मानवअधिकारकर्मी नवराज पथिक लगायतले कर, सहकारी तथा सुशासन लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।  

कार्यक्रमका सहभागी समावेशी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक अर्जुन श्रेष्ठले कार्यक्रमबाट सहकारी सञ्चालनका विषयमा धेरै कुरा सिकाई भएको बताउनुभयो। नगरपालिकाका सहकारीको अवस्थाको बारेमा पनि धेरै जानकारी भएको उहाँले बताउनुभयो । 

अर्की सहभागी सरिता खड्का खत्रीले कार्यक्रममा सिकेका कुरा व्यवहारमा कार्यान्वयन गर्दा सहकारीका कार्यक्रम सफल बनाउन निक्कै सहयोग मिल्ने बताउनुभयो। होस् पुर्‍याएर काम नगर्ने हो भने सहकारीबाट अप्ठेरो पर्ने कुरामा आफूहरू सचेत भएको बताउनुभयो । कार्यक्रममा ४० भन्दा बढी सहकारीका सञ्चालक, व्यवस्थापक र कर्मचारीको सहभागिता रहेको थियो । 

 

प्रतिकृया दिनुहोस